नेपालीको उत्पादन जत्तिकै खर्च

1.13k
Shares

काठमाडौं ।

नेपालीले आर्जन गरे जति नै खर्च गर्ने गरेको तथ्यांकले देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय लेखा अनुमान अनुसार, नेपालीले आम्दानीको करिब ९४ प्रतिशत खर्च हुने गरेको छ ।

कार्यालयले आर्थिक वर्ष २०८१-८२ मा नेपालले कुल गार्हस्थ उत्पादन (जीडीपी) ६१ खर्ब ७ अर्ब रुपियाँ हुने जनाएको छ । तर, ९३.४५ प्रतिशत, अर्थात् ५७ खर्ब ५७ अर्ब रुपियाँ नेपालीले उपभोगमा खर्च गर्ने कार्यालयको तथ्यांक छ । गत आर्थिक वर्षमा ९३.७८ प्रतिशत खर्च भएको थियो । अर्थात्, नेपालीहरूले १ रुपियाँको उत्पादन गरे भने करिब ९४ रुपियाँको उपभोगमा खर्च गरिरहेका छन् । खर्च गरेर बाँकी रहेको रकम बचत वा लगानीका लागि थोरै मात्र हो ।

उल्लिखत तथ्यांकले नेपाल उपभोग केन्द्रित अर्थतन्त्रमा फसेको संकेत गर्दछ । यो अवस्था दीर्घकालीन रूपमा दिगो पनि हुँदैन । यही अवस्थाका कारण जीडीपीको ३६.२४ प्रतिशत अर्थात् २२ खर्ब १८ अर्ब रुपियाँ राष्ट्रिय बचत भएको देखिन्छ । तर, उक्त बचतको मूल आधार वैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्स हो, जुन २०८१-८२ मा १५ खर्ब ८० अर्ब पुगेको छ । जुन जीडीपीको २५.८९ प्रतिशत हो । यति ठूलो उपभोग खर्चका बीच कुल स्थिर पूँजी जीडीपीको २४.०७ प्रतिशत अर्थात् १४ खर्ब ७० अर्ब मात्र स्थिर पुँजी निर्माणमा लगानी भएको छ । यसले उत्पादनशील क्षेत्रहरूमा लगानीको अभाव र दीर्घकालीन समृद्धिको अपर्याप्त आधारलाई देखाउँछ ।

अर्कोतर्फ, वस्तु तथा सेवाको निर्यात जीडीपीको ८.७४ प्रतिशत अर्थात् सीमित रहँदा, आयात भने झनै बढेर ३३.२३ प्रतिशतमा पुग्ने छ । आयात निर्यातभन्दा झन्डै चार गुणा बढी हुनुले व्यापार घाटा र विदेशी मुद्रा सञ्चिति दुवैमा दबाब बढाउने छ । यद्यपि, अघिल्ला आर्थिक वर्षको तुलनामा आयात निर्यातमा झिनो सुधार भएको देखिन्छ ।

त्यस्तै उत्पादनको स्तरमा पनि केही सुधार देखिएको छ । हाल ९२ खर्ब ४६ अर्ब ५५ करोड रुपियाँबराबरको वस्तु तथा सेवा उत्पादन भएको छ । अघिल्लो वर्षमा यो रकम ८७ खर्ब ८० अर्ब ७७ करोड रुपियाँ मात्रै थियो । साथै आव २०७९-८० मा ८२ खर्ब १४ अर्ब ५० करोड रुपियाँबराबार रहेको थियो ।

उत्पादनसँगै मध्यवर्ती उपभोग पनि ३८ खर्ब ६६ अर्ब ९६ करोड रुपियाँ पुगेको तथ्यांक छ, जुन उत्पादन प्रक्रिया विस्तार भइसकेको संकेत हो । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १ खर्बभन्दा बढी हो । आर्थिक वर्ष २०८०÷८१ मा मध्यवर्ती उपभोग ३७ खर्ब २७ अर्ब ३६ करोड रुपियाँ र आर्थिक वर्ष २०८-८१ मा ३४ खर्ब ५७ अर्ब ११ करोड रुपियाँ थियो ।

प्रतिव्यक्ति आयको हिसाबले हेर्दा पनि नेपालको प्रगति सीमित देखिन्छ । हाल प्रतिव्यक्ति जीडीपी १ हजार ४९६ अमेरिकी डलर पुगेको छ भने प्रतिव्यक्ति राष्ट्रिय आम्दानी १ हजार ५१७ अमेरिकी डलरमा सीमित रहेको छ । दक्षिण एसियाली देशको औसतसँग तुलना गर्दा नेपाल अझै पनि तलको तहमा छ । यस तथ्यांकले बढ्दो उपभोग, उच्च आयात, रेमिट्यान्समा निर्भर बचत र न्यून लगानी दीर्घकालीन आर्थिक स्थायित्वको दृष्टिले कमजोर संरचना हो ।

बढ्दो शहरीकरण, सेवा क्षेत्रमा विस्तार, वित्तीय पहुँच र सञ्चार प्रविधिको विकासजस्ता पक्षले समग्र अर्थतन्त्रमा गति दिएको भए तापनि उत्पादनशील क्षेत्रहरू निर्माण, उद्योग, ऊर्जामा लगानीको तुलनात्मक कमीले आर्थिक वृद्धिको गुणस्तरमा प्रश्नचिन्ह खडा गरेको छ । अर्थशास्त्रीहरूल नेपालमो उत्पादनमुखी लगानी, स्वदेशमै रोजगारी सिर्जना, औद्योगिकीकरण, पूर्वाधार विकास र निर्यात प्रवद्र्धनलाई प्राथमिकतामा राख्नुपर्ने जोड दिएका छन् ।