काठमाडौं ।
प्रेस काउन्सिल नेपालले यही जेठ २ गतेदेखि ४ गतेसम्म हुन गइरहेको सगरमाथा संवादलाई राष्ट्रिय गौरवको विषय बनाएर सोहीअनुसार रिपोर्टिङ गर्न सम्पूर्ण सञ्चार माध्यम र सञ्चारकर्मीलाई आग्रह गरेको छ ।
काउन्सिलले जलवायु परिवर्तनका विषयमा नेपालजस्ता पर्वतीय र तटीय मुलुकले झेल्नुपरेका समस्या विश्व समुदायसमक्ष प्रस्तुत हुने र विश्वमञ्चमा नेपालको ख्याति बढ्ने तथा यस्ता एजेन्डामा नेपालले नेतृत्वदायी भूमिका स्थापित गर्न सक्ने भएकाले सगरमाथा संवादलाई मुख्य प्राथमिकता दिएर रिपोर्टिङ गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।
सगरमाथा संवादलाई अन्तर्राष्ट्रिय स्तरमा समेत चासोको विषय बनाउन सञ्चार माध्यमको भूमिकालाई प्रभावकारी कसरी बनाउने भन्नेबारे बुधबार काउन्सिलले सम्बद्ध पत्रकारसँग सुझाव लिँदै अबको १५ दिन सञ्चारकर्मीको मुख्य जिम्मेवारी सगरमाथा संवादमा केन्द्रित हुनुपर्ने आवश्यकता आँैल्याएको छ ।
विश्वमा नै जलवायु परिवर्तनबाट परेको प्रभाव असर कारण र मानवजातिको भूमिकाबारे नेपालले यही जेठ २ गते देखि ४ गते सम्म अन्तर्राष्ट्रिय स्तरको सगरमाथा संवाद कार्यक्रम गर्न लागेको हो । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारले सम्प्रेषण गर्ने विषयवस्तु प्रभावकारी हुनसके नेपालको प्रयास सफल हुने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष बस्नेतले वातावरण तथा जलवायुका क्षेत्रमा कलम चलाइरहेका पत्रकारहरूबाट सुझाव संकलन गरी सरकारलाई सगरमाथा संवाद कार्यक्रम विश्वव्यापी बनाउन चाल्नुपर्ने कदमबारे रणनैतिक सुझाव दिइने बताउनुभयो ।
‘जलवायु परिवर्तनका विषयमा सरकार, सञ्चार माध्यम र पत्रकारलाई एक ठाउँमा राखेर काम गर्न काउन्सिलले पुलको काम गर्छ’– उहाँले भन्नुभयो, ‘नेपालका हिमालयदेखि समुन्द्री सतहसम्मका समस्या नेपालका मात्र नभई विश्वकै हुन् यी विषय सगरमाथा संवादमा उठ्नुपर्छ ।’ वन तथा वातावरण मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले कार्यक्रममा उठेका विषय र आएका सुझावलाई तत्काल सगरमाथा संवाद सचिवालयमा राखी अगाडि बढिने बताउनुभयो । सचिव मिश्रले सगरमाथा संवाद नेपाललाई विश्व मानचित्रमा चिनाउने अवसर भएको भन्दै यससम्बन्धी विषयहरू श्रृंखलाबद्ध रूपमा सम्प्रेषण गरिदिन पत्रकार तथा सञ्चार माध्यमलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा सञ्चारकर्मीहरूले विभिन्न सुझाव प्रस्तुत गरेका थिए । सगरमाथा संवादलाई सफल बनाउन सबै सञ्चार माध्यमले सगरमाथा संवादसम्बन्धी समाचार नीति बनाएर अघि बढ्नुपर्ने आवश्यकता आँैल्याएका थिए । साथै जलवायु क्षेत्रमा कार्यरत पत्रकारहरू कमलदेव भट्टराई, रमेश भुसाल र श्रीराम सुवेदीले कार्यपत्र प्रस्तुत गर्दै नेपाली सञ्चार माध्यमले घटनाप्रधान विषयवस्तु प्रधान जानकारी आम मानिससमक्ष पु¥याउन सक्नुपर्ने बताउनुभयो । सरकारले अन्तर्राष्ट्रिय सञ्चार माध्यम र पत्रकारलाई समेत समेटेर सगरमाथा संवादको विषयलाई अन्तर्राष्ट्रिय स्तरसम्म प्रभावकारी रूपमा लैजान सक्ने सुझाव उहाँहरूको थियो ।











प्रतिक्रिया