काठमाडौं ।
काठमाडौं उपत्यका विकास प्राधिकरणअन्तर्गत दिव्येश्वरी जग्गा एकीकरण आयोजनामा काम गर्दै आएका सवइन्जिनियर (सुब्बा स्तर) कुमार पौड्यालले अनियमितता गरी ३ करोड ६३ लाख २१ हजार २ सय सात रुपैयाँ ५० पैसा रुपियाँ आम्दानी गरेको पाइएको छ ।
२०५१ साल वैशाख २९ गते निजामती सेवामा प्रवेश गरेका सवइन्जिनियर पौड्यालले सरकारी जागिरको २९ वर्षको अवधिमा विभिन्न जिम्मेवारीमा रहँदा पदको दुरुपयोग गरी सो सम्पत्ति जोडेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्की जागिर प्रवेश गरेको दिनदेखि २०८० असार ३१ गतेसम्मको अवधिमा कमाएका सम्पतिको छानबिनको क्रममा गैरकानुनी आम्दानी गरी करोडाैं रुपैयाँ कमाएको पाइएको हो ।
पौडयालले सो अवधिमा कुल आय २ करोड ५८ लाख ९७ हजार ३ सय २४ रुपैयाँ र पचहत्तर पैसा रहेको छ । त्यसमा तलबी पारिश्रमिक, बैठक भत्ता, निज तथा निजको परिवारको नाममा रहेको जग्गा बिक्री आय, बिमा परिपक्व आय, लाभांश, ऋण कर्जा आय, ब्याज आय, औषधी उपचार आय, कृषि आय, सञ्चित विदाको आय, निजका छोरा र छोरीको पारिश्रमिक रकमलाई आधारका रूपमा लिइएको छ ।
सो अवधिमा पौड्यालको व्यय ६ करोड २२ लाख १८ हजार ५ सय ३२ रुपैयाँ र २५ पच्चीस पैसा मात्र रहेको छ । व्ययमा निजको घर निर्माण खर्च, जग्गा खरिद, अध्ययन खर्च, पिस ब्याङकुट एण्ड रेस्टुरेन्ट प्रा.लि.मा लगानी, सवारी साधन खरिद, शेयर खरिद, ऋण सापटी भुक्तानी, सुन खरिद, बिमा प्रिमियम भुक्तानी र बैंक मौज्दात रकमलाई आधारका रूपमा लिइएको छ ।
खर्च तथा लगानीबाट वैधानिक आय घटाउँदा ३ करोड ६३ लाख २१ हजार २ सय सात रुपैयाँ पचास पैसा बराबरको खर्च तथा लगानी (सम्पत्ति)को वैधानिक स्रोत नखुलेको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताउनुभयो । पौड्यालले सो कार्य भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र सो कसुरलाई निरन्तरता दिएको प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि भएको पनि अख्तियारले जनाएको छ ।
पौड्यालको स्रोत नखुलेको ३ करोड ६३ लाख २१ हजार २ सय सात रुपैयाँ ५० पैसा बराबर सम्पत्ति बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता पौडेलले बताउनुभयो ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ ले निर्देशन गरे बमोजिम सोही ऐनको दफा ३ तथा दफा २९ को उपदफा (२) प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिमको जरिवाना र कैद हुने तथा गैरकानुनी रूपमा आर्जन गरेको उल्लिखित सम्पत्ति जफत गरी पाउन समेत मागदाबी लिइएको आयोगले जनाएको छ ।
पौड्यालले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती विष्णुमैया पौड्यालको नाममा राखेको पनि आयोगको छानबिनले देखाएको छ । सोबाट बढेबढाएको सम्पत्ति पत्नी पौड्यालको नाममा समेत राखेको देखिएको आयोगले जनाएको छ ।
सम्पत्ति जफत गर्नको लागि श्रीमती पौड्याललाई प्रतिवादी बनाइएको छ । भ्रष्टाचार निवारण ऐन, दफा १६(ग), दफा २९ को उपदफा (१) तथा २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, ४८ को दफा २९ ख बमोजिम जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको आयोगले जनाएको छ ।











प्रतिक्रिया