काठमाडौं ।
लगातार सातौं दिनसम्म पनि शेयर बजार सुधारात्मक लयमा अगाडि बढिरहेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार ५.१७ अंकले उकालो लाग्दै २ हजार ९७८.८८ विन्दुमा पुगेको छ। पछिल्ला ७ कारोबार दिनमै नेप्सेले कुल २५३ अंकको वृद्धि गरेको छ । लगातारको उकालो प्रवृत्तिका कारण समग्र बजार पुँजीकरण पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ।
बुधबारको कारोबार पश्चात कुल बजार पुँजीकरण ४९ खर्ब ७० अर्ब ७६ करोड १४ लाख रुपियाँमाथि पुगेको छ । सेयरको समग्र बजार पुँजीकरण नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) अनुपात करिब ८२ प्रतिशत हो । यस वर्ष नेपालको कुल जीडीपी ६१ खर्ब ५ अर्बको हाराहारीमा पुग्ने राष्ट्रिय तथ्यांक कार्यालयले प्रक्षेपण गरेको छ ।
नेप्से उकालो लागिरहे पनि बुधबारको कारोबार रकम भने केही घटेको देखिन्छ । मंगलबार २० अर्ब ८ करोड रुपियाँ बराबरको कारोबार भएकोमा बुधबार १९ अर्ब ५७ करोड ५२ लाख रुपियाँको सेयर खरिदबिक्री भएको छ। तथापि, समग्र कारोबार रकम उत्साहजनक देखिएको छ। साउन महिनाको पहिलो तीन कारोबार दिनमै दैनिक २० अर्ब नजिक वा बढीको कारोबार हुन थालेको छ।
यसअघि साउन १ गते (बिहीबार) १६ अर्ब ५९ करोड २१ लाख रुपियाँ, आइतबार २१ अर्ब ४६ करोड ४९ लाख रुपियाँ, सोमबार १६ अर्ब ३२ करोड ७१ लाख रुपियाँ र मंगलबार २० अर्ब ८ करोड ५३ लाख रुपियाँ बराबरको सेयर कारोबार भएको थियो। नेप्सेमा सूचक उकालो लागे पनि सबै उपसमूहहरु सकारात्मक रहेनन्। कुल १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचकमा वृद्धि देखिएको छ भने ६ उपसमूह घटेका छन्। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.२३ प्रतिशतले बढेको हो। यस्तै, अन्य उपसमूहमा पनि १ प्रतिशतभन्दा बढीको वृद्धिदर देखिएको छ । उता, होटल तथा पर्यटन उपसमूह भने १.१० प्रतिशतले घट्दै सर्वाधिक गिरावट ब्यहोर्ने उपसमूह रह्यो।
बजारमा देखिएको हालको हरियाली प्रवृत्तिलाई विश्लेषकहरूले लगानीकर्ताको मनोबल मजबुत भएको संकेतको रूपमा लिएका छन्। तर, कारोबार रकममा आउने उतारचढावले सतर्क रहन आवश्यक रहेको उनीहरूको भनाइ छ।











प्रतिक्रिया