काठमाडौं ।
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै सामाजिक सञ्जालमार्फत विज्ञापन गरी ठगी गर्नेको संख्या बढ्दै गरेको पाइएको छ ।
वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार सामाजिक सञ्जालमार्फत आकर्षक तलवको आश्वासन देखाई विदेश पठाइदिन्छु भन्दै साउन १ गते देखि वैशाख १६ गतेसम्म ४ हजार ९९ जना व्यक्ति उपर उजुरी परेको छ ।
विभागका अनुसार उजुरी पर्नेमा आकर्षक विज्ञापन, पोस्टहरुको प्रयोग, तलब, आवास, खाना, टिकटजस्ता सुविधाहरू “फ्रि” भनी श्रमिकलाई झुक्याइ ठगी हुने गरेको जनाएको छ ।
नकली कामको प्रस्तावपत्र, भिसा, र कम्पनीको लोगोसहितका फोटोहरू पोस्ट गर्ने, सफलताका झुटा उदाहरण सामाजिक सञ्जालमा पोस्ट गर्ने जसमा १५ दिनमै अफर लेटर पाए भन्ने व्यक्तिको भनाइ राख्ने, नक्कली आईडी वा पेजहरू बनाउने, नक्कली म्यानपावर कम्पनीको लोगो वा सरकारी मुहर देखाउने, व्यक्तिगत सम्पर्कमा ल्याउने प्रयास गर्ने, मेसेन्जरमार्फत सम्पर्क गर्न भन्ने, छिटो प्रक्रिया र सस्तो शुल्कको झूटा वाचा कम पैसा लाग्ने आदि प्रलोभन दिई वैदेशिक रोजगारमा जान चाहने व्यक्तिलाई ठग्ने गरेको विभागको कानुनी सहजकर्ता तथा शाखा अधिकृत रोजी तुल्सिबाख्योले बताउनुभयो ।
ठगी गरेको आरोपमा दुई जना पक्राउ
बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं बस्ने ५६ वर्षीय सुजनकुमार उप्रेती र धादिङ घर भई चन्द्रागिरि बस्ने २९ वर्षीय उमेश गुरुङ रहेका छन् ।
उप्रेतीले माल्टा लैजाने भन्दै पीडितबाट २४ लाख रुपियाँ पैसा लिएर लामो समयसम्म झुक्क्याएर राखेको र गुरुङले युएई पठाइदिन्छु भन्दै छ लाख रुपियाँ लिएर नपठाएको भनेर पीडितले दिएको जाहेरीअनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटेको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।











प्रतिक्रिया