दोलखा।
नेकपा एमाले दोलखाको सचिवालय बैठकले बागमती प्रदेश सरकारले ल्याएको बजेट अनुत्पादक क्षेत्र केन्द्रित वितरणमुखी र व्यक्तिगत स्वार्थका लागि सेटिङमा ल्याइएको आरोप लगाएको छ ।
बैठकपछि जारी विज्ञप्तिमा एमाले– कांग्रेस लगायतको संयुक्त सरकारले ल्याएको संयुक्त बजेटमा कुनै एउटा राजनीतिक दल वा अमुक व्यक्तिको भूमिकालाई मात्र प्रचार गर्न खोजियो भने त्यो दुर्भाग्यपूर्ण हुने भन्दै चेतावनी समेत दिइएको छ ।

एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठद्वारा हस्ताक्षरीत विज्ञप्तिमा बजेटमा समेटिएका राम्रा कार्यक्रमहरुको इमान्दारीतापूर्वक कार्यान्वयनको लागि कानुनी प्रावधान अनुसार १० लाख भन्दा माथिका आयोजनाहरु बोलपत्र आव्हान तथा अन्य आयोजनाहरु वास्तविक उपभोक्ता समिति मार्फत अघि बढाउन आग्रह गरिएको छ ।
विज्ञप्तिमा प्रदेशले गौरवको आयोजनाको रुपमा प्राथामिकता दिएको जिरी तालले बजेटमा निरन्तरता नपाउनु दुखद रहेको उल्लेख गर्दै पुनः बजट व्यवस्थापन गर्न प्रदेश सरकारको ध्यानाकर्षण गरिएको छ । साथै दोलखा जिल्लाका पर्यटकीय स्थलहरुको प्रवर्धन तथा जिल्लालाई हाइड्रो हवको रुपमा विकास गर्न आग्रह समेत गरिएको छ । त्यसैगरी नेकपा एमाले दोलखाले अघि सारेको सोच अनुसार सङ्घीय सरकारले दोलालघाट देखि चर्नावतिसम्म सुरुङ मार्ग निर्माणको लागि सम्भाव्यता अध्यन गर्ने योजना अघिसारेको भन्दै विज्ञप्ति मार्फत धन्यवाद दिइएको छ ।
पत्रकार सम्मेलनमा सहभागी एमाले पोलिटब्युरो सदस्य पार्वत गुरुङ र बागमती प्रदेश सांसद भरतबहादुर केसीले संयुक्त सरकारले ल्याएको बजेटको विषयमा भ्रमपूर्ण प्रचार गरिएको भन्दै त्यसको आलोचना गर्नु भएको थियो ।

सुरुङ मार्ग एमालेकै सोच
यसै बीच नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् दोलखा इन्चार्ज पार्वत गुरुङले नेकपा एमाले दोलखाको सोच अनुसार नै दोलालघाट– चर्नावती सुरङमार्ग निर्माणको लागि सरकारले सम्भाव्यता अध्ययनको योजना अघि सारेको दोहोराएका छन् । नेकपा एमाले दोलखाले पार्टीकोे सोच अनुसार दोलालघाट– चर्नावती सुरङमार्ग निर्माणको लागि सरकारले सम्भाव्यता अध्ययनको योजना अघि सारेकोमा धन्यवाद ज्ञापन गरेको थियो । त्यस लगतै नेकपा माओवादी निकट केही नेताहरुले त्यसको आलोचना गरेपछि पोलिटब्युरो सदस्य गुरुङले त्यसको प्रतिवाद गर्नु भएको हो ।
आइतबार पत्रकारहरुसंग कुरा गर्दै एमाले पोलिटब्युरो सदस्य गुरुङले नेकपा एमालेको प्रधानमन्त्री, अर्थमन्त्री र भौतिक पुर्वाधार मन्त्री भएको बेला दोलालघाट– चर्नावती सुरङमार्ग निर्माणको लागि सरकारले सम्भाव्यता अध्ययनको योजना अघिसारेको प्रस्ट परेका छन् । कोही कसैले सुरुङमार्गबारे काल्पनिक योजना बुनेको बारे आफूलाई जानकारी नभएको उल्लेख गर्दै एमाले पोलिटब्युरो सदस्य गुरुङले मुलुकलाई सुरुङ मार्गमा अघि बढाउने एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको उद्घोष तथा एमाले दोलखाको सोच अनुसार उक्त योजना आएको बताए । नेता गुरङले माओवादीको योजना भए माओवादीकै प्रधानमन्त्री र अर्थमन्त्री भएको बेला किन त्यो योजना परेन भनी प्रश्न समेत गरेका छन् ।











प्रतिक्रिया