शिक्षक आन्दोलनले दिएको शिक्षा

282
Shares

यति बेला सामाजिक सञ्जालमा शिक्षक आन्दोलनले व्यापकरुपमा चर्चा पाएको छ । यो चर्चासँगै अर्को चर्चाले पनि व्यापकता पाउने (भाइरल हुने) मौका पाएको छ ।

त्यो हो, गुरुमाको सारी गुरुहरुले लगाएर आन्दोलनमा सरिक हुनु । सामाजिक सञ्जालमा व्यापक प्रचारप्रसार भइरहेको गुरुमाको सारी लगाएर गुरुहरुले नाचेको दृश्य अहिले आन्दोलनरत शिक्षकहरुका बीचमा मात्र होइन विद्यार्थी, अभिभावक र आम जनताका बीचमा पनि निकै चर्चा र चासोको विषय बनेको छ ।

यस्तो गर्नुको बाध्यकारी अवस्था राज्यले नै बनाएको हो । गुरुहरुले बाहिरी लिङ्ग परिवर्तनको संकेत गरेर आन्दोलनका समयमा यसरी सडकमा नाचगान गर्नुको बाध्यताका बारेमा भन्नुपर्दा जसरी पनि शिक्षकहरुको जायज मागलाई सरकारले सम्बोधन गर्नु हो । सरकारले गुरुहरुको आन्दोलनलाई गम्भीररुपमा लिएको छैन ।

त्यसैले सरकारले शिक्षकहरुको आन्दोलनलाई गम्भीर रुपले लिएर समाधानतर्फ अग्रसर हुन व्यङ्ग्यात्मक रुपले प्रदर्शनमा उत्रनुपरेको हुन सक्छ । पुरुष शिक्षकका कुरा वा गुरुहरुको कुरा नसुनेर सरकारले गुरुमाहरुको कुरा सुन्छ कि भनेर सारी लगाएर नाचेको हो कि भन्ने बडेमानको अनुमान हनुमान बनेर अर्को अनुमान गर्न सकिन्छ ।

गुरुहरुको सारी लगाएर गरिएको आन्दोलनभित्रको यो भाइरल नाचले सबै गुरुहरुलाई सडकमा नचाएको छ । नाचले माग पूरा हुने आशाले भन्दा पनि सरकारलाई सडकको तागत र शक्ति देखाएको छ, माग सम्बोधन गर्न दबाब सृजना गरेको छ । यो आन्दोलनले कवि, गीतकार, सङ्गीतकार, नृत्यकार, जादुगर, निबन्धकार, कलाकारलगायतका सबै खाले प्रतिभाहरुलाई जन्माएको छ र सम्बन्धित क्षेत्रमा स्थापित गराउन सहयोग पनि गरेको छ ।

शिक्षकहरुले सडकमा देखाएको आफ्नो कला र आन्दोलन गर्ने तरिका, कलाका बारेमा शिक्षकभित्रको प्रतिभाले शिक्षक हुनुको परिचय दिएको छ । त्यो प्रतिभा शिक्षकभित्र रहेको शक्ति र तागत पनि हो । जुन शक्ति र तागतले शिक्षामन्त्रीको राजीनामा आएको छ । सरकारको गलत नीति र संस्कारको विरोध गर्दै, सकारात्मक सोच राखेर शिक्षकहरुको आन्दोलनले उचाइमा पुग्ने मौका पाएको छ । शिक्षकहरुले माग गरेका विषयवस्तुको सम्बोधन गर्नु आजको आवश्यकता भए पनि सरकारले सकारात्मक सोच राखेर आन्दोलनलाई सम्बोधन गर्ने विचार नै त्यागेको स्पष्ट छ ।

सरकारले जुटाइदिएको साधन–स्रोतमा र नियम–कानुनलाई आधार मानेर शिक्षकले कार्यान्वयनको बाटोमा जाने हो । तर शैक्षिक स्तर वृद्धि गर्न, राज्यको नीतिअनुसार शिक्षाको स्तरोन्नति गर्न, शिक्षा क्षेत्रको समग्र विकासमा आवश्यक पर्ने नियम–कानुन दिन सरकारले सकेको छैन । नियम–कानुन दिन नसक्ने सरकारले शिक्षाको विकास गर्छ भनेर आशा गर्न सकिन्छ जस्तो लाग्दैन । शिक्षकहरुले त्यही नियम–कानुन बनाइदेऊ, हामी कार्यान्वयन गर्छौं भनेर माग गरेका हुन् तर सरकारले आफू बहिरो भएको प्रमाण देखायो ।

सरकारमा बस्ने प्रधानमन्त्रीदेखि मन्त्री, माननीय सभामुखलगायतका सबै पदाधिकारीलाई शिक्षकले नै पढाएका हुन् । प्रारम्भिक शिक्षा स्कुलबाट नै शुरु गरेर क्याम्पस विश्वविद्यालयसम्म पुग्न सकेका हुन् माननीयहरु । निवर्तमान शिक्षामन्त्री कलेज पढाउने गुरुमा भएकाले अवश्य पनि शिक्षकहरुको मागप्रति सकारात्मकरुपमा उभिनुभएको थियो । तर राज्यले वा भनौं सरकारले उहाँको कुरा सुन्न सकेन । मन्त्री भनेको जनताको प्रतिनिधि हो र मन्त्रीले जनताका कामकुरालाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ । यो कुरा प्रधानमन्त्रीदेखि मन्त्रीसम्मका र प्रतिनिधिसभा वा राष्ट्रियसभाका माननीय सबैले बुझ्नुपर्दछ कि हामी जनताका प्रतिनिधि हौँ । हामीले जनताका लागि कानुन बनाउनुपर्दछ ।

त्यो कानुनमध्ये एक शैक्षिक कानुन पनि हो भन्ने बुझ्नुपर्दछ । आजका मात्र होइन, हिजोअस्तीका वा धेरै समयअघिका प्रधानमन्त्री, मन्त्री, प्रधानन्यायाधीश, सभामुख, उपसभामुखलगायतका सबैलाई शिक्षकले नै पढाएका हुन् । कुनै पनि संवैधानिक निकायमा प्रमुख वा सदस्य पदाधिकारी, कलेजका प्राध्यापक वा विद्यालयका शिक्षक सबैलाई शिक्षकले नै पढाएर आजको अवस्थामा ल्याएका हुन् भन्दा फरक पर्दैन । शिक्षकले हिजो गरेको योगदानस्वरुप आजको नेता हो । शिक्षामन्त्री, प्रधानमन्त्री सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, विषयगत समितिका सभापतिहरु सबै–सबै शिक्षकहरुले नै उत्पादन गरेका फसलहरु हन् ।

देशमा यस्तो राम्रो फसल उत्पादन गर्न सक्षम शिक्षकहरुलाई वैशाखको तातो घाममा सडकमा आन्दोलन गर्न बाध्य पार्नु अवश्य पनि सरकारका लागि हितकर होइन । त्यो पनि गुरुमाको सारी लगाएर तातो सडकमा लामो समयसम्म आन्दोलनमा उत्रनु भनेको चानचुने कुरा होइन । अब शिक्षकहरुले आजसम्म गरेको शान्तिपूर्ण आन्दोलनले सबैतिरबाट सहानुभूति पाएको छ । बौद्धिक क्षेत्रको, प्राज्ञिक तहको यो आन्दोलन धेरै संयमता अपनाएर सौहाद्र्रताका साथ भद्ररुपले भइरहेको नकार्न सकिन्न । देशमा हुने सबै खाले आन्दोेलनलाई शिक्षकहरुको आन्दोलनले ठूलो शिक्षा पनि दिएको छ ।

शिक्षक आन्दोलनकै वरपर रहेर दलगतरुपमा भएका आन्दोलनका नेतृत्वकारीले शिक्षक आन्दोलनबाट शिक्षा लिनुपर्दछ । यो आन्दोलन देशका गुरुहरुको आन्दोलन भएकोले पनि अरु आन्दोलनकारीहरुले यसबाट शिक्षा लिएर आन्दोलन गर्नु लाभदायक हुने देखिन्छ ।