काठमाडौँ
स्विस सरकार विकास सहयोग संस्था (एसडीसी) अन्तर्गतको सहज परियोजनाले कोशी प्रदेशको विराटनगरस्थित ईस्टर्न स्टार होटेलमा “तरकारी क्षेत्र ः सिकाइ आदान–प्रदान कार्यक्रम“ आयोजना गरेको छ । कार्यक्रममा तरकारी क्षेत्रको समग्र सुधार, बजार पहुँच, प्रशोधन, सार्वजनिक–निजी साझेदारी तथा स्थानीय सरकारको भूमिकाका विषयमा अनुभव, सिकाइ र सहकार्यका अभ्यासहरू साझा गरिएका थिए ।
कार्यक्रममा कोशी प्रदेशका विभिन्न पालिकाका प्रतिनिधि, निजी क्षेत्र, विकास साझेदार संस्था र परियोजनाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेले सहज परियोजनाले कृषि क्षेत्रमा ल्याएको डिजिटल प्रणाली र तालिमले भविष्यका लागि तयारी गर्न सहयोग पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “सहज कार्यक्रम अन्त्य हुँदैमा कृषिमा काम गर्ने चाहना र योजना कमजोर हुँदैन । यसले हामीलाई डिजिटल प्रणाली अपनाउने सिकाइ दिएको छ ।”
कार्यक्रमको सुरुआतमा सहज परियोजना (एनएएमडीपी–दोस्रो चरण) को टोली नेतृ रीमा श्रेष्ठले सहभागीलाई स्वागत गर्दै भनिन्, “सहज कार्यक्रमले महिला सशक्तिकरण र साझा सहकार्यमार्फत तरकारी क्षेत्रमा दिगो विकासको मार्ग खोल्दै आएको छ ।”
“एसआईपी र एनएएमडीपीको सहकार्य“ विषयक प्रस्तुतीमार्फत श्री भीम खत्रीले साना किसानको आम्दानी वृद्धि गर्न बजार र सिँचाइ पूर्वाधारलाई कसरी जोडिएको छ भन्नेबारे प्रकाश पार्नुभयो । उहाँले साझेदारीको माध्यमबाट ५० हजारभन्दा बढी कृषक लाभान्वित भएको, जल उपभोक्ता समितिहरू सशक्त बनेको र करोडौं रुपियाँ बराबरको तरकारी व्यापार सञ्चालनमा आएको जानकारी दिनुभयो ।
त्यस्तै, श्री चित्रा मिश्रले प्रस्तुत गर्नुभएको “सहज परियोजनाको तरकारी क्षेत्रमा सिकाइ“ शीर्षकको प्रस्तुतीमा प्रशोधन, ब्रान्डिङ, वित्तीय पहुँच र निजी उद्यम सशक्तिकरणमा परियोजनाले पु¥याएको योगदानबारे चर्चा गरियो ।
कार्यक्रमको विशेष आकर्षणको रूपमा “समृद्धिको कटनी ः तरकारी क्षेत्रमा सार्वजनिक–निजी साझेदारीको एकीकरण“ विषयमा आयोजित प्यानल छलफलमा विभिन्न पक्षका प्रतिनिधिहरूले अनुभव सुनाए ।
प्यानलमा टङ्का माया लिम्बू (अध्यक्ष, कियाचु कोल्ड स्टोर, तेह्रथुम)ले स्रोत व्यवस्थापन चुनौतीपूर्ण रहेपनि परियोजनाको सहयोगले बजारसम्म पुग्न र आम्दानी बढाउन सहयोग पुगेको बताइन ्।
राजेन्द्र कडरिया (तरकारी क्षेत्र प्रमुख, विराटनगर) ले “पारिको होइन, बारीको खाऔं” अभियान अन्तर्गत सञ्चालित संकलन केन्द्र, बिक्री केन्द्र र मूल्य जानकारी प्रणालीको प्रयोगबारे जानकारी दिनुभयो ।
रोग गाउँपालिकाका अध्यक्ष मणिकुमार श्याङबोले स्थानीय उत्पादनलाई ब्रान्डिङ गर्दै बजारमा पु¥याउने लक्ष्य रहेको र निजी क्षेत्रलाई जिम्मेवारी दिने नीति अवलम्बन गरिएको जानकारी दिनुभयो ।
खस्का माया पराजुली (उप–मेयर, अर्जुनधारा नगरपालिका)ले कृषि व्यवसायमा स्थानीय सरकारको भूमिकाले नयाँ उत्साह थपेको उल्लेख गर्नुभयो ।
प्यानल छलफलको संयोजन स्वीसकन्ट्याक्टका वरिष्ठ सल्लाहकार पदमलाल भण्डारीले गर्नुभएको थियो ।
सहज परियोजना सन् २०२० देखि २०२५ सम्म सञ्चालनमा रहेको नेपाल–स्विट्जरल्यान्ड सरकारबीचको द्विपक्षीय कार्यक्रम हो, जसलाई स्वीसकन्ट्याक्ट र सिएप्रेडले संयुक्त रूपमा कार्यान्वयन गर्दै आएका छन् । यसले कोशी प्रदेशमा साना तथा मझौला कृषि उद्यमको सशक्तिकरण, मूल्य अभिवृद्धि तथा समावेशी आपूर्ति श्रृंखला विकासमा योगदान पु¥याउँदै आएको छ ।
कार्यक्रमको समापनमा सहभागीले आगामी दिनमा स्थानीय सरकारको नेतृत्व, समन्वययुक्त प्रयास तथा नवप्रवर्तनयुक्त व्यवसाय प्रवद्र्धनमार्फत तरकारी क्षेत्रको दिगो विकास सम्भव रहेको निष्कर्षमा पुगेका छन् ।











प्रतिक्रिया