काठमाडौं ।
प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सधैँजसो सरकार ढल्ने हल्ला फैलाउँदै अस्थिरताको बिज रोप्ने प्रयासमा लाग्दै आउनुभएको छ ।
प्रचण्डले हल्ला फिँजाएअनुसार सरकार फेरबदल भइरहने हो भने देश पुनः राजनीतिक अस्थिरताको दलदलमा फस्ने सम्भावना रहन्छ । यद्यपि, नेपालको राजनीति सोझो रेखामा नगई वांगोटिंगो रेखामा गइरहेकाले प्रमुख प्रतिपक्षी दलको नेताले राजनीतिक स्वार्थको रोटी सेक्न सरकार ढल्नै लाग्यो भनेर हल्ला फिँजाउनु भने स्वाभाविक हुँदै गएको छ ।
झण्डै दुई तिहाईनजिक रहेको कांग्रेस एमालेको सरकार ढलेमा अस्थिर सरकार बन्ने र त्यो सरकार फेरि जुनसुकै बेला पनि ढल्ने अवस्था हँुदाहुँदै प्रचण्ड त्यस्तै अस्थिर सरकार बनाउने खेलमा मरिहत्ते गरेर लागिरहनुभएको छ । उहाँले खुलेआम कांग्रेस सभापति शेरबहादुर देउवालाई तत्काल प्रधानमन्त्री बनाउने बताउँदै आए पनि देउवाले उहाँलाई विश्वास नगर्दा र अस्थिरता हुन सक्ने आँकलन गर्दै प्रचण्डको प्रस्तावलाई पूर्ण रूपमा बेवास्ता गर्दै आइरहनुभएको छ ।
तर, प्रचण्डको रातदिनको समय नै देउवालाई मनाएर ओलीलाई सरकारबाट बहिर्गमन गरी कसरी अस्थिर सरकार बनाउन सकिन्छ भन्नेमा बित्ने गरेको पाइएको छ । प्रचण्डले देउवा केही दिनअघि उपचारका लागि थाइल्याड जाने क्रममा उहासँग टेलिफोनमा कुरा भएको र देउवा फर्केर आएलगत्तै सरकार ढाल्ने विषयमा उहाँसँग कुराकानी हुने अभिव्यक्ति दिनुभएको थियो ।
तर, देउवा गत शुक्रवार नेपाल फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरकार ठिकठाक रहेको र अहिले सरकारको कुुनै विकल्प नसोचिएको स्पष्ट पारेपछि प्रचण्डले सरकार ढल्ने भनेर फैलाएको हल्लामा कुनै सत्यता नभएको प्रष्ट भएको छ । देउवासँगै फर्कनुभएकी परराष्ट्रमन्त्री आरजु रणााले त सरकार ढल्ने हल्ला कसैले मनोरञ्जनको लागि मात्रै फैलाएको भन्दै व्यङ्गय गर्नुभयो । केही दिनदेखि सरकार ढल्ने हल्ला फिँजाइएपछि ओली र शेरबहादुरबीच कुराकानी भइरहेको परराष्ट्रमन्त्री राणाले जानकारी दिनुभयो ।
सत्तामा रहँदा असन्तुष्ट जनताको चर्को आलोचना खेप्नुपरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ताबाट टाढा रहँदा पुनः सरकार ढालेर सके आफैं प्रधानमन्त्री बन्ने तथा नसके पार्टीलाई सरकारमा पठाउने योजनामा लागिरहने गर्नुहुन्छ । सत्ताबिना माओवादी बाहिर बस्नै नसक्ने प्रवृत्ति उहाँले देखाउँदै आउनुभएको छ । विगतका सरकारहरूको स्थायित्व भत्काउने अभ्यासमा संलग्न देखिएका प्रचण्ड फेरि एकपटक पुरानै रणनीतिमा फर्कन थाल्नुभएको छ । तर, उहाँका यी सबै योजना असफल हुँदै आएका छन् ।
कांग्रेस नेताहरू पनि कांग्रेसभित्र सरकारले आफ्नो काममा परिवर्तन ल्याउनुपर्ने विषय उठे पनि सरकार ढाल्ने विषय कसैले पनि नउठाएको बताउँछन् । २०६२÷६३ को आन्दोलनपछि स्थापित प्रचण्ड नेतृत्वको माओवादी शक्ति सत्ताको लतबाट कहिल्यै उम्किन सकेन । २०६४ को संविधानसभा निर्वाचनमा २२० सिट जितेर पहिलो दल बनेको माओवादी २०७९ सम्म आइपुग्दा ३२ सिटमा झरेको तथ्यले जनताको समर्थन कति घटेको छ भन्ने स्पष्ट देखिन्छ ।
यतिमात्रै होइन, २०७४ मा एमालेसँग एकीकृत भई ५८ सिट ल्याएको पार्टी अहिले वैचारिक दिशाहीनता, नेताबीचको टकराव र सत्ताको चरम मोहले कमजोर बन्दै गएको छ । यस्तो कमजोरीको अवस्था ढाक्न माओवादीले अहिले विभिन्न जिल्लामा पदयात्रा गर्दै जनताको नजिक रहेको भ्रम दिइरहेको विश्लेषकको विश्लेषण छ । माओवादी केन्द्रले आरजु प्रकरणमा दोहोरो भूमिका निर्वाह गरिरहेको देखिन्छ ।
यसअघि प्रचण्डले नेतृत्व गरेको सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको भन्दै कांग्रेस नेतृ डा. आरजु राणा देउवामाथि कारबाही हुने हल्ला फिँजाएको थियो । त्यति बेला आरजु पक्राउ पर्ने सम्भावनाको हल्ला तीव्र थियो । यसै प्रकरणलाई लिएर कांग्रेस र एमाले मिलेर सरकार ढालेको आरोपसमेत प्रचण्डले लगाउन भ्याउनुभएको थियो ।
तर, अहिले प्रचण्डकै तर्फबाट आरजुकै पति शेरबहादुर देउवालाई बारम्बार प्रधानमन्त्री बन्न प्रस्ताव गर्नुले विगतको दाबीमाथि प्रश्नचिह्न खडा भएको छ र उहाँको दाबी जनतालाई भ्रम छर्ने सिवाय अरू केही नभएको पुष्टि भएको छ ।
राजनीतिक विश्लेषकहरू भन्छन्– ‘यदि, आरजुमाथि त्यति बेला साँच्चै अनुसन्धान हुँदै थियो भने अहिले देउवालाई अगाडि सार्नु प्रचण्डकै विश्वसनीयतामाथि गम्भीर प्रश्न हो र त्यो जनतालाई दिइएको मिठो भ्रम हो ।’ कम्युनिस्ट विचारबाट उदाएको माओवादी अहिले पुँजीवादी शैली, ठेकेदारमुखी शासन र व्यक्तिगत लाभमुखी समीकरणमा सीमित भएको छ । प्रचण्ड निवासका घरबेटी ठेकेदार शारदा अधिकारी समयमा नै ठेक्का सम्पन्न नगरी राज्यलाई करोडौं ठगी गरेको आरोपमा कालोसूचीमा परेपछि प्रचण्डप्रतिको अविश्वास झनै बढेको छ ।
एक वरिष्ठ सरकारी अधिकारीको भनाइमा पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका र तेस्रो पार्टीका प्रमुख नेता कालोसूचीमा परेका व्यक्तिको घरमा बस्नु नै नैतिकताको प्रश्न हो । यो भ्रष्टीकरणको एउटा नमुना हो । प्रचण्डले केही समयअघि यो विषय उठ्दा विवादास्पद व्यक्तिको घरमा नबस्ने बताउनुभएको थियो तर अहिले उहाँले त्यो कुरा भुल्नुभएको छ र विवादास्पद ठेकेदारकै घरमा बसिरहनुभएको छ ।
राजनीतिक विश्लेषकहरू भन्छन्, ‘प्रचण्डको पछिल्लो सक्रियता देशलाई स्थायित्व, पारदर्शिता र जवाफदेहितातर्फ होइन, फेरि एकपटक सत्ताको जालझेल, अस्थिरता र विश्वासको संकटतर्फ धकेल्ने कदम हो, सत्ताको अनन्त लालसाले प्रचण्ड स्वयम् र उनको पार्टीलाई झन्झन् कमजोर बनाउँदै लगेको छ ।’











प्रतिक्रिया