पाँच वर्षमा ३३ करोडभन्दा बढी हुण्डीको रकम समातियो

सर्वाधिक मधेस र काठमाडाैं उपत्यकाबाट

3.1k
Shares

काठमाडौं ।
नेपालमा पछिल्ला पाँच आर्थिक वर्षमा प्रहरीले अवैध रूपमा हुने हुण्डी कारोबार नियन्त्रणमा ल्याउने अभियानलाई तीव्रता दिँदै आएको छ । प्रहरीको तथ्यांकअनुसार २०७६-२०७७ देखि २०८१-२०८२ को चैत मसान्तसम्ममा ३३ करोड ९ लाख ५१ हजार ४ सय २९ रुपियाँभन्दा बढीको हुण्डी रकम बरामद गरेको छ ।

यो अवधिमा कुल २ सय ६० जना पक्राउ परेका छन् । प्रहरीका अनुसार, देशका विभिन्न नाकाबाट हुण्डीमार्फत अवैध तरिकाले भित्र्याइने रकमसहित ती व्यक्ति पक्राउ परेका हुन् ।

पाँच वर्षको समग्र तथ्यांक

हुण्डी कारोबार नियन्त्रणमा प्रहरीले पछिल्ला वर्षहरूमा उल्लेख्य सक्रियता देखाउँदै आएको छ । आर्थिक वर्ष २०७६-२०७७ मा ३ करोड २५ लाख रुपियाँ बरामद भएको थियो भने चालु आर्थिक वर्ष २०८१-८२ को चैत मसान्तसम्म यो रकम ३ करोड ८८ लाख पुगेको छ । यसबीचको अवधि हेर्दा २०७९-०८० मा सबैभन्दा बढी–९ करोड ७७ लाख ९३ हजार रुपियाँ हुण्डी रकम बरामद गरिएको देखिन्छ ।

त्यस्तै २०७८-२०७९ मा ४ करोड २९ लाख ७० हजार, २०७७-२०७८ मा ५ करोड ६५ लाख ४८ हजार र २०८०-२०८१ मा ६ करोड २२ लाख ९४ हजार रुपियाँ समातिएको प्रहरीको तथ्यांकले देखाउँछ । प्रदेशगत रूपमा हेर्दा मधेस प्रदेश, केद्रीय अनुसन्धान ब्युरो र काठमाडौं उपत्यका प्रहरी कार्यालयअन्तर्गतका क्षेत्रबाट सर्वाधिक रकम समातिएको पाइएको छ । पछिल्लो पाँच वर्षमा काठमाडौं उपत्यका प्रहरी कार्यालय मातहतका कार्यालयबाट मात्रै ९ करोड १९ लाख रुपियाँभन्दा बढी हुण्डी रकम समातिएको छ । मधेस प्रदेशबाट समातिएको रकम १५ करोड ७७ लाख रुपियाँभन्दा बढी पुगेको छ, जुन समग्रमा सबैभन्दा उच्च हो ।

यसबाहेक, कोसी प्रदेशमा पनि खास गरी पछिल्ला वर्षहरूमा बढ्दो सक्रियता देखिएको छ । २०७९÷२०८० मा मात्र ७ करोड १९ लाख रुपियाँ बराबरको हुण्डी रकम कोसी प्रदेशमा समातिएको थियो, जुन हालसम्म एकै आर्थिक वर्षमा एकै प्रदेशबाट समातिएको सबैभन्दा ठूलो रकम हो ।

समातिएका रकम, पक्राउ परेको मानिसको वितरण
आर्थिक वर्ष २०८१-८२
काठमाडौं उपत्यका प्रहरी कार्यालयअन्तर्गत: १ करोड ४९ लाख (२१ जना पक्राउ)
मधेस: १ करोड ४७ लाख (१८ जना)
कोसी प्रदेश:६३ लाख (३ जना)
लुम्बिनी: २८ लाख (४ जना)
आर्थिक वर्ष २०८०-८१
काठमाडौं उपत्यका प्रहरी कार्यालयअन्तर्गत ः ४ करोड ३० लाख (२३ जना)
मधेस: ७३ लाख (१८ जना)
कोसी: १६ लाख (५ जना)
लुम्बिनी: १ करोड १९ लाख (७ जना)
आर्थिक वर्ष २०७९-८०
काठमाडौं उपत्यका प्रहरी कार्यालयअन्तर्गत ः ९५ लाख (७ जना)
मधेस: १ करोड ६२ लाख (२० जना)
कोसी: ७ करोड १९ लाख (२ जना)
आर्थिक वर्ष २०७८-७९
काठमाडाैं उपत्यका प्रहरी कार्यालयअन्तर्गत: २ करोड ५८ लाख (७ जना)
मधेस: १ करोड ७१ करोड (२१ जना)
आर्थिक वर्ष २०७७-७८
काठमाडौं उपत्यका प्रहरी कार्यालयअन्तर्गत: १ करोड ५७ लाख (९ जना)
मधेस: ४ करोड ८२ करोड (४२ जना)
अन्य प्रदेशहरू: बागमती, गण्डकी, कर्णालीमा भने यो अवधिमा कुनै हुण्डी कारोबारी समातिएका छैनन् ।

हुण्डी कारोबारको मूल कारण

हुण्डी प्रणाली विदेशमा रहेका नेपालीहरूले नेपालबाट विदेश पठाउने र विदेशबाट स्वदेशमा रकम पठाउने गैरकानुनी तरिका हो । यसको प्रमुख कारण भनेको बैंकिङ प्रणालीको जटिलता, अधिक कागजी प्रक्रिया, लागत र समय लाग्ने समस्या हुन् ।


यसका सट्टामा हुण्डीमार्फत पैसा पठाउँदा छिटो, सस्तो र सजिलो हुने भएकाले धेरै नेपालीहरुले विदेशबाट स्वदेश र स्वदेशबाट विदेश पठाउन यो माध्यम अपनाउने गरेको प्रहरीले जानकारी दिएको छ । हुण्डी कारोबार बढ्दै गएका कारण राज्यले ठूलो मात्रामा वैदेशिक मुद्रा गुमाइरहेको छ । राष्ट्र बैंकका अनुसार हुण्डीमार्फत भित्रिने रेमिट्यान्स रकमले औपचारिक च्यानलमा आउने रकमलाई विस्थापन गरिरहेको छ ।

हुण्डीमार्फत बरामद भएको रकमलाई प्रहरीले राजस्व फाँटमार्फत सरकारी कोषमा दाखिला गर्ने गरेको छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी रमेश थापाका अनुसार समातिएका रकम मनी लाउन्ड्रिङ, विदेशी विनिमय ऐनलगायतका कानुनअनुसार प्रक्रिया पूरा गरी राज्यको खातामा दाखिला गर्छौं । यस्तो रकम राष्ट्रको सम्पत्ति मानिन्छ ।’

कानुनी प्रक्रिया र कारबाही
हुण्डी कारोबारीलाई प्रहरीले मनी लाउन्ड्रिङ निवारण ऐन २०६४, विदेशी विनिमय ऐन २०१९ र आपराधिक कसुरसम्बन्धी कानुनअनुसार मुद्दा चलाउँदै आएको छ । कानुनअनुसार दोषी ठहरिएका व्यक्तिलाई जरिवाना, कैद वा दुवै सजाय हुन सक्छ । समग्रमा हेर्दा, हुण्डी कारोबार नेपालमा गम्भीर समस्या बन्दै गएको छ ।

यसले राजस्वमा क्षति, विदेशी मुद्रा संकट र आर्थिक पारदर्शितामा अस्थिरता ल्याइरहेको छ । प्रहरीको प्रयास प्रशंसनीय भए पनि यो समस्याको दीर्घकालीन समाधानका लागि आर्थिक नीतिमा सुधार, बैंकिङ पहुँच विस्तार र जनचेतना अभिवृद्धि अनिवार्य देखिन्छ ।