काठमाडौं।
नेपाल सरकारले साउन महिनालाई ‘डेंगी सचेतना महिना’ को रूपमा घोषणा गर्दै राष्ट्रिय अभियान सुरु गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बुधबार राजधानीमा आयोजित एक विशेष समारोहकाबीच अभियानको औपचारिक सुरुवात गरेका हुन्। साउन महिनामा डेंगी संक्रमण उच्च हुने तथ्यांकका आधारमा सचेतना अभिवृद्धि र संक्रमण नियन्त्रणका लागि यो कदम उठाइएको बताइएको छ।

अभियानको उद्घाटन गर्दै मन्त्री पौडेलले डेंगी नियन्त्रणमा सरकारको प्रमुख भूमिका रहेको स्पष्ट पारे। “डेंगी संक्रमणबाट जनतालाई जोगाउने दायित्व सरकारको हो,” उनले भने, “त्यसैले डेंगी सचेतनाबाहेक अरू विकल्प छैन।” उनले आगामी चार महिना सबै नागरिक र सम्बन्धित निकायहरू सजग र सक्रिय बन्नुपर्नेमा जोड दिए। मन्त्री पौडेलले डेंगी फैलाउने लामखुट्टे तथा लार्भा उत्पादन हुने स्थानहरू पहिचान गरी नष्ट गर्न अभियान चलाउनुपर्ने बताएका छन्।
उनले डेंगी संक्रमण उच्च हुने साउनदेखि कात्तिक महिना अत्यन्त संवेदनशील समय भएको भन्दै निर्माण कार्यसमेत केही समयका लागि रोक्न सकिने सुझाव दिए। “नाली, फूलदानी, गाग्री, प्लास्टिकका भाँडामा जम्मा हुने पानी डेंगी फैलाउने प्रमुख स्रोत हुन्,” उनले भने, “यसकारण सबैले घर–घरमा सरसफाइमा जोड दिनु अत्यावश्यक छ।”
‘१० बजे १० मिनेट’ कार्यक्रम सुरु
स्वास्थ्य सचिव डा. विकास देवकोटाले डेंगीविरुद्धको यो अभियानलाई व्यवस्थित रूपमा अघि बढाउन ‘१० बजे १० मिनेट’ अभियान सुरु गरिएको जानकारी दिए। यसअन्तर्गत साउन महिनाभर हरेक शुक्रबार बिहान १० बजे १० मिनेट समय सरकारी कार्यालय, विद्यालय, स्वास्थ्य संस्था लगायतका सार्वजनिक स्थानमा सफाइ अभियान सञ्चालन गरिनेछ।
“डेंगी नियन्त्रणका लागि खोज्ने र नष्ट गर्ने रणनीति अत्यन्त प्रभावकारी हुने भएकाले हामीले यसलाई अब साप्ताहिक कार्यसूचीमा समावेश गरेका छौं,” सचिव देवकोटाले भने। उनले यो अभियानलाई कात्तिक महिनासम्म निरन्तरता दिइने पनि बताए।

सन् २०३० सम्म डेंगी नियन्त्रण
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंकप्रसाद बाराकोटीले अभियानको मुख्य उद्देश्य डेंगी संक्रमणको दर घटाउने र मृत्यु दरमा कमी ल्याउने रहेको बताए। उनले आगामी सन् २०३० सम्म डेंगी संक्रमणलाई पूर्ण रूपमा नियन्त्रण गर्ने दीर्घकालीन योजना रहेको जनाउँदै सरकारले रणनीतिक ढंगले काम गरिरहेको बताए।
डा. बाराकोटीका अनुसार डेंगी नियन्त्रणका लागि सरकार, स्थानीय तह, संघसंस्था र नागरिकबीच बहुपक्षीय सहकार्य आवश्यक छ। उनले विभिन्न चरणमा डेंगीविरुद्धको सरकारी योजना र रणनीति प्रस्तुत गर्दै नागरिक सहभागिता नै सफलताको कडी हुने बताए।
समारोहमा सहभागी विश्व स्वास्थ्य संगठन (WHO) का नेपाल प्रमुख डा. राजेश सम्भाजीराव पाण्डवले डेंगी नियन्त्रणका लागि सरकारलाई आवश्यक प्राविधिक र सल्लाहकार सहयोग दिन डब्लुएचओ तत्पर रहेको बताएका छन्।
“डेंगी दक्षिण एसियामै ठूलो चुनौती बन्दै गएको छ। नेपाल सरकारको यो पहल सकारात्मक छ र डब्लुएचओ यसमा सहकार्य गर्न तयार छ,” उनले भने।

स्थिति चिन्ताजनक, सजगता आवश्यक
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्मको तथ्यांक निकै चिन्ताजनक छ। सन् २०२४ मा विश्वभर १ करोड ४० लाखभन्दा बढी व्यक्तिहरूमा डेंगी संक्रमण भएको छ भने ११ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। नेपालमा मात्र चालू आर्थिक वर्षमा ५० हजारभन्दा बढी संक्रमित र १५ जनाभन्दा बढीको मृत्यु भएको स्वास्थ्य सेवा विभागले जनाएको छ।
नेपालमा पहिलो पटक वि.सं. २०६१ मा एक विदेशी नागरिकमा डेंगी देखिएको थियो। त्यसयता विभिन्न समयमा चितवन, ललितपुर, काठमाडौं, मोरङ, धनुषा लगायतका जिल्लामा डेंगीको महामारी फैलिँदै आएको छ।
सरकारले अबको अभियानलाई जनस्तरमै पु-याएर डेंगी न्यूनीकरण गर्ने उद्देश्यसाथ ‘सचेत नागरिक, स्वस्थ राष्ट्र’ नारासहित अभियान सञ्चालन गर्न लागेको जनाएको छ।











प्रतिक्रिया