नेपालीले दाँत कोट्याउने सिन्का पनि विदेशबाटै ल्याउँछन्, ३५ अर्बको फोनमा कुरा गर्छन्


काठमाडौं ।

नेपालमा नपाइने उच्च गुणस्तरीय प्रविधि मात्रै होइन आफ्नै घर आँगनमा पाइने वस्तुमा समेत नेपालीहरु विदेशीकै भर पर्न थालेका छन् । गत आर्थिक वर्ष २०८१-८२ मा नेपालीले आयात गरेको वस्तुको सूची हेर्दा नेपालीहरुको परनिर्भता बढेको देखिन्छ । गत आर्थिक वर्षमा साढे ३५ करोड रुपियाँको स्मार्ट फोन र झण्डै ८ करोड रुपियाँको दाँत कोट्याउने सिन्का आयात गरेको तथ्यांक भन्सार विभागले सार्वजनिक गरेको छ।

भन्सार विभागको विवरणअनुसार, पछिल्लो चार वर्षको तुलनामा गत आवमा सबैभन्दा धेरै स्मार्टफोन आयात भएको छ। यस आर्थिक वर्षमा कुल २१ लाख ८४ हजार थान स्मार्टफोन नेपाल भित्रिएका छन्, जसको मूल्य ३५ अर्ब ५४ करोड रुपिैया पुगेको छ। यो प्रविधि सामग्रीबाट मात्र सरकारले ६ अर्ब ६२ करोड रुपियाँ भन्सार राजस्व संकलन गरेको छ। बजार विश्लेषणअनुसार, स्मार्टफोनको मागमा अघिल्लो वर्षको तुलनामा झण्डै ४० प्रतिशतले वृद्धि भएको देखिएको छ।

त्यति मात्र होइन, सामान्यतया सस्तो र सामान्य लाग्ने वस्तुहरू पनि विदेशी आयातमा भर परेको देखिएको छ। उदाहरणका लागि, दाँत कोट्याउने सिन्का मात्रै भारत, चीन लगायतका मुलुकबाट ७ करोड ८८ लाख रुपैयाँको आयात भएको छ।

तथ्यांकअनुसार, गत आवमा २० करोड रुपैयाँ बराबरको सोया सस र टोम्याटो केचप नेपाल भित्रिएको छ। भने हुक्का विभिन्न फ्लेवरको २ करोड ४२ लाख रुपियाँको आयात भएको छ।

२०८१/८२ मा आयात भएका प्रमुख वस्तु

डिजेल – १ खर्ब २८ अर्ब ७६ करोड

कच्चा भटमास (सोयाबिन) तेल –१ खर्ब ८ अर्ब ९५ करोड

पेट्रोल –६४ अर्ब १२ करोड ७४ लाख

एलपी ग्यास –६२ अर्ब ५८ करोड ७२ लाख

फलामजन्य उत्पादन –४८ अर्ब ७३ करोड
स्मार्टफोन –३५ अर्ब ५४ करोड

फलाम÷स्टीलका पाता – ३३ अर्ब ६ करोड

औषधि –३० अर्ब २६ करोड

कोइला –२१ अर्ब ५२ करोड
विद्युतीय कार –१८ अर्ब ६२ करोड