बुटवलका सुदीप न्यौपाको शव नेपाल ल्याइयो, आजै अन्त्येष्टि हुने


बुटवल ।

भारतको जम्मु कश्मीरको वैसरण उपत्यकामा आतंकवादी आक्रमणमा परी ज्यान गुमाएका बुटवल-११ का २७ वर्षीय सुदीप न्यौपाको शव बिहीबार बिहान नेपाल ल्याइएको छ। शव नयाँ दिल्ली हुँदै लखनउबाट हवाईमार्गमा ल्याएर बेलहिया नाका पार गरी सडकमार्गबाट बुटवल ल्याइएको हो।

रूपन्देहीका प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले शव परिवारको जिम्मा लगाइएको जानकारी दिए। सुदीपको शव आजै बुटवल-११ मनकामना पथस्थित घरमा लगिने र अन्त्येष्टि गरिने वडाध्यक्ष दधिराम न्यौपानेले बताए।

शनिबार आमा रिमाकला, बहिनी सुष्मा र ज्वाइँ युवराजसँग घुम्न गएका सुदीप मंगलबार दिउँसो आतंकवादीको आक्रमणमा परेका थिए। गोली लागेर घटनास्थलमै निधन भएको हो। आमा रिमाकला भाग्ने क्रममा सामान्य घाइते भएकी छन् भने अन्य दुईजना सकुशल छन्।

भारतीय सञ्चार माध्यमका अनुसार सो आक्रमणमा सुदीपसहित कम्तीमा २६ जनाको मृत्यु भएको छ, जसमा दुई जना विदेशी नागरिक समेत छन्।

उनका बुवा ध्रुव न्यौपाने काठमाडौंमा शिक्षक आन्दोलनमा सहभागी भइरहेका बेला दुखद खबर पाएका थिए।