बाजुराको खप्तडछेडे दह गाउँपालिका वडा नं. ६, मैतोलाकी २२ वर्षीया रेखा नाथ (नाम परिवर्तन) घरेलु हिंसा प्रभावित एक किशोरी हुन् । बाल तथा अन्तरजातीय विवाह गरेकै कारण बिहे भएको केही महिनामै उनी तारन्तार पतिबाट कुटिन थालिन् । सासू–ससुरासँग बोले पनि रिसाउने ।
साथीसंगीसँग धारा–पँधेरा, मेलापातमा गए पनि रिस गर्ने । ‘सात वर्षसम्म अर्थात् मेरो किशोरावस्था श्रीमान्को हप्कीदप्की र कुटपिटमै बित्यो’, उनले भनिन् । रेखाको १३ वर्षको उमेरमा बिहे भएको थियो । १५ वर्षको उमेरमा छोरा जन्मियो । उनको जेठो छोरो अहिले ७ वर्षको भयो । २० वर्ष उमेर पुगेपछि विवाह दर्ता र नागरिकता बनाउन भने । सिंह ठकुरीकी छोरी भएको नागरिकता ल्याऊ अनि नागरिकता बनाइदिन्छु उनी (नरेश चन्द) ले भने । ‘म नाथकी छोरी परेँ । झगडाको बीउ त्यसैबाट शुरु भएको हो, पछि द्वन्द्वले हिंसात्मक रुप लियो, जातीय हिंसाले घरबारै छुटायो’, उनले भनिन् ।
पतिको पिटाइ र झगडा सहन नसक्दा उनी आफ्नो ज्यान जोगाउन चाहन्थिन् । घरेलु हिंसाबाट आक्रान्त बनेकी नाथलाई जिल्ला अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र अर्थात् ओ.सी.एम.सी. सेवा केन्द्रमा ल्याइयो । ओ.सी.एम.सी. केन्द्रमा पुगेपछि उनको सुरक्षासहित उपचार पनि भयो । शारीरिक, मानसिक अवस्था ठीक भए पनि उनी पुनर्मिलन गराएर घर जाने अवस्था भने नरहेको बताउँछिन् । उनले भनिन्, ‘म आत्मनिर्भर बन्न चाहन्थेँ । ओ.सी.एम.सी.को सहयोगमा महेन्द्रनगरस्थित साथी संस्थाले ६ महिनासम्म निःशुल्क सिलाइ–कटाइ तालिम दियो । तालिमपश्चात् सिलाइ–कटाइ मेसिन पनि दिएको छ ।’
अहिले माइतीघर तिपाडामै बसेर सिलाई–कटाइ व्यवसाय सञ्चालन गरिरहेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘अब म आफैँ कमाएर पालिन सक्छु । दुई छोरालाई साथमा राख्न प्रयत्न गरेँ तर श्रीमान्ले मानेका छैनन् । उनको घरमा जाऊँ भने मेरो ज्यान जोखिममा छ । ओ.सी.एम.सी. सेवा केन्द्रले मेरो सुरक्षासहित उपचार नगराएको भए म अहिलै यस्तो अवस्थामा हुने थिइन । ओ.सी.एम.सी. मलगायत सयौं हिंसापीडित महिलाको लागि वरदान साबित भएको छ ।’
पछिल्लो समयमा बाजुराका घरेलु तथा सामाजिक हिंसामा परेका महिलाका लागि एकद्वार संकट व्यवस्थापन केन्द्र ओ.सी.एम.सी.बाट गत फागुनसम्म ९७ बढीको उपचार भएको छ । विशेष गरी जिल्लाका प्रायः महिलाहरु कुनै न कुनै रुपमा घरेलु तथा सामाजिक हिंसाबाट प्रभावित छन् । उनीहरुको सहज उपचारलगायत कानुनी तथा सुरक्षा प्रत्याभूति दिलाउन जिल्ला अस्पताल बाजुरामा सञ्चालित ओ.सी.एम.सी. सेवा पछिल्लो समयमा प्रभावकारी बन्दै गएको हो ।
२०७३ सालदेखि स्थापना भएको उक्त केन्द्रमा जिल्लाका नौवटै पालिकाका हिंसापीडित महिला आउने गरेका छन् । उनीहरुको गाँस, बास, कपास र सुरक्षासहित निःशुल्क स्वास्थ्य उपचार र सीपमूलक तालिम दिलाएर कतिपयको पुनर्मिलन भएको छ भने कतिपय महिला स्वरोजगार भएर आत्मनिर्भर बनेका छन् । जिल्ला अस्पताल बाजुरामा कार्यरत ओ.सी.एम.सी. केन्द्रका सहजकर्ता एवं नर्सिङ निरीक्षक निशा रोकायाका अनुसार अस्पतालले विभिन्न संघसंस्थासँग सहकार्य गरी हिंसा प्रभावितका लागि आवश्यक सामग्री पनि उपलब्ध गराउँदै आएको छ ।
ओ.सी.एम.सी.ले आवश्यक सुरक्षासहित निःशुल्क स्वास्थ्य उपचार, मनोसामाजिक विमर्श, कानुनी सल्लाह तथा सीपमूलक निःशुल्क तालिमसहितको व्यवस्था गर्दै आएको छ । अहिले बाजुराका नौवटै पालिकालगायत छिमेकी जिल्लाका हिंसा प्रभावित महिला ओ.सी.एम.सी. कक्षमा सेवा लिन आउँछन् । हिंसापीडित महिलाहरुलाई निःशुल्क उपचार तथा स्वरोजगारमूलक तालिम दिएकाले उनीहरु आत्मनिर्भर बन्दै गएको सहजकर्ता रोकाया बताउँछिन् । सेवाप्रवाह प्रभाकारी भएसँगै उपचार गराउन आउनेको संख्या पनि उल्लेखनीय वृद्धि भएकोे उनको भनाइ छ ।
नर्सिङ निरीक्षक रोकायाका अनुसार यस आर्थिक वर्ष २०८१-०८२ को साउनदेखि फागुन मसान्तसम्म विभिन्न खालका हिंसाबाट बाजुरामा ९७ महिला हिंसा प्रभावित भएका छन् । सबैभन्दा बढी बुढीगंगा नगरपालिकामा ४३, जिल्लाको सदरमुकाम रहेको बडिमालिका नगरपालिकामा ३०, बुढीनन्दा नगरपालिकामा सात र त्रिवेणी नगरपालिकामा दुई प्रभावित छन् । त्यसै गरी खप्तडछेडे दह गाउँपालिकामा पाँच, हिमाली गाउँपालिकामा दुई, जगन्नाथ, स्वामिकार्तिक र गौमूल गाउँपालिकामा एक÷एकजना हिंसा प्रभावित भएका छन् । त्यसै गरी छिमेकी जिल्ला मुगु, अछाम र डोटी जिल्ला घर भएका चारजना महिला हिंसा प्रभावितलाई निःशुल्क उपचार गराइएको ओ.सी.एम.सी. सेवा तथ्यांक विवरणमा उल्लेख छ ।
गत आर्थिक वर्ष ०८०÷०८१ मा पनि बडिमालिका नगरपािलकाका ४५ महिलालगायत १०९ जना हिंसा प्रभावित भएका थिए । जिल्ला अस्पतालमा विभिन्न खालका हिंसा प्रभावित बिमारी आइरहेका छन् । जसमा शारीरिक कुटपिट २९ जना, मानसिक अशक्त २४, स्रोत–साधानबाट वञ्चित २३, जबरजस्ती करणीका १० ,बहुविवाहका ८ र यौनजन्य दुव्र्यवहार दुई जनाको जिल्ला अस्पताल बाजुराले उपचार गरी विभिन्न संघसंस्थाको सहयोगमा तालिम तथा आवश्यक सीप सिकाएर स्वरोजगार बनाएको जिल्ला अस्पताल बाजुराका प्रमुख डा. चन्द्रशेखर यादवले बताए ।
हिंसाका विभिन्न प्रकार हुन्छन् । अस्पतालको रेकर्डमा शारीरिक दुव्र्यवहार, जबरजस्ती करणी, स्रोत–साधनबाट वञ्चित, मानसिक दुव्र्यवहारलगायतका हिंसाजन्य घटनाबाट बढी प्रभावित भएको जिल्ला अस्पताल प्रमुख डा. यादवको भनाइ छ । यस्ता घटना न्यूनीकरण गर्न सर्वप्रथम बाल तथा अनमेल विवाह रोक्नु आवश्यक छ । पढ्ने, लेख्ने उमेरमा अर्थात् १२÷१५ वर्षको कलिलो उमेरमा विवाह गर्छन् । अनमेल तथा बहुविवाह र जातीय विभेदका घटना पनि देखिन्छन् । लहैलहैमा लागेर कलिलो उमेरमा विवाह गर्ने अनि पछि पछुताउनुपर्ने हुन्छ । हिंसाको जरो उखेल्ने हो भने बाल तथा अनमेल विवाह राक्नुपर्ने डा. यादवको कथन छ ।
जिल्ला अस्पताल ओ.सी.एम.सी. कक्षमा सुरक्षा, मनोपरामर्श सेवादेखि उचित पालपोषणसहित सीपमूलक तालिम दिइने हुँदा महिला आत्मनिर्भर पनि बन्दै गएपछि सेवा प्रभावकारी भएको डा. यादवले बताए । डा. यादवको सुझाव छ, ‘घरेलु हिंसा न्यूनीकरण गर्न जनचेतामूलक कार्यक्रम अभियानकै रुपमा सञ्चालन गर्नुपर्छ । दोषीको बचावट हैन, कानुनी कारबाही गर्नुपर्छ अनि मात्र घरेलु हिंसाजन्य अपराध न्यून हुन्छ ।’











प्रतिक्रिया