मधेस प्रदेश सामाजिक विकास मन्त्रालयमा ५० करोड बढी भ्रष्टाचार

तत्कालीन सचिव श्रेष्ठसहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेश सामाजिक विकास मन्त्रालयमा जनस्वास्थ्य प्रयोगशाला स्थापनाका लागि भएका विभिन्न चार खरिद सम्झौतामा ५० करोड बढी भ्रष्टाचार भएको पाइएपछि मुद्दा दायर गरेको छ ।

अख्तियारले सो भ्रष्टाचार प्रकरणमा मन्त्रालयका तत्कालीन सचिव इमनारायण श्रेष्ठ, तत्कालीन निर्देशक श्रवणकुमार मिश्र र हस्पिटेक इन्टरप्राइजेज प्रालिका सञ्चालक विशाल पण्डितसमेत १५ जनाविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

मन्त्रालयले विभिन्न ७२ वटा पालिकामा जनस्वास्थ्य प्रयोगशाला स्थापनाको लागि भएका खरिद सम्झौतामध्ये कन्ट्याक्ट नम्बर पीपीएचएल, जी अब्लिक एनसीबी ….२०७९÷८० को ठेक्का सार्वजनिक खरिद ऐन २०६३ विपरीत भएको २१ करोड ८९ लाख ३९ हजार ७ सय ६० रुपियाँ तथा अन्य विभिन्न केसमा ३० करोड गरी ५० करोड बढी अनियमितता गरेको ठहरसहित अख्तियारले १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

भ्रष्टाचार मुद्दा दायर भएकामा जनस्वास्थ्य प्रयोगशालाका वरिष्ठ ल्याब टेक्निसियन गुणानन्द प्रसाद शाह, ल्याब टेक्नोलोजिस्ट मनमोहन मिश्रलगायत छन् ।