काठमाडौं
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीकी अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८०÷८१ को वित्तीय विवरण स्वीकृत गर्नुका साथै नगद र बोनस शेयरमार्फत १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
सभामा अध्यक्ष सिंहले समिक्षा वर्ष २०८०÷८१ लाई चुनौतीपूर्ण वर्षको रूपमा स्मरण गर्दै कोभिडको दीर्घ प्रभाव, भू–राजनीतिक तनाव, प्रतिकूल मौसम, सहकारी संकट र सम्पत्ति कारोबारको मन्दी जस्ता कारणले देशको समग्र अर्थतन्त्र सुस्त रहेको बताइन् । तर, बाह्य आर्थिक सूचक सकारात्मक रहेकाले केही समयपछि आन्तरिक अर्थतन्त्रमा सुधार आउने अपेक्षा गरिएको उनको भनाइ थियो ।
आर्थिक वर्ष २०८०÷८१ मा कम्पनीले रु. २०४९.१२ करोड बीमा शुल्क संकलन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा २१.९० प्रतिशतले वृद्धि हो । कुल बीमा दायित्व २१.७० प्रतिशतले बढेर रु. ७९६०.१८ करोड पुगेको छ भने बीमितहरूलाई मृत्यु, अवधि समाप्ति, सर्मपण मूल्यलगायत शीर्षकमा कुल रु. ८३२.८२ करोड दावी भुक्तानी गरेको छ ।
कम्पनीको कुल लगानी १७.३५ प्रतिशतले बढेर रु. ७०१५.४६ करोड पुगेको छ । वार्षिक औसत लगानी प्रतिफल दर ९.१७ प्रतिशत कायम रहेको छ । कम्पनीले दीर्घकालीन लगानी रणनीति अपनाउँदै नेपालगन्जस्थित भवन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइसकेको र ईटहरी शाखामा नयाँ व्यावसायिक भवन निर्माण प्रक्रिया अगाडि बढाइएको जानकारी दिइएको छ ।
सभाले रु. ५ अर्ब २१ करोड २१ लाख ३३ हजार ८२ चुक्ता पूँजीमा १०% नगद (रु. ५२.१२ करोड) र ५% बोनस शेयर (रु. २६.०६ करोड) लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । उक्त लाभांशमा लाग्ने कर बापत रु. ४.११ करोड पनि नगद रूपमा प्रदान गरिनेछ ।











प्रतिक्रिया