चालक बनाउने प्रलोभनमा भारत लगेर बन्धक: मानव तस्करी आरोपमा दुई नेपाली पक्राउ


काठमाडौँ । 

भारतमा आकर्षक तलब र सुविधाको लोभ देखाई नेपाली युवालाई अनलाइन ठगी (Online Scamming) मा संलग्न गराउँदै बन्धक बनाएर शारीरिक तथा मानसिक शोषण गर्ने गिरोहका दुई जना नेपाली नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौँ बल्खु निवासी राजकुमार अच्छामी र पर्सा वीरगञ्जका रेशम बहादुर खत्री रहेका छन्।

पीडित जाहेरवालाका अनुसार प्रतिवादीहरुले मासिक ३५ हजार भारु तलब र ओभरटाइमको समेत प्रलोभन देखाउँदै भारतमा चालकको रुपमा रोजगार दिलाउने आश्वासन दिएका थिए। मिति २०८२ साल वैशाख १९ गते बिहान बल्खुबाट वीरगञ्ज पुर्‍याइएका जाहेरवालालाई त्यहाँबाट रेशम बहादुर खत्रीले रिसिभ गरेका थिए।

त्यसपछि उनलाई अटो रिक्सा चढाई भारतको रक्सौल हुँदै पटना लगिएको र पटना स्थित पुनपुन अजय स्टेशन नजिकै रहेको Well Star Dynamic Company नामक स्थानमा पुर्‍याई प्रतिव्यक्ति १० हजार भारु तिर्न बाध्य बनाइएको जाहेरवालाले उजुरीमा बताएका छन्। कम्पनीमा करिब ७ दिन तालिमको नाममा बन्धक बनाई मानसिक तथा शारीरिक यातना दिइएको थियो।

उक्त कम्पनीमा बन्धक बनाइएका नेपालीहरुलाई घर-परिवारसँग सम्पर्क गर्न दिइएन, खाना तथा बस्नको राम्रो व्यवस्था थिएन। त्यसमाथि डर, त्रास, धाक–धम्की देखाई फेसबुक मेसेन्जरमा नक्कली आइडी बनाई अन्य मानिसहरुसँग बोल्न, विश्वास जित्न र प्रलोभनमा पारेर भारत बोलाउन लगाइन्थ्यो।

जाहेरवालाले झण्डै २ महिना त्यहाँ बन्धक अवस्थामा राखिएको र दुई लाख रुपैयाँ बराबरको कपडा जबरजस्ती खरिद गराई कागजातमा समेत हस्ताक्षर गराइएको बताएका छन्। अन्ततः उनी यही साउन १ गते  नेपाल फर्किएका थिए।

घटनाबारे मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दर्ता भएपछि मिति साउन ५ गते काठमाडौँको बल्खुबाट राजकुमार अच्छामी र पर्सा बसपार्क क्षेत्रबाट रेशम बहादुर खत्री पक्राउ परेका हुन्। ब्युरोका अनुसार उनीहरुलाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान भइरहेको छ।

ब्युरोका एक उच्च प्रहरी अधिकृतका अनुसार, “यस घटनाले विदेशी रोजगारको प्रलोभन देखाई नेपाली युवाहरुलाई डिजिटल अपराधमा जबरजस्ती संलग्न गराउने नयाँ शैलीको मानव तस्करीको संकेत गरेको छ।”

प्रहरीले घटनाको गम्भीरता र यसको सम्भावित अन्तर्राष्ट्रिय सञ्जाललाई ध्यानमा राख्दै अनुसन्धानलाई थप गहिरो बनाएको बताएको छ।