काठमाडौं।
नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई ज्यानसम्बन्धी मुद्दामा सफाइ दिने उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासको फैसलाविरुद्ध अब मुद्दा सर्वोच्च पुग्ने भएको छ।
महान्यायाधिवक्ताको कार्यालयले उक्त फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको हो। यसअघि असार २५ गते महान्यायाधिवक्ता रमेश बडालले फैसलाविरुद्ध पुनरावेदन गर्ने निर्णय गरेका थिए।
सरकारको नीति अनुसार तल्लो अदालतको फैसलामा गम्भीर प्रश्न उठेमा वा प्रमाणको उचित मूल्यांकन नहुँदा फैसलामा त्रुटि देखिएमा एक तह माथिको अदालतमा पुनरावेदन गर्ने गरिन्छ। आलमको मुद्दामा पनि यस्तै प्रश्न उठेकाले पुनरावेदन गरिएको बताइएको छ।
महान्यायाधिवक्ताको कार्यालयले आलमसहित सबै आरोपितलाई दोषी ठहर गर्नुपर्ने माग गर्दै पुनरावेदन दर्ता गरेको जनाएको छ। यसअघि जिल्ला अदालत र उच्च अदालत दुवैबाट आलमलाई सफाइ दिइएको थियो।
गत १४ जेठमा उच्च अदालत वीरगञ्ज इजलासका न्यायाधीश डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले आलमसहितका व्यक्तिहरुलाई ज्यान मुद्दाबाट सफाइ दिने फैसला गरेको थियो।











प्रतिक्रिया