मुख्य सचिवले झकझकाए सरकारका सबै सचिवहरूलाई

दिए विशेष सुधार योजना समेटिएका १६ बुँदे निर्देशन


–स–साना गल्तीसमेत गर्ने छुट नभएकाले गम्भीर बन्न जोड
–सम्झाए भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति
–नागरिकमा व्याप्त निराशा चिर्नुपर्ने
–सचिवहरूले राखे समस्या र गुनासा

काठमाडौं ।

सरकारको कामकारबाही सोचेअनुसार प्रभावकारी नभएको, सेवा प्रवाह सशक्त बन्न नसकेको, सुशासन कायम हुन नसकेको र कामको परिणाम आउन नसकेको भन्दै मुख्य सचिव एकनारायण अर्यालले सरकारका सबै सचिवहरूलाई सुशासनलाई केन्दविन्दुमा राखेर आगामी दिनमा परिणाम निस्कने गरी काम गर्न कडा निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कामकारबाही अझै प्रभावकारी बनाएर परिणाम निकाल्नुपर्ने र त्यसका लागि कर्मचारी संयन्त्र सशक्त रूपमा परिचालन गर्नुपर्ने निर्देशन दिएलगत्तै उहाँले मंगलवार साँझ सबै सचिवहरूसँग बृहत् छलफल गर्दै सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन तथा सुशासनलाई उच्च प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले सबै सचिवहरूलाई विभिन्न सुधार योजनाहरू समेटिएका १६ बुँदे निर्देशनसमेत दिनुभयो ।

गत २७ असारमा सरकारका उच्चपदस्थहरूको संलग्नतामा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको ५४ औ बैठकमा प्रधानमन्त्री ओलीले विकास निर्माण र विभिन्न आयोजनाहरूले गति लिन नसकेको तथा सार्वजनिक सेवा प्रवाह पनि प्रभावकारी हुन नसकेको भन्दै असन्तुष्टि पोख्नुभएको थियो । यसै पृष्ठभूमिमा मुख्य सचिव अर्यालको सक्रियतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले संयुक्त रूपमा कार्यक्रमको आयोजना गरी सरकारका सबै सचिवहरूलाई जिम्मेवारी अनुसार काम गरी परिणाम निकाल्न झकझकाएको हो ।

कतिपय मन्त्रालयका सचिवहरू नेपाल सरकारको कार्यविभाजन नियमावली २०७४मा उल्लिखित मन्त्रालयको मुख्य जिम्मेवारीबाट च्यूत हुने र स्वार्थकेन्द्रित काममा मात्रै लाग्ने गर्दा परिणाम आउन नसकेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विभिन्नखाले गुनासाहरू आउने गरेका छन् । कतिपय मन्त्री र सचिवहरूले उत्कृष्ट कार्य गर्न नसक्दा सरकारप्रति विश्वास जाग्न नसकेको गुनासो जनस्तरमा समेत व्यापक छ ।

यस्ता विषयमा पनि मुख्य सचिव अर्यालले सचिवहरूको गम्भीर ध्यानाकृष्ट गराउँदै भन्नुभयो– ‘मैले निरन्तर भ्रष्टाचारप्रतिको शून्य सहनशीलतामा जोड दिँदै आएको छु । सूचना तथा सञ्चार प्रविधि र सामाजिक सञ्जालमा आम नागरिकको सहज पहुँचले नकारात्मक वा काल्पनिक खर मात्रै फैलेको छैन, बरु स–साना अनियमितता र भ्रष्टाचारका गतिविधिहरूमा जनताको खवरदारी पनि बढेको छ । त्यसैले पनि हामीलाई स–साना गल्ती गर्ने पनि छुट छैन ।’

मुख्य सचिव अर्यालले कार्यसम्पादनका क्रममा ढिलो निर्णय प्रक्रिया वा निर्णय नै नगर्ने प्रवृत्ति, एउटै कामका लागि विभिन्न अड्डामा धाउनुपर्ने अवस्था र सेवा प्रवाहमा भएको असमानता वा ढिलाइले गर्दा जनमानसमा सरकारप्रति नकारात्मकता बढिरहेकाले त्यस्तो अवस्थाको अन्त्य गर्न सचिवहरूलाई निर्देशन दिनुभयो ।

उहाँले सरकारले सम्पादन गरेका उदाहरणीय कार्यहरूलाई सर्वसाधारणले बुझ्ने गरी सम्प्रेषण गर्नुपर्ने आवश्यकता पनि औंल्याउनुभयो । विकास र सुशासन नङ र मासुजस्तै एकअर्कामा अन्तरआवद्ध विषय भएको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘समृद्ध नेपाल र सुखी नेपाली’को सपना साकार पार्ने एकमात्र साध्य सुशासन नै हो । जति विकासका लागि सुशासनको आवश्यकता छ त्यति नै सुशासनका लागि विकासको ढाँचामा परिवर्तन गर्नु पनि जरुरी छ ।’

अर्यालले सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा नेपाललाई ग्रेलिस्टबाट वाहिर निकाल्न एफएटीएफले औंल्याएका विषयमा सबै सम्बद्ध निकायले तदारुकताका साथ काम गर्न आवश्यक रहेको बताउनुभयो ।उहाँले धेरै कानुन, निर्देशिका, कार्यविधि र प्रक्रियाका जन्जालबाट अब मुक्त हुनुपर्ने र यस्ता वाधक कानुनी प्रावधानको तत्काल खारेज वा संशोधन आवश्यक रहेको स्पष्ट पार्दै भन्नुभयो– ‘तीनै तहका सरकारबाट प्रवाह हुने सार्वजनिक सेवा विश्वसनीय, अनुमानयोग्य र कम खर्चिलो बनाउनु पर्दछ । जनताको नजिकबाट बढीभन्दा बढी सेवा प्रवाह गर्ने व्यवस्था गर्नु पर्दछ ।’

पछिल्ला दिनमा राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रका बीचमा विश्वासको संकट उत्पन्न भएकोले विकास निर्माणको कार्य र सेवा प्रवाहमा नकारात्मक असर पर्नुका साथै शासनप्रति जनताको आस्था गुम्न जाने खतरा बढेको भन्दै उहाँले यसतर्फ सबै प्रशासक तथा कर्मचारीतन्त्र गम्भीर बन्नुपर्ने आवश्यकता पनि औंल्याउनुभयो । सुधार कार्यलाई व्यवहारमा उतार्न कर्मचारीतन्त्रको प्रतिवद्धता, इच्छाशक्ति र सक्रियताको खाँचो औंल्याउँदै उहाँले सुधार योजना तयार गरी एकापसमा समन्वयलाई बढाउन निर्देशन पनि दिनुभयो । सबै सचिवहरूलाई हौस्याउँदै उहाँले भन्नुभयो– ‘समृद्ध नेपाल सुखी नेपाली’को दीर्घकालीन लक्ष्य हासिल गर्न, जनविश्वासमा अभिवृद्धि गर्न र यो देशको गरिमा बढाउन हातेमालो गरौं । हाम्रा भावी पुस्ताले हामीप्रति गर्व गर्ने वातावरण सिर्जना गरौं ।’

कार्यक्रममा सार्वजनिक खरिद प्रक्रियामा सधैं प्रश्न उठ्ने गरेकोमा सार्वजनिक खरिद र सेवा प्रवाहमा प्रभावकारीताका बारेमा विज्ञहरूको प्रस्तुतीकरण पनि समेटिएको थियो । सचिवहरूले कार्य सम्पादन गर्दा भोग्नुपरेका समस्या, गुनासा तथा सुझावहरूका साथै विज्ञहरूको प्रस्तुतिहरू समेटेर स्टाफ कलेजले संक्षिप्त प्रतिवेदन पेस गर्ने र त्यसलाई सन्दर्भ सामग्रीको रूपमा शासकीय सुधार आयोगमा छलफलको विषय बनाइने निर्णय गरिएको छ । कार्यक्रममा पूर्व सचिवद्वय राजन खनालले सरकारको कार्यक्षमताका सवाल तथा मणिराम गेलालले खरिद दक्षताका सवालमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

यस्ता छन् मुख्य सचिवका विशेष सुधार योजना समेटिएका महत्वपूर्ण १६ बुँदे निर्देशन

१.निर्णयमा ढिलाइ वा निर्णय नै नगर्ने प्रवृत्ति आजैदेखि त्यागौं ।
२.भ्रष्टाचारमा शून्य सहनशीलता कायम गरौं ।
३.‘समृद्ध नेपाल र सुखी नेपाली’को सपना साकार पार्ने एकमात्र साध्य सुशासनमा ध्यान दिऊँ ।
४.सरकारका नीति र कानुन कार्यान्वयन गर्नमा साझा प्रतिवद्धताका साथ अघि बढौं ।

५.सबै निकायले नेपाललाई ग्रेलिस्टबाट बाहिर निकाल्न विशेष ध्यान दिऊँ ।
६.विकास आयोजना र सेवा प्रवाहमा बाधक मानिएका कानुनी प्रावधान खारेज वा संशोधन गरौं ।
७.एउटै प्रकृतिको कामका लागि धेरै संस्थागत संरचना खडा नगरौं, धेरै भए खारेज गरौं ।
८.अनलाइन सेवा प्रवाह, डिजिटाइजेसन र सेवाको एकीकरणमा विशेष ध्यान दिऊँ ।
९.तीनै तहका सरकारबाट प्रवाह हुने सार्वजनिक सेवा विश्वसनीय, अनुमानयोग्य र कम खर्चिलो बनाऊँ ।

१०. सेवा प्रवाहमा जनतालाई दुःख दिने प्रवृत्ति तत्काल बन्द गरौं ।
११.राम्रो काम गर्नेलाई पुरस्कार र खराब काम गर्नेलाई दण्डको व्यवस्था गरौं ।
१२.शासकीय सुधार आयोगमार्फत महत्वपूर्ण कार्य गर्न थालौं ।
१३.राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रका बीचमा विश्वासको संकट उत्पन्न भएकाले सयममा नै त्यसको निवारण गरांै ।
१४.सार्वजनिक खरिद प्रक्रियालाई चुस्त दुरुस्त र प्रभावकारी बनाऊँ ।
१५.कर्मचारीतन्त्रलाई सक्षम, उच्च मनोबलयुक्त र जवाफदेही बनाऊँ, अन्तरतह समन्वय तथा सहकार्यमा जोड दिऊँ ।
१६.सुधार योजना तयार गरौं, एकापसमा समन्वयलाई बढाऔं । ‘समृद्ध नेपाल सुखी नेपाली’को दीर्घकालीन लक्ष्य हासिल गर्न, जनविश्वासमा अभिवृद्धि गर्न र देशको गरिमा बढाउन हातेमालो गरौं । हाम्रा भाबी पुस्ताले हामीप्रति गर्व गर्ने वातावरण सिर्जना गरौं ।