गिरिबन्धुका लागि कानुन? भूमि विधेयकले खन्यायो विवाद


काठमाडौं ।

सत्ता गठबन्धनका प्रमुख दलहरू नेपाली कांग्रेस र नेकपा एमालेबीच भूमिसम्बन्धी विधेयक संसदबाट ‘फास्ट ट्रयाक’ बाट पारित गर्ने सहमति जुटे पनि कांग्रेसभित्रै विभाजन देखिएको छ।

कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक विधेयक तत्काल पारित गर्नुपर्ने पक्षमा छन् भने महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र अन्य नेताहरू पर्याप्त छलफल बिना विधेयक अघि बढाउन नहुने अडानमा छन्।

सरकारले विधेयक समितिमा नपठाई फास्ट ट्रयाकमार्फत पारित गर्न खोज्नुको पछाडि गिरिबन्धु टी-स्टेट जस्ता व्यवसायीहरूको चलखेल रहेको आशंका छ। जसपा नेपालको असहमति र समर्थन फिर्तापछि विधेयक पारित गर्न सरकारलाई गाह्रो भएको छ। साथै, अव्यवस्थित बसोवासीलाई सुकुमवासीसरह जग्गा दिनेसम्बन्धी प्रावधानले पनि कांग्रेसभित्र मतभेद चुलिएको छ।

यसले सत्ता साझेदार दलहरूमा भूमिसम्बन्धी विधेयकलाई लिएर गहिरो मतभेद र राजनीतिक खिचातानी देखाएको छ।