राजश्व छलीराजस्व छली गर्ने १४३ जनाविरुद्ध झण्डै २ अर्बको मुद्दा


–४२ वटा मुद्दा दायर
– भीसीटीएसतर्फ ११ सय ७५ वटा कम्पनीलाई जरिवाना

काठमाडाैं ।

राजस्व अनुसन्धान विभागले विभिन्न बहानामा अवैध व्यापार गरी राजस्व छली गर्नेहरूलाई कानुनी दायरामा ल्याउने क्रमलाई तीव्रता दिँदै आएको छ । विभागले चालू आर्थिक वर्षको वैशाखसम्म राजस्व छली गर्नेहरूका विरुद्ध १ अर्ब ८५ करोड ५३ लाख रुपियाँ बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको हो ।

राजस्व अनुसन्धान विभागका अनुसार सो अवधिमा राजस्व छलीमा १ सय ४३ जनाविरुद्ध अभियोगपत्र दायर गरिएको छ । विभागले पछिल्लो समयमा राजस्व छलीविरुद्ध अभियोगपत्र दायर गर्ने क्रमलाई तीव्रता दिँदै आएको छ । विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरेले राजस्व छली गम्भीर आर्थिक अपराध भएकाले राजस्व छली गर्नेलाई कानुनी दायरामा ल्याउन कुनै कसर बाँकी नराखिने बताउनुभयो ।

विभागले त्यस अवधिमा अनुसन्धानको क्रममा ९२ करोड ८७ लाख ५६ हजार ७ सय ५३ रुपैयाँ धरौटी माग गरेको थियो । सो अवधिमा विभागले भीसीटीएसतर्फ ११ सय ७५ वटा कम्पनीलाई ३ करोड ९५ लाख रुपियाँ जरिबाना गराएको छ । त्यसैगरी राजस्व छली रोक्न गस्ती परिचालनतर्फ १६ सय १८ जनालाई परिचालन गरिएको विभागले जनाएको छ ।

विदेशी विनिमय अपचलनतर्फ ३ अर्ब ६७ करोडको मुद्दा

राजस्व अनुसन्धान विभागले सोही अवधिमा विदेशी विनिमय अपचलनतर्फ ८३ वटा मुद्दा दायर गरेको छ । सो अवधिमा १२० जना प्रतिवादीसँग ३ अर्ब ६७ करोड ३७ लाख विगो रकम माग दाबी गरिएको विभागले जनाएकाे छ।