ईमेज च्यानलमा नयाँ व्यवस्थापन

युवा सञ्चार उद्यमी श्रेष्ठ अध्यक्षमा नियुक्त


काठमाडौं।

नेपालको निजी क्षेत्रको पहिलो टेलिभिजन ईमेज च्यानलको व्यवस्थापन परिवर्तन भएको छ । नयाँ व्यवस्थापनको कार्यकारी अध्यक्षमा युवा तथा सशक्त सञ्चार उद्यमी एवं कामना प्रकाशन गृहका प्रमुख कार्यकारी दिरेकलाल श्रेष्ठ चुनिनुभएको छ ।

यसैगरी नयाँ व्यवस्थापनको प्रबन्ध निर्देशकमा अर्का सञ्चार उद्यमी चेङ अग्रवाल रहनुभएको छ । लाजिम्पाटस्थित ईमेज च्यानलको कार्यालयमा सोमबार आयोजित विशेष समारोहमा ईमेज ग्रुप अफ कम्पनिजका अध्यक्ष आरके मानन्धरले नयाँ व्यवस्थापनलाई जिम्मेवारी हस्तान्तरण गर्नुभयो ।

विगत २७ वर्षदेखि मानन्धरको अध्यक्षतामा सञ्चालन हुँदै आएको ईमेज च्यानल टेलिभिजन २०८२ साल साउन १ गतेदेखि नयाँ व्यवस्थापनअन्तर्गत सञ्चालन हुने भएको हो । अब ईमेज च्यानल टेलिभिजनसँगै ईमेज एफएम ९७.९ र ईमेज खबर डट कम पनि नयाँ व्यवस्थापनअन्तर्गत नै सञ्चालन हुनेछन् । नयाँ व्यवस्थापनले ईमेज च्यालन टेलिभिजनमा सुरुवाती दिनदेखि कार्यरत जगदीश खरेललाई समाचार प्रमुखको जिम्मेवारीसमेत प्रदान गरेको छ ।

समारोहमा अध्यक्ष मानन्धरले युवा सञ्चार उद्यमीहरुको काँधमा जिम्मेवारी बिसाउन पाउँदा आफूलाई सन्तोष लागेको बताउनुभयो ।

सो अवसरमा नवनियुक्त कार्यकारी अध्यक्ष दिरेकलाल श्रेष्ठले ईमेज च्यानल टेलिभिजनको छविलाई ख्याल गर्दै कम्पनीलाई प्रभावकारी रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । आफूले कामना प्रकाशनबाट नैतिकतासहितको पत्रकारिता सिकेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले अमेरिका र नेपालमा गरी आफ्नो साढे दुई दशक लामो छापा माध्यमको अनुभव र ईमेजको तीन दशकको गर्विलो इतिहासलाई एकाकार गर्दै कम्पनीलाई नयाँ उचाइमा पु¥याउने अठोट व्यक्त गर्नुभयो।

नवनियुक्त समाचार प्रमुख जगदीश खरेलले टेलिभिजनका दर्शक नघटेको तर टेलिभिजन हेर्ने माध्यम फेरिएको बताउनुभयो । समाचार तथा समाचारजन्य सामग्री सशक्त हुनुपर्ने भन्दै उहाँले टेलिभिजनलाई आजको प्रविधिसँग जोड्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

युवा सञ्चार उद्यमी श्रेष्ठको काँधमा अब नेपाल समाचारपत्र, ईमेज टेलिभिजन र ईमेज एफएम गरी पत्रिका, टेलिभिजन र रेडियोलाई सँगसँगै अघि बढाउनुपर्ने जिम्मेवारी प्राप्त भएको छ । अब टेलिभिजन, रेडियो, अनलाइन र छापा गरी चारवटै माध्यमबाट अझ सशक्त र प्रभावकारी रुपमा प्रस्तुत हुने प्रतिबद्धता पनि नयाँ व्यवस्थापनले जनाएको छ ।