तपाईंभित्रै परम सुख छ

846
Shares

यदि कुनै खेतीयोग्य जमिन छ तर हामीले त्यस खेतमा खेती गरेनौँ, मिहिनेत गरेनौँ भने त्यो जमिन बिस्तारै–बिस्तारै बाँझो हुन थाल्छ ।

यदि त्यस जमिनमा राम्रो बीउ रोपेनौँ, पानी लगाएनौँ भने त्यो खेत जसमा पहिला हरियाली हुन्थ्यो त्यहाँ मानिसका लागि काम नलाग्ने झारहरू उम्रिन थाल्छन् । त्यो खेत बिस्तारै–बिस्तारै खेतीका लागि अयोग्य हुन थाल्छ । यस्तै गरेर हामीले पनि जीवनरूपी खेत पाएका छौँ । यस खेतमा हामीले कतिको परिश्रम गरिरहेका छौँ ? यस खेतमा हामीले कुन–कुन बाली लगाएका छौँ ? कुनचाहिँ बाली फलाएका छौँ ? यदि यस खेतमा हामीले मिहिनेत गरेनौँ, पानी हालेनौँ भने यो पनि बिस्तारै–बिस्तारै बाँझो हुँदै जानेछ ।

हामी हाम्रो जीवनरूपी खेतमा प्रत्येक श्वाससँगै केही न केही रोपिरहेका छौँ । चाहे हामीले बीउ रोप्ने कोशिश गरौँ या नगरौँ, बाली त लगाइँदै छ । बाली त उम्रने नै छ । यदि हामीले बीउ नरोपियोस् भन्ने चाहना राख्यौँ भने यो पनि सम्भव छैन । के मात्र सम्भव छ भने, हामी कुनचाहिँ बीउलाई रोप्न चाहन्छौँ र कुनचाहिँ बाली उमार्न चाहन्छौँ । हरेक अनमोल श्वास जुन हामीभित्र आइरहेको छ, यसले हाम्रा लागि जीवन लिएर आउँछ । जसले गर्दा हामी मुस्कुराउन सक्छौँ अनि आनन्दको अनुभूति गर्न सक्छौँ । आज जे जति हामी यस संसारमा गरिरहेका छौँ– जस्तो कि ठूला–ठूला आविष्कार, भौतिक सुख–सुविधाको विस्तार । यी सबै यही श्वासकै कारणले सम्भव भएका हुन् ।

हामी पनि प्रत्येक श्वासका साथ जीवनरूपी खेतमा त्यो बीउलाई रोपौँ, जसलाई फलाएपछि हामीले जीवनमा दुःखी हुनु नपरोस् । हामीले जीवनमा यस कुरालाई राम्ररी स्वीकार ग¥यौँ भने मात्र यो जीवन प्राप्त हुनुको सार्थकता रहन्छ । उठ्नुहोस् ! ब्युँझनुहोस् ! आँखा खोल्नुहोस् ! अनि आफ्नो यस दिनलाई प्रारम्भ गर्नुहोस् । ब्युँझने समय भइसकेको छ । किनभने हामीले आजसम्म जे जति एकदमै राम्रा सपना देखेका छौँ, ‘वास्तविकता’ चाहिँ ती सारा सपनाभन्दा पनि उत्तम छ– ‘यो श्वासको वास्तविकता ।’ यसको कुनै मूल्य छैन । यो अनमोल छ अनि सदैव हामीसँगै छ ।

जुन दिन यो हुनेछैन, हामी पनि रहँदैनौँ । हामी जे छौँ, यही श्वासकै कारणले छौँ । यसमा त्यो आनन्द छ, जसलाई हामी सधैँ पाउन चाहन्छौँ । हामीले अहिलेसम्म जीवनमा सधैँ रहिरहने स्थायी आनन्दलाई त अनुभव नै गरेका छैनौँ । अब हामी आफ्नो जीवनरूपी खेतमा त्यो बीउलाई रोपौँ, जसको फल प्राप्त भएपछि हामी त्यही आनन्दमा रहन सक्छौँ । हामी यो जीवनरूपी खेतलाई बाँझो हुन नदिऊँ । किनभने, बाँझो राख्नुपर्ने आवश्यकता नै छैन । वास्तवमा हामीभित्र त्यो जीवनरूपी खेतलाई हराभरा बनाउने, त्यसबाट आनन्द लिने सम्भावना छ ।

तपाईँ जहाँसुकै हुनुहोस्, जस्तोसुकै अवस्थामा हुनुहोस्, वास्तविक खुशी त तपाईँभित्रै हुन्छ । बाहिर के भइरहेको छ, के भइरहेको छैन– त्यससँग त्यो वास्तविक खुशीलाई केही लिनुदिनु छैन । वास्तविक चीज त तपाईँभित्रै छ । अनि, सबैभन्दा ठूलो कुरा तपाईँ त्यस आनन्दलाई आपैmँसँग लैजान सक्नुहुन्छ । खाली हात त आउनुभएको थियो । खाली हात नै तपाईँले जानुपर्ने पनि हुन्छ तर तपाईँले जीवनको आनन्दलाई साथैमा लिएर जान सक्नुहुन्छ । यो परिस्थितिमा पनि त्यो आनन्द तपाईँभित्रै छ । कुरा के मात्र हो भने, के तपाईँलाई त्यो खानी खन्न आउँछ ? त्यो खेत जोत्न आउँछ ? किनकि, यदि तपाईँले त्यो खेतलाई जोत्नुभयो भने त्यहाँबाट केही न केही त अवश्य उत्पादन हुनेछ । अनि, तपाईँले त्यस चीजलाई प्राप्त गर्नुहुनेछ, जसबाट तपाईँ वास्तवमा सम्पन्न अर्थात् धनी बन्न सक्नुहुनेछ ।

यस संसारमा केही मानिसहरू यस्ता छन्– यदि उनीहरूलाई धनी बन्नु छ भने पैसा नै चाहिन्छ भन्ने सोच्छन् । अनि, केही मानिसहरू यस्ता पनि छन्, जसलाई यदि धनी बन्नु छ भने त्यसका लागि ‘हृदयबाट धनी हुनुपर्छ र हृदयमा आनन्द हुनुपर्छ’ भन्ने कुरा थाहा छ । उनीहरूभित्र रहेको दिव्य चीजसँग उनीहरूले परिचय गर्नुपर्दछ । त्यसलाई उनीहरूले चिनेपछि, त्यसका बारेमा जानेपछि मात्र उनीहरू वास्तविक धनी बन्नेछन् । जो पैसावाला धनी हुन्छन्, तिनले पैसालाई आपूmसँग लिएर जान सक्दैनन् । यद्यपि आनन्दलाई आफ्नो साथमा लिएर जान सक्छन् । यदि तपाईँलाई वास्तविक आनन्द चाहिन्छ भने त्यसका लागि आपूmले आपूmलाई चिन्नुपर्नेछ । आपूmले आपूmलाई पहिचान गर्नुपर्नेछ ।

दुई प्रकृतिका मानिसहरू हुन्छन् । पहिलो त्यो हो, जसलाई थाहा छ– उसले सधँै के बुझ्ने कोशिश गरिरहन्छ भने, ऊभित्र आइरहेको श्वास कति मूल्यवान् छ । दोस्रो त्यो जसभित्र श्वास आइरहेको छ, गइरहेको छ तर त्यससँग उसलाई केही वास्ता हुँदैन । उसले वास्तवमा खोजिरहेको चीज त ऊभित्रै विराजमान छ । यो कुरासँग पनि उसलाई केही मतलब हुँदैन । दुवै व्यक्तिसँग के हुन्छ ? एकदिन पहिलो व्यक्तिले पनि जानुपर्छ अनि एकदिन दोस्रो व्यक्तिले पनि जानुपर्छ । पहिलो त खाली हात अवश्य आएको थियो तर खाली हात जानेछैन । किनभने, उसको हात वास्तविक आनन्दले भरिभराउ छ । अनि अर्को, उसको हात खाली छ । किनभने, उसले त्यस आनन्दलाई स्वीकार नै गरेन ।

धेरै समयअघिको कुरा हो । एकजना राजा थिए । तिनी निकै धनी थिए । एकदिन उनले एउटा सपना देखे । उनले यो देखे– उनी छिमेकी देशसँग युद्ध गरिरहेका थिए । एकदमै ठूलो युद्ध भइरहेको थियो । उनले त्यो युद्धमा सारा राजपाठ, धन सम्पत्ति सबैथोक हार्छन् । त्यसपछि उनले आफ्नो ज्यान बचाउनका लागि त्यो युद्ध मैदानबाट भाग्नुपर्ने भयो । भाग्दा–भाग्दा उनी एउटा जङ्गलमा पुग्छन् ।

पानी परिरहेको हुन्छ । उनलाई भोक पनि लागेको छ । उनी एकदमै थाकेका छन् । उनले आराम गर्नका लागि कुनै पनि ठाउँ भेट्टाइरहेका हुँदैनन् । त्यहाँ यसो खान पाइयोस् भन्ने पनि भएन । अझ अलिकति टाढा हिँड्दै जाँदा उनले एउटा सानो झुप्रोलाई देख्छन् । त्यस छाप्रोमा एउटी वृद्ध महिला बसेकी थिइन् । उनले ती वृद्ध महिलासँग भन्छन्– ‘आमा तपाईँसँग केही खानेकुरा भए दिनुहोस् न !’

वृद्ध महिलाले भन्छिन्, ‘महाराज, मसँग त केही पनि छैन । यो अलिकति दाल र चामल छ । यसको खिचडी बनाएर खानुहोस् ।’
राजाले उनलाई धन्यवाद दिँदै दाल–चामल लिए । त्यसपछि उनले जङ्गलबाट केही दाउरा खोजेर ल्याए । आगो बाल्ने कोशिश गर्न थाले । दाउरा भिजेको थियो । एकदमै कठिनसँग उनले आगो बाले । जसोतसो गरेर खिचडी पकाए । खिचडी पाकेपछि उनले एउटा पातमा त्यसलाई सेलाउन भनेर पस्किए । यत्तिकैमा दुईवटा साँढे जुध्दै–जुध्दै आए अनि त्यो सारा खिचडीलाई माटोमा मिलाइदिए ।

यस घटनापश्चात् राजाको आँखाबाट अश्रु बहन लागे । यत्तिकैमा उनी निद्राबाट बिउँझिए । उनी चारैतिर हेर्छन् । पाले–पहरेहरू उभिइरहेकै छन् । त्यही पलङ, त्यही राजमहल, तिनै सबै चीजहरू छन् । अनि, उनको मनमा शङ्का भयो– साँचो कुराचाहिँ के हो ? जे म देखिरहेको छु, यो सपना हो या जुन मैले केही समयअघि देखिरहेको थिएँ, त्यो सपना हो ? उनले सारा देशवासीलाई आह्वान गरिदिए– ‘जसले मेरो प्रश्नको उत्तर दिन्छ, तिनलाई म सारा राजपाठ सुम्पिदिनेछु । उत्तर दिन भनेर ठूला–ठूला आचार्य, ठूला–ठूला विद्वान्हरू आए । तर, राजा तिनको उत्तरबाट सन्तुष्ट हुन सकेनन् ।

एकदिन एकजना साना बालक दरबारमा आउँछन्, जसको नाम अष्टावक्र थियो । उनका हात–खुट्टा बाङ्गाटिङ्गा थिए । शरीर पनि बाङ्गाटिङ्गो थियो । सबैजना उनलाई देखेर हाँसोमा उडाइरहेका हुन्छन्– ‘यस्तो मानिस ! शरीर नै कुरूप छ । यस्ताले के यो प्रश्नको जवाफ दिन सक्छन् ?’ अचानक उनले राजातिर हेरेर भने, ‘महाराज ! तपाईँले मलाई यस्ता मानिसहरूका बीचमा किन बोलाउनुभएको ? यिनीहरूले मेरो अपाङ्गतालाई देखेरै म कस्तो हुँ भन्ने अनुमान गर्ने मुख्र्याइँ गरिरहेका छन् । यिनीहरूलाई त मेरो बाहिरी शरीरसँगको मात्रै चिनारी छ । तर, मभित्र जे छ त्यसका बारेमा यिनीहरूलाई थाहा छैन ।’

राजालाई महसुस भयो– यिनी पक्कै सामान्य मानिस होइनन् । यिनी कोही विशेष हुनुपर्छ । राजाले उनलाई स्वागत गरेपछि नम्रतापूर्वक उनीसँग सोधे– ‘सन्तजी, मलाई बताउनुहोस्, कुनचाहिँ सपना सत्य हो ? जुन म देखिरहेको थिएँ, के त्यो सत्य हो या जुन म अहिले देखिरहेको छु, यो सत्य हो ?’ त्यसपछि अष्टावक्रले उनलाई जवाफ दिँदै भन्छन्, ‘महाराज ! यी दुवै स्वप्ना हुन् ! जे तपाईँले सपनामा देख्नुभयो, न त त्यो सत्य हो । किनकि, त्यो एउटा सपना थियो । जुन तपाईँ अहिले यी आँखाले देखिरहनुभएको छ, जसलाई तपाईँ वास्तविक मान्नुहुन्छ– न त यो नै सत्य हो । किनभने, यो पनि एउटा सपना नै हो ।

यदि तपाईँले उनलाई चिन्नुभएन भने जति पनि गर्नुभएको छ, त्यो पनि सबै व्यर्थ जानेछ ।’ यो संसारमा सुख–दुःखका पछि सबैजना लागेका छन् । तर, एउटा वास्तविक सुख पनि छ अनि त्यो सुख तपाईँको हृदयमा छ । जबसम्म तपाईँ त्यस सुखलाई बुझ्नुहुन्न, चिन्नुहुन्न, तबसम्म तपाईँको हृदयमा आभार उत्पन्न हुनेछैन । तपाईँको जीवनमा आभार उत्पन्न हुनेछैन । जसरी आउनुभएको थियो त्यसरी नै तपाईँ एकदिन जानुहुनेछ । तर, एउटा सम्भावना छ, तपाईँ आफ्नो जीवनलाई पूरा गर्न सक्नुहुन्छ । त्यस आनन्दलाई प्राप्त गर्न सक्नुहुन्छ । किनभने, तपाईँभित्रै त्यो परमसुख छ । तपाईँले त्यसलाई चिन्नुभएपछि तपाईँको जीवनमा पनि सुख नै सुख प्राप्त हुनेछ ।
(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलन एवं प्रस्तुतीकरण: डा. प्रेमराज ढुङ्गेल )