विश्वसम्पदा सूची क्षेत्रमा परेका अधिकांश सम्पदाको पुनःनिर्माण

भूकम्पको एक दशक

470
Shares

काठमाडौं ।

स्रोत र साधनको चुनौतीका बाबजुद विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्रमा पर्ने काठमाडौं उपत्यकाका झन्डै ९० प्रतिशतभन्दा बढी सम्पदाहरूको पुनःनिर्माण सकिएको छ ।

विनाशकारी भूकम्पको १० वर्षपछि विश्वसम्पदा सूचीमा पर्ने एकाध सम्पदा छाडेर अधिकांश सम्पदा पुनःनिर्माण कार्य सम्पन्न भएको पुरातत्व विभागले जनाएको छ । विभागका अनुसार विश्वसम्पदा सूचीमा सूचीकृत क्षेत्रका १ सय ७४ वटा सम्पदामध्ये १ सय ३४ सम्पदाको पुनःनिर्माण सम्पन्न भइसकेको छ । विभिन्न राष्ट्र तथा दातृ निकायको सहयोगमा ललितपुर, भक्तपुर र काठमाडौंका विश्वसम्पदा सूचीकृत क्षेत्रमा पर्ने अधिकांश सम्पदाको पुनःनिर्माण गरिएको थियो ।

भक्तपुर दरबार क्षेत्रमा पर्ने सम्पदाहरू कुनै अन्तर्राष्ट्रिय दातृ निकाय र सरकारको सहयोग नलिईकन कतिपय नगरपालिका स्वयंले र कतिपय विभागले पुनःनिर्माण गरेको थियो । ललितपुरमा अधिकांश सम्पदा जापानको सहयोगमा पुनःनिर्माण गरिएको थियो ।

भूकम्पले हनुमानढोका दरबार क्षेत्रका ३९ वटा सम्पदा क्षतिग्रस्त भएकोमा ३० वटा पुनःनिर्माण भइसकेको छ भने ६ वटा पुनःनिर्माण भइरहेको छ । त्यसै गरी भक्तपुरमा २३ वटा सम्पदाको पुनर्निर्माण भइसकेको छ भने ६ वटाको पुनःनिर्माणको कार्य भइरहेको छ ।

विभागका अनुसार पाटन दरबार क्षेत्रमा अवस्थित अदालतको भवन र नरसिंह मन्दिरबाहेक अरू सम्पदाहरू पुनःनिर्माण सकिएको छ । अहिले भारत सरकारको सहयोगमा सहरी विकास मन्त्रालयद्वारा पुरानो अदालत भवन पुनःनिर्माण भइरहेको छ भने नरसिंह मन्दिर पनि पुनःनिर्माण भइरहेको छ ।

दुई साता अघिमात्र देगु तलेज मन्दिरको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभएको थियो । विभागका अनुसार २०७२ साल वैशाख १२ गते आएको भूकम्पले क्षतिग्रस्त तलेजु दक्षिण र उत्तरको भाग, मणिमण्डप पार्टी (फल्चा), सुन्दरीचोक, केशवनारायण चोक, कृष्णमन्दिर, विश्वनाथ मन्दिर, चार नारायण मन्दिर, राधाकृष्ण, भीमसेन मन्दिर, बहादुर शाह, योगनरेन्द्र मल्लको सालिक रहेको स्तम्भ, हरिशंकर र कुम्भेश्वर महादेवको मन्दिर पुनःनिर्माण भइसकेको छ । काठमाडौं उपत्यका संरक्षण कोषका प्रमुख रोहित रञ्तिकारका अनुसार दातृ निकायको सहयोगमा विश्वसम्पदा सूचीकृत पाटन दरबार क्षेत्रमा पनि सम्पदा पुनःनिर्माणको काम सम्पन्न भएको हो । भीमसेनमन्दिरको पुनःनिर्माणमा साझेदारीको हिसाबले र देगुतले मन्दिर महानगरपालिकाको सहयोगमा पुनःनिर्माण सम्पन्न भएको थियो ।
सम्पदा पुनःनिर्माणमा पर्याप्त स्रोत नहुनु नै मुख्य चुनौती रहेको उल्लेख गर्दै विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले भन्नुृभयो निर्माण सामग्री र दक्ष कालिगढ अभावले गर्दा बीचबीचमा काम सुस्त हुने गरेको थियो । त्यसका बाबजुद अधिकांश सम्पदा पुनःनिर्माण सकिएको छ ।’

हनुमानढोका दरबार क्षेत्रमा ३० वटा सम्पदा पुनःनिर्माण भइसकेको छ भने ६ वटा सम्पदा पुनःनिर्माण भइरहेको छ । त्यस्तै, ३ वटा सम्पदाको काम शुरू गर्न बाँकी रहेको छ । त्यसै गरी पशुपतिमा क्षतिग्रस्त ५६ सम्पदामध्ये ३४ वटा सम्पन्न भइसकेको र २ वटाको काम भइरहको छ भने २० वटा सम्पदाको पुनःनिर्माण कार्य शुरू हुन सकेको छैन । चाँगुनारायणमा ८ वटा सम्पदाको पुननिर्माण सम्पन्न भइसकेको छ भने १ वटा शुरू भइरहेको र एक वटा सम्पदाको शुुरू हुन बाँकी रहेको छ भने बौद्धको पुनःनिर्माण पूरा भइसकेको छ ।