ओ नेताज्यू ! निजामती होइन, निजामत बिग्रियो

31.49k
Shares

एकजना सन्की टाइपका कवि कविता सुनाउँदै थिए–
ओ नेता !
तिमी म्याद गुज्रेको औषधजस्तो
तिमी अविरल चुहुने लोटाजस्तो
तिमी बरियो छिनेको नाम्लोजस्तो
तिमी भिरमा फालेको भाङ्ग्रोजस्तो
तिमी छारो उडाउने सुख्खा बगरजस्तो
तिमी घ्यारघ्यार मात्र गर्ने थोत्रो ट्रकजस्तो
तिमी झ्यारझ्यार गर्ने बिग्रेको रेडियोजस्तो
तिमी बजारमा नचल्ने फाटेको झुत्रो नोटजस्तो
तिमी जीर्णसीर्ण निकम्मा गोजा फाटेको कोटजस्तो ।

अर्का एकजना पूर्व निजामती कर्मचारी भन्दै थिए, ‘ओ नेताजी ! यहाँ निजामती बिग्रेको होइन, तिम्रो निजामत (नीति, बन्दोबस्त, प्रबन्धन र पद्धति) बिग्रेको हो । यहाँ शिक्षक आफूखुशी बिग्रेको होइन, तपाईंको निजामतले बिगारेको हो । यहाँ अदालत स्वयं बिग्रेको होइन, तपाईंको दलीय र निजी स्वार्थले प्रेरित निजामतले बिगारेको हो । यहाँ सुरक्षा निकाय आफैँ बिग्रेको होइन, तपाईंको अनर्गल र हस्तक्षेपकारी निजामतले बिगारेको हो । यहाँ प्रणाली मन नपरेर आन्दोलन उठेको होइन, तपाईं र तपाईंहरूको कर्मको परिणामस्वरूप उठेको हो ।’
तीव्र छटपटी र वेदनाले रनाहा नपरी कसैले पनि यस्तो आक्रोश व्यक्त गर्दैन ।

ओ नेताज्यू !
जिब्रो नचपाई भन्नुस् त, आज समाजको प्रत्येक तप्कामा अनियमितताको प्रतिस्पर्धा छ कि छैन ? समाजभित्र बहुआयामिक विचलन, अस्थिरता र विपथन छ कि छैन ? समग्र राष्ट्रिय जीवन नै विकृति र विसगतिको मार्गतर्फ उन्मुख भएको हो कि होइन ? तपाईंले गाउँगाउँमा बाटो पु¥याएँ, बिजुली पु¥याएँ, पानी पु¥याएँ, अस्पताल पु¥याएँ भन्नुहुन्छ । हो पु¥याउनुभयो । किन्तु जनता त तपाईंले पु¥याएको सुविधा परित्याग गरेर तपाईंले नै बनाइदिएको बाटो हुँदै पलायन गर्न थाले । तपाईं र तपाईंहरूले युगीन पदचापलाई पटक्कै पहिचान गर्न सक्नुभएन । अनि पहिचान गर्न नसकेको कुरालाई स्वीकार पनि गर्नु भएन । समय तपाईंहरूभन्दा धेरै अगाडि पुगिसक्यो । तपाईं भने तीन दशकदेखि एउटै घोचो समातेर बसिरहनुभयो । यता तपाईंले बूढो साँढेले झैँ स्थान र मान ओगटिरहनुभयो । उता तपाईंको निजामतमाथि भरोसा गर्न नसकेर अनगन्ती बाछाबाछी गोठ छाडेर हिँड्न थाले । विडम्बना ! तपाईं भने दंग पर्दै जम्मा गरेको स्वादिलो दाना उग्राउनमा मस्त हुनुभयो ।

ओ नेताज्यू !
तपाईंको युगमा लज्जा समाप्त भयो । तपाईंको युगमा सम्मान, कदर र शालीनता समाप्त भयो । तपाईं र तपाईंहरूले गुहु र गोबरलाई घालमेल पारेर बराबर बनाउनुभयो । तपाईं र तपाईंहरूका लागि को चोर र को साधु ? सबै बराबर । तपाईंले आफूलाई मन नपरेको चोरलाई ट्याप्प टिपेर च्याकुलच्याइँ पार्नुभयो भने मन परेको अर्को चोरलाई सदाचारको माला पहिराउनुभयो ।

तपाईंको निजामतको जग कमजोर भयो । तपाईंले त्यही कमजोर जगमाथि गरुङ्गो संरचना उठाउन खोज्नुभयो । जमिनमा हाल्नुपर्ने मलजल पात र हाँगामा हालेर आफूमा आफैँ धन्य हुँदै रमाउनुभयो । तपाईंको निजामतमा शरीर सफा गर्न हात र गोडा मात्र धुने चलन चल्यो । शरीर सफा गर्न टाउकोबाट शुरु गर्नुपर्छ, तर तपाईं टाउको पखाल्न डराउनुभयो । तपाईं आफूले पालेका जुम्रा र किर्ना बगेर जान्छन् कि भनेर भयभीत हुनुभयो ।

ओ नेताज्यू !
हुन त तपाईंलाई मेरो यो गन्थनरूपी अरण्यरोदनको बाल मतलब । तैपनि एउटा श्लोक प्रस्तुत गर्छु है ! तपाईं र तपाईंहरूले नहेरे पनि तपाईंको कुनै आठपहरियाले हेरी पो हाल्छ कि ! श्लोक यस्तो छ नेताज्यू–

अपि मेरुसमं प्राज्ञमपि शुरमपि स्थिरम् ।
तृणीकरोति तृष्णैका निमेषेण नरोत्तमम् ।।

अर्थात् तृष्णा या लालच यस्तो शक्ति हो, जसले क्षणभरमै मेरु पर्वतसमान स्थिर, महान् र शूरवीर व्यक्तिलाई समेत घाँसको त्यान्द्रोसमान तुच्छ बनाइदिन्छ ।
लालच कुनै अलौकिक कुरा होइन नेताज्यू । यो मनुष्यको सहज प्रवृत्ति नै हो । यही प्रवृत्तिलाई निराकरण गर्न विकसित देशहरूले असल निजामत (पद्धति निर्माण) को प्रबन्ध गरेका हुन् । पद्धति निर्माण गर्नुको अर्थ मनुष्यको लालची प्रवृत्तिको निराकरण होइन । मनुष्यको सहज प्रवृत्तिको निराकरण त असम्भव छ । असल निजामतको अर्थ हो, लालचलाई व्यवहारमा रूपान्तर हुन नदिने उपाय ।

नेताज्यूको सजिलोका खातिर म यहाँ एउटा उदाहरण दिन चाहन्छु । मानौं, तपाईं गोरु नारेर खेत जोत्दै हुनुहुन्छ । खेतमा गोरुलाई साह्रै मन पर्ने बाली लहलहाइरहेको छ । तपाईंले खेत पनि जोत्नु छ र गोरुको लालची मुखबाट बाली पनि जोगाउनु छ । पद्धति निर्माण गर्न चाहनुहुन्छ भने गोरुलाई मज्जाले अघाउँजी घँस्याएर मात्र नार्नुहुन्छ र अतिरिक्त लोभ गर्नबाट बन्देज लगाउने उद्देश्यले मुखमा महला लगाइदिनुहुन्छ । यदि तपाईं लापरबाही मन पराउनुहुन्छ भने भोको गोरु नारेर जोत्न थाल्नुहुन्छ र बाली खायो भनेर लठ्ठीले पिट्न शुरु गर्नुहुन्छ । पद्धति निर्माण गर्नेतर्फ लाग्नुभएन भने तपाईंले जति नै पिटे पनि गोरुले बाली खान छाड्दैन ।

तपाईंले निर्माण गरेको पद्धतिमा कहिले गोरुले बालीमा मुख लैजाला र लौरो चलाउँला भनेर ढुक्ने परिपाटी छ । नैतिक चेतावनी र सजायको डरले मानिस तह लाग्ने भए त तपाईंलगायत तपाईंले निर्माण गरेको संरचनाभित्रका सबै मानिस तहमा आइहाल्ने थिए । खराब निजामतभित्र असल निजामतीको अपेक्षा नगर्नुहोस् नेताज्यू ! तपाईंले निजामत असल बनाएको भए निजामती पनि स्वतः असल हुने थियो ।

ओ नेताज्यू !
राज्यको मूल स्थान राजनीति नै हो, हैन त ? अनि राज्यरूपी भवनको धुरीखाँबो पनि राजनीति नै हो, हैन त ? राजनीतिले नै देशको संविधानजस्तो मूल नीति निर्माण गरेको हो, हैन त ? राजनीतिरूपी मूल अङ्गले निर्माण गरेको उपाङ्गले व्यक्ति बिगार्न सक्ला, तर पद्धति बिगार्न सक्दैन । परन्तु राजनीतिले त व्यक्ति, समाज र प्रणाली नै बिगार्न सक्छ । कि होइन नेताज्यू ?
यहाँ चिन्ता ‘जेरेन्टोक्रेसी’ हाबी भयो भन्ने होइन । यहाँ चिन्ता शासनसत्तामा वृद्धहरूको आधिपत्य भयो भन्ने पनि होइन । यहाँ यो लेख लेखेर तपाईंहरूमाथि आरिस गरेको पनि होइन । यहाँ चिन्ता पद्धतिको हो । यहाँ चिन्ता राष्ट्रिय समृद्धि, उन्नति र सन्तोषको हो । यहाँ चिन्ता रोजगारी र सत्य आचरणको हो । यहाँ चिन्ता चढ्दो उमेरको पाठो म¥यो भन्ने होइन । यहाँ चिन्ता काल पल्क्यो भन्ने हो । यहाँ चिन्ता राजनीतिमा लागेको सङ्क्रामक रोगको हो । यहाँ चिन्ता युवा नेताहरू पनि तपाईंहरूजस्तै बन्दै गइरहेकोमा हो ।

कर्मचारीतन्त्रलगायत राज्यका सारा संस्थाहरूको साँचो तपाईं र तपाईंहरूले आफ्नै कब्जामा राख्नुभयो । अदालत, प्रहरी र संवैधानिक संस्थाहरूलाई समेत स्वतन्त्र हुन दिनुभएन । तपाईंहरूले संवैधानिक संस्थाहरू कुन सिद्धान्त र दर्शनबाट प्रेरित भएर स्थापना गरिन्छन् भन्ने कुरा बुझ्नै चाहनुभएन । यहाँ बिगार्ने धेरै भए, तर मैले बिगारेको हुँ भनेर स्वीकार गर्ने कोही भएन । चिरकालदेखि बरबादीको मार्गमा चलिरहेको निजामत सुधार्नै नसक्ने गरी बिग्रेको हो नेताज्यू ? हो भने हो भनिदिनुहोस् । कमसेकम सत्य वाणीको एउटा छवि निर्माण गर्नुहोस् ।