नेपाली हस्तकलाको अन्तर्राष्ट्रिय प्रवद्र्धनका लागि नेपाल हस्तकला महासंघ र आईआरजीडीडीबीच समझदारी


काठमाडौं
नेपाली हस्तकलाको अन्तर्राष्ट्रिय प्रवद्र्धन र कुटनीतिक पहुँच विस्तार गर्न नेपाल हस्तकला महासंघ र इन्टरनेशनल रिलेसन्स एण्ड ग्लोबल डिप्लोमेसी डाइलग (आईआरजीडीडी) बीच आपसी समझदारी भएको छ । मिति २०८२ असार ४ गते, बुधबार राजधानी काठमाडौंमा आयोजित एक विशेष समारोहबीच दुई संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको हो ।

समझदारीपत्रमा महासंघका अध्यक्ष श्री रविन्द्र शाक्य र आईआरजीडीडीकी अध्यक्ष तथा पूर्वराजदूत डा. शर्मिला पराजुली ढकालले हस्ताक्षर गर्नुभयो ।

सम्झदारीपछि दुवै संस्थाले नेपाली हस्तकलालाई “विश्वव्यापी ब्राण्ड” को रूपमा विकास गर्न कुटनीतिक सहकार्य, प्रवद्र्धनात्मक पहल, अनुसन्धान, सीप विकास, नीति संवाद, तथा कलाकार र कालिगढहरूको सशक्तिकरणमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । हस्तकला उद्योग तुलनात्मक लाभयुक्त क्षेत्र भएको र यसको अधिकतम प्रतिफल सुनिश्चित गर्न सहकार्य आवश्यक रहेको भन्दै दुवै संस्थाले ऐक्यबद्धता व्यक्त गरेका छन् ।

समझदारीपत्रमा हस्तकलाको पुस्तान्तरणमा देखिएको प्रविधि र सीप सम्बन्धी चुनौतीलाई सम्बोधन गर्न दीर्घकालीन साझेदारी गर्ने विषय पनि समेटिएको छ ।

हाल नेपाली हस्तकला क्षेत्रमा प्रत्यक्ष वा परोक्ष रूपमा करीब ११ लाख व्यक्ति संलग्न छन्। ३६ विधा अन्तर्गत ८२ प्रकारका हस्तकला वस्तुहरू उत्पादन हुने यस क्षेत्रमा वार्षिक झन्डै २२ अर्ब रुपैयाँबराबरको निर्यात विश्वका ६० देशहरूमा भइरहेको छ । भित्रिने आन्तरिक कारोबारसमेत जोड्दा हस्तकला क्षेत्रले करिब ४४ अर्ब रुपैयाँ बराबरको आर्थिक योगदान राष्ट्रिय अर्थतन्त्रमा पु¥याइरहेको छ ।