आईपीओ प्रक्रियामा रहेका ८९ कम्पनीका फाइल नियन्त्रणमा

कमिसनमा करोडाैं रुपियाँ उठाएको बारे अनुसन्धान



काठमाडौंं ।

धितोपत्र बोर्डलाई जलविद्युत् कम्पनीहरूको प्राथमिक सेयर निष्कासन (आईपीओ) प्रक्रियामा कमिसन मागेको आरोप लागिरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको छ ।

बुधबार बोर्डको कार्यालयमा छापा मार्दै अख्तियारले आईपीओ प्रक्रियामा रहेका ८९ कम्पनीका फाइलहरू नियन्त्रणमा लिएको छ । अख्तियारका अनुसन्धान अधिकारीहरू बुधबार दिउँसो खुमलटारस्थित बोर्ड कार्यालय पुगेका थिए । स्रोतका अनुसार, आईपीओ निष्कासन प्रक्रियामा रहेका ८९ कम्पनीका सबै फाइल अख्तियारले नियन्त्रणमा लिएको हो ।

यद्यपि, बोर्डका अधिकारीहरूले भने फाइल अध्ययनमात्रै गरेको बताएका छन् ।उक्त फाइलमा जलविद्युत् समूहका ४३ कम्पनीको १९ अर्ब ४४ करोड रुपियाँ बराबरको १९ करोड ३ लाख कित्ता सेयर पनि समेटिएको छ । धितोपत्र बोर्डमा ५० करोड रुपियाँभन्दा कम चुक्ता पुँजी भएका कम्पनीसँग ७ प्रतिशत र ५० करोडभन्दा बढी पुँजी भएकासँग ७ प्रतिशतभन्दा बढी कमिसन माग गरिएको आरोप लगाइएको छ ।

इप्पानका पदाधिकारीहरूले धितोपत्र बोर्डले आईपीओ अनुमति प्रक्रियामा आर्थिक चलखेल गरेको आरोप लगाएका थिए । इप्पानको आरोपबारे संसद्मा समेत छलफल भएको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संसद्मा बोर्डविरुद्ध छानबिनको माग गरेको थियो ।

धितोपत्र बोर्डमा ८९ कम्पनीका ५६ अर्ब ७ करोड रुपियाँ बराबरका ४० करोड ४७ लाख कित्ता सेयरको आईपीओ अनुमति प्रक्रियामा रहेको छ । बुधबारको छापासँगै उक्त प्रक्रियामा रहेका फाइलहरू अख्तियारको नियन्त्रणमा पुगेका छन् । अख्तियारको छानबिन प्रक्रिया प्रारम्भ भएसँगै आईपीओ निष्कासन प्रक्रियामा ढिलाइ हुने अनुमान गरिएको छ ।