काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ‘पहिलो हुने निर्वाचित हुने प्रणाली’का लागि उम्मेदवार छनोटको नयाँ कार्यविधि सार्वजनिक गरेको छ।
पार्टीले नेतृत्व क्षमता, राजनीतिक निकटता, समावेशिता र आन्तरिक प्रारम्भिक निर्वाचनमा प्राप्त मतलाई उम्मेदवार छनोटका प्रमुख आधार बनाउने नीति लिएको हो।
आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सहमहामन्त्री विपिन आचार्यले आगामी कात्तिक १७ गते रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि सोही कार्यविधिको प्रयोग गरिने जानकारी दिए।
“रुपन्देहीलाई प्रस्थानबिन्दु बनाएर कार्यविधि पास गरेका हौं,” उनले भने, “पार्टी गतिविधिमा सक्रिय, पदाधिकारीदेखि सदस्यहरूद्वारा रुचाइएका र मुलुक तथा जनताको पक्षमा योगदान गर्न सक्ने क्षमतावान व्यक्तिलाई उम्मेदवार बनाउने छौं।”
प्रवक्ता मनिष झाले उम्मेदवारको स्वीकृति, व्यक्तित्व र क्षमतालाई प्राथमिकता दिइने प्रस्ट पारे। रास्वपाले पार्टी स्थापना देखिनै प्रारम्भिक निर्वाचन विधिबाट उम्मेदवार छनोट गर्दै आएको उल्लेख गर्दै हालको कार्यविधिलाई थप परिस्कृत गरिएको जनाइएको छ।
प्रवक्ता झाका अनुसार नयाँ कार्यविधिमा:
लिडरसिप एकेडेमी मूल्यांकन – २५%,
राजनीतिक निकटता – २०%,
समावेशिता – ५%, र
प्रारम्भिक निर्वाचनको नतिजा – ५०%
अङ्कभारका रूपमा समेटिएको छ।
रास्वपाले एक साताभित्र उम्मेदवार छनोटको विस्तृत तालिका सार्वजनिक गर्ने बताएको छ।











प्रतिक्रिया