काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले लगानी प्रवद्र्धनका लागि आगामी १० वर्षलाई ‘लगानी दशक’ घोषणा गर्न तथा एकीकृत लगानी संहिता लागू गर्न सरकारलाई आग्रह गर्नुभएको छ।
विराटनगरमा आयोजित कोशी प्रदेश लगानी सम्मेलन–२०८२ को उद्घाटनमा बोल्दै उहाँले लगानीसम्बन्धी कानुनहरू वन, वातावरण र भूमिसँग सम्बन्धित विषयमा एकीकृत गर्नुपर्ने र फरक व्याख्याको अन्त्य हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।
अध्यक्ष ढकालले नीतिगत स्थायित्व, सहज लगानी प्रक्रियाको प्रवर्तन, र विभिन्न निकायहरूलाई एकीकृत गरेर अधिकारसम्पन्न लगानी सहजीकरण निकाय गठनको आवश्यकता औंल्याउनुभयो।
नागरिक एपबाट व्यवसाय दर्ता, कर बुझाएको आधारमा स्वतः नविकरण, र विदेशी लगानी प्रक्रियालाई अनलाइनमार्फत सहज बनाउनुपर्ने सुझाव पनि दिनुभयो। कोशी प्रदेशमा पर्यटन, कृषि, ऊर्जा, पूर्वाधार लगायत क्षेत्रमा लगानी सम्भावना रहेको उल्लेख गर्दै उहाँले प्रस्तुति हुने परियोजनाको स्पष्टता जरुरी रहेको बताए।
पूर्वाधार विकासका लागि महासंघकै पहलमा १० अर्ब पुँजीसहितको पब्लिक लिमिटेड कम्पनी स्थापना भइसकेको जानकारी दिँदै, सुशासनको विषयमा सरकारसँग सहकार्य गर्न निजी क्षेत्र तयार रहेको पनि उहाँले प्रस्ट पार्नुभयो।











प्रतिक्रिया