मुख्य चुनौतीहरू
–विद्यालय शिक्षा ऐन जारी गर्ने
–शिक्षक महासंघको आन्दोलन फिर्ता गराउने
–शिक्षक महासंघको माग सम्बोधन
–मन्त्रालयको बजेट तयार गर्ने
–कर्मचारी व्यवस्थापन
–भर्ना अभियान
काठमाडौं ।
बिहीबारबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वागडोर सम्हाल्नुभएका मन्त्री रघुजी पन्तसामु दर्जनौं चुनौती छन् । तीमध्ये पहिलो चुनौती शिक्षक महासंघको आन्दोलन सम्बोधन गरी समस्याको दीर्घकालीन समाधान गर्नु हो ।
भर्ना अभियान अलपत्र छ । कक्षा १० को उत्तरपुस्तिका परीक्षण हुन सकेको छैन । आजबाट सञ्चालन हुनुपर्ने कक्षा १२ को परीक्षा ९ दिन पर सरेको छ । यसको मुख्य कारण शिक्षक महासंघको २४ दिनदेखिको लगातार आन्दोलन हो ।
शिक्षक महासंघले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै आम शैक्षिक हड्ताल आह्वान गरेको छ । शिक्षक आन्दोलनका कारण देशभरका करिब ३५ हजार विद्यालय ठप्प छ । ५५ लाख विद्यार्थीले पढ्न पाएका छैनन् । यस्तो गम्भीर समस्या समाधान गर्न ऐन जारी गर्नुपर्ने बाध्यता मन्त्री पन्तसामु छ । होइन भने तत्काल समस्या टार्न वार्ता गर्नु जरुरी छ । महासंघले २० गतेबाट सडक आन्दोलन र २५ बाट आम शैक्षिक आन्दोलन घोषणा गरेको थियो ।
यसअघि मन्त्रालय र शिक्षक महासंघबीच वार्ता भएको थियो । मन्त्रालयले ७ बुँदे प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको छ । अघिल्लो मन्त्री विद्या भट्टराईले महासंघको मागको विषयमा अर्थ र गृहमन्त्रीसँग छलफल गर्नुभएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले महासंघको टोलीसँग वार्ता गर्नुभएको थियो । सभामुखसँग कुराकानी भएको थियो । महासंघ र सरकारबीच धेरैपटक वार्ता भए तर महासंघको अडान सरकारले पूरा गर्न सकेन ।
सोही कारण हालसम्म सडकमा आन्दोलन जारी राखेका शिक्षक महासंघसँग वार्ता गरी समस्या समाधान गर्नु मन्त्री पन्तको मुख्य काम हो । यो बेला उहाँको भाग्य परीक्षण हो । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकको मागबारेमा छलफल गरी आन्दोलन फिर्ता गरी शिक्षकलाई स्कुल पठाउने वातावरण बनाउनकै लागि पन्तलाई मन्त्रीको जिम्मा दिइएको जानकारको भनाइ छ ।
महासंघको माग पूरा गर्न करिब ९ अर्ब रुपियाँ लाग्छ ।
मन्त्रालयले मन्त्री परिषद्मा पेस गरेको प्रस्तावमा उक्त रकम अनुमान गरिएको छ । सरकारले सो रकम कसरी व्यवस्थापन गर्ने भन्ने गम्भीर छ । मन्त्रालयले पठाएको प्रस्तावमा प्रधानमन्त्रीले सहमति नदिएका कारण शिक्षक महासंघ आक्रोशित भएको छ । प्रमकै कारण वार्ता भाँडिएको अनुमान महासंघको छ ।
तीबाहेक कर्मचारी व्यवस्थापन, मन्त्रालयको दराजमा थन्किएका दर्जन बढी प्रतिवेदन कार्यान्वयनलगायत छन् । शिक्षक महासंघको माग पूरा गर्न अनिच्छिुक प्रधानमन्त्री केपी ओलीलाई फकाइफुल्याई शिक्षा ऐन जारी गर्न पहल गर्नु पहिलो प्राथमिकता हो ।
योजना प्रमुख सापकोटा विदेश सयर
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सहसचिवको खडेरी परेको छ । बजेट बनाउने चटारोमा बजेट तथा योजना महाशाखा प्रमुख एवं प्रवक्ता शिवकुमार सापकोटा विदेश सयरमा हुनुहुन्छ ।
सरकारले यही १९ गते नीति तथा कार्यक्रम सार्वजनिक गर्दै छ । हिजोबाट रघुजी पन्तले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वागडोर सम्हाल्न आउनुभयो । मुख्य भूमिकामा रहनुभएका सहसचिव सापकोटा फ्रान्स भ्रमणमा हुनुहुन्छ । उहाँ फ्रान्समा आयोजना भएको ग्लोबल पार्टनरसिप फर एजुकेसन कार्यक्रममा भाग लिन पुग्नुभएको छ ।











प्रतिक्रिया