काठमाडौं ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले आर्थिक वर्ष २०८२|८३ का लागि करिब ३१ अर्ब ४० करोड ७६ लाख रुपियाँको बजेट र कार्यक्रम स्वीकृत गर्दै सार्वजनिक गरेको छ। नयाँ बजेटले दीर्घकालीन रणनीतिक सुधारसँगै हवाई पूर्वाधारको विस्तारमा विशेष प्राथमिकता दिएको छ।
प्राधिकरणद्वारा स्वीकृत कुल बजेटमध्ये सबैभन्दा ठूलो हिस्सा ३९ प्रतिशत अर्थात् १२ अर्ब ३९ करोड ७० लाख रुपियाँ—पुँजीगत खर्चका लागि छुट्याइएको छ। यस्तै, सञ्चालन खर्चका लागि ६ अर्ब १५ करोड ६७ लाख रुपियाँ (२० प्रतिशत) र वित्तीय व्यवस्थापनका लागि १२ अर्ब ८५ करोड ११ लाख रुपियाँ (४१ प्रतिशत) विनियोजन गरिएको छ।
प्राधिकरणले आन्तरिक स्रोतबाट करिब १६ अर्ब रुपियाँ राजस्व संकलन गर्ने अनुमान गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १० प्रतिशतले बढी हो। बाँकी बजेट ऋण, अनुदान, मूल्य अभिवृद्धि कर, पेश्की मौज्दात र बैंक मौज्दातबाट व्यवस्थापन गरिने बताइएको छ ।
नयाँ बजेटमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण तयारीलाई समेत प्राथमिकतामा राखिएको छ। परिधी सडक निर्माण, वातावरणीय प्रभाव मूल्यांकन, पुनर्वास, साइट क्लियरेन्स, रूख कटान लगायतका तयारी कार्यहरूका लागि २४ करोड रुपियाँ विनियोजन गरिएको छ।
त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति योजनाका लागि ६ अर्ब रुपियाँभन्दा बढी बजेट छुट्याइएको छ। यस अन्तर्गत रनवे विस्तार, ह्याङ्गर निर्माण र एप्रोन विस्तारजस्ता संरचना विकासका कार्यहरू समावेश छन्।
चालू तथा निरन्तर योजनाहरूका लागि ११ अर्ब ५९ करोड ४१ लाख रुपियाँ र अघिल्लो वर्षको बाँकी दायित्व चुक्ता गर्न ६७ करोड ३५ लाख रुपियाँ विनियोजन गरिएको छ। एसियाली विकास बैंकको सहयोगमा सञ्चालित हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाअन्तर्गत मात्रै ४ अर्ब १५ करोड रुपियाँ छुट्याइएको छ।











प्रतिक्रिया