काठमाडौं
साइन रेसुंगा विकास बैंक लिमिटेडले जारी गरेको “८% शाइन रेसुंगा विकास बैंक डिबेञ्चर २०९२” को बाँडफाँड सफलतापूर्वक सम्पन्न भएको छ । डिबेञ्चरको बाँडफाँड प्रक्रिया आज (साउन ८ गते) एनआईएमबी एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंको कार्यालयमा सम्पन्न भएको हो ।
बैंकले कुल १० लाख इकाई डिबेञ्चर सार्वजनिक रुपमा निष्काशन गरेको थियो, जसको दरभाउ प्रति इकाई १,००० रुपियाँ रही कुल रकम १ अर्ब रुपियाँ बराबर रहेको छ । यसमध्ये ४०% (४ लाख इकाई) सर्वसाधारणका लागि राखिएको थियो भने बाँकी ६०% (६ लाख इकाई) गोप्य लगानीकर्ताहरू ( प्राइभेट पेस्मेन्ट) का लागि सुरक्षित गरिएको थियो ।
सार्वजनिक निष्काशन २०८२ साल असार ३२ गतेदेखि श्रावण ४ गतेसम्म खुला गरिएको थियो । उक्त डिबेञ्चरमा लगानीकर्ताको अत्यधिक चासो प्राप्त भएको थियो । जसअनुसार निष्काशन ५.९५ गुणाले ओभर सब्स्क्राइब (अत्यधिक आवेदन) भएको थियो । यसले बैंकप्रति लगानीकर्ताको विश्वास र सकारात्मक दृष्टिकोण झल्काएको छ ।
हालका दिनमा डिबेञ्चर जस्ता दीर्घकालीन लगानी साधनप्रति सर्वसाधारणको आकर्षण उल्लेखनीय रूपमा बढ्दो छ, जसले नेपाली पूँजी बजारप्रतिको चेतना र विश्वास विस्तार हुँदै गएको संकेत गर्दछ ।
बाँडफाँड सम्पन्न भएसँगै सफल आवेदकहरूको नाममा सम्बन्धित डिबेञ्चर इकाईहरू छिट्टै डिम्याट खातामा जम्मा गरिने बैंकले जनाएको छ ।
शाइन रेसुंगा विकास बैंकले आफ्नो डिबेञ्चर निष्काशनमा सहभागिता जनाउने सम्पूर्ण लगानीकर्ता र आवेदकप्रति आभार प्रकट गरेको छ। साथै, निष्काशन व्यवस्थापन संयोजक एनआईएमबी एस क्यापिटल लिमिटेडलाई पनि सफल व्यवस्थापनको लागि विशेष धन्यवाद दिएको छ ।
यस सफल निष्काशनपछि बैंकले आफ्नो पूँजी आधार थप मजबुत बनाउने र देशभरका ग्राहकहरूलाई भरपर्दो तथा नवप्रवर्तनात्मक सेवा प्रदान गर्न निरन्तर अग्रसर रहने प्रतिबद्धता व्यक्त गरेको छ ।











प्रतिक्रिया