काठमाडौँ
नेपाली कांग्रेस महासमिति सदस्य तथा नेपाल शिक्षक संघकी पूर्व केन्द्रीय उपाध्यक्ष नर्बदा पोखरेलद्वारा लिखित आत्मकथात्मक कृति ‘मेरो जीवनयात्रा’ सार्वजनिक गरिएको छ । ललितपुरमा आयोजित विशेष समारोहमा नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सांसद गगनकुमार थापाले पुस्तक विमोचन गर्नुभयो ।
करिब चार दशकको शिक्षण जीवन र त्यसअघि भोगिएको विद्यार्थी कालको संघर्षपूर्ण यात्रा, पारिवारिक जिम्मेवारी, राजनीतिक संलग्नता र समाजसेवामा सक्रियताका अनुभवलाई पोखरेलले पुस्तकमार्फत प्रस्तुत गर्नुभएको छ ।
शिक्षा, संघर्ष र समाजसेवा जोडिएको कथा
सामान्य पारिवारिक पृष्ठभूमिबाट राजधानीको भाडाको कोठामा बस्दै अध्ययन र शिक्षणसँगै समाजसेवामा होमिएकी पोखरेलको यो पुस्तकले नारीका लागि प्रेरणादायी जीवन पाठ दिन्छ । श्रीमान्, छोराछोरी र परिवारको साथले उच्च शिक्षा हासिल गर्दै, समाजमा सशक्त उपस्थिति जनाउँदा भोगेका अनुभव पुस्तकमा जीवन्त ढंगले चित्रित छ ।
तीन सयभन्दा बढीको उपस्थिति
विमोचन समारोहमा नेपाली कांग्रेसका नेतागण, पूर्व शिक्षक, पत्रकार, समाजसेवी, सहकर्मी तथा पोखरेल परिवारका सदस्यसहित करिब तीन सय जना सहभागी थिए । कार्यक्रममा सम्पादक हरि अधिकारीले पुस्तकको संक्षिप्त परिचय दिँदै पोखरेलको संघर्षशील जीवनलाई दस्तावेजीकरण गरिएको बताउनुभयो ।
गगन थापाको प्रशंसा
पुस्तक विमोचन गर्दै प्रमुख अतिथि गगन थापाले नर्बदा पोखरेलजस्ता इमान्दार, परिश्रमी र सिद्धान्तप्रति समर्पित कार्यकर्ताहरू नै नेपाली कांग्रेसको मेरुदण्ड भएको बताउनुभयो । उनले पोखरेलको योगदानलाई सम्मान गर्दै पुस्तकले समाजमा सकारात्मक ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
पाठकको प्रतिक्रिया अपेक्षित
‘मेरो जीवनयात्रा’ पोखरेलको पहिलो कृति हो । पाठकले पुस्तक पढी समीक्षा, प्रतिक्रिया र सुझाव दिनुहुने हो भने आफू आभारी हुने बताउँदै उनले परिवार, पेशा, समाज र राजनीतिमा प्राप्त सन्तुष्टिबारे खुलस्त विचारसमेत साझा गर्नुभएको छ ।
प्रकाशक तथा सम्पादक जानकारी
लेखकः नर्बदा पोखरेल
सम्पादकः हरि अधिकारी
प्रकाशकः स्वयं लेखिका











प्रतिक्रिया