सिन्धु विकास बैंकको नाफा बढ्यो


काठमाण्डौँ
सिन्धु विकास बैंकको नाफामा सुधार आएको छ । बैंकले आज सर्वाजनिक गरेको गत आवको चौथो त्रैमासिक प्रतिवेदनअनुसार बैंकले ११ करोड ७८ लाख रुपियाँ बराबरको खुद नाफा आर्जन गरेको छ ।

यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २८७.५९ प्रतिशतले बढी हो । गत आवको चौथो त्रैमाससम्म बैंकको खुद नाफा ३ करोड ४ लाख रुपियाँ थियो । बैंकको खुद ब्याज आम्दानी भने ३०.१४ प्रतिशतले घटेर १३ करोड ३७ लाख रुपियाँमा सीमित बनेको हो ।

यस्तै बैंकको खुद शुल्क तथा कमिशन आम्दानी घटेको छ । अघिल्लो आवमा २ करोड १९ लाख रुपियाँ रहेको खुद शुल्क तथा कमिशन आम्दानी घटेर १ करोड ४३ लाख रुपैयाँमा सीमित बनेको छ । बैंकको सञ्चालन मुनाफासमेत २ करोड ९६ लाखबाट बढेर १५ करोड ३५ लाख रुपियाँ पुगेको छ ।

यो अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज १७ करोड ९० लाख रुपियाँले रिभर्सल भएको छ । यही कारण बैंकको खुद नाफामा सुधार देखिएको हो । बैंकको रिटेन्ड अर्निङ २० करोड ७५ लाख रुपियाँले ऋणात्मक अवस्थामा रहेको छ भने रिजर्भमा १३ करोड ३४ लाख रुपियाँ सञ्चित रहेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ५ अर्ब ८९ करोडबाट घटेर ५ अर्ब ६८ करोड रुपियाँमा सीमित बनेको छ । कर्जा प्रवाह पनि ३ अर्ब ५८ करोडबाट घटेर ३ अर्ब २५ करोडमा खुम्चिएको छ ।

बैंकको वितरण योग्य मुनाफा भने २० करोड ७५ लाख रुपैयाँले ऋणात्मक छ । अघिल्लो आवको चौथो त्रैमाससम्म १०.६३ प्रतिशत रहेको खराब कर्जा अनुपात भने घटेर ६.०३ प्रतिशतमा झरेको छ ।

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस)२१.१५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार १४५.३२ रुपियाँ, प्रतिसेयर नेटवर्थ ८६.७० रुपियाँ, मूल्य आम्दानी अनुपात ४०.९९ गुणा र तरलता अनुपात ४३.७२ प्रतिशत कायम भएको छ ।