रिहा भएलगत्तै पक्राउ परिन् अमला रोका


काठमाडौँ।

बहुचर्चित ६१ किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आशंकामा पक्राउ परेकी अमला रोका धरौटीमा रिहा भएसँगै पुनः पक्राउ परेकी छन्।

काठमाडौं जिल्ला अदालतले सोमबार रोकालाई २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर, अदालतको आदेश जारी भएलगत्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले उनलाई फेरि नियन्त्रणमा लिएको हो।

सीआइबीका प्रवक्ता एसपी युवराज खड्काका अनुसार, रोका विरुद्ध सम्पत्ति शुद्धिकरण सम्बन्धी विषयमा छुट्टै पत्र प्राप्त भएकोले पुनः पक्राउ गरिएको हो। “धरौटीमा रिहा भए पनि सम्पत्ति शुद्धिकरण विभागबाट औपचारिक पत्र आएको छ, त्यसैले उनलाई फेरि नियन्त्रणमा लिइएको हो,” खड्काले जानकारी दिए।

गत शुक्रबार सीआईबीको टोलीले रोकालाई काठमाडौंको टोखा क्षेत्रबाट पक्राउ गरेको थियो। उनी बेल्जियमका नागरिक दावा छिरिङकी पत्नी हुन्, जो यसै सुन प्रकरणमा संलग्न व्यक्तिका रूपमा पहिचानमा आएका छन्।

रोका काठमाडौंको ठमेलस्थित होटेल भियनाकी सञ्चालिका हुन्, जसको दर्ता नामसमेत उनको रहेको बताइएको छ।