पदपूर्तिमा अन्योल, नयाँ पदाधिकारी आउन कठिन

६ संवैधानिक आयोग प्रमुखविहीन, ११ सदस्य रिक्त


–लामो समयसम्म रिक्त रहने सम्भावना
–नेतृत्वविहीन भएका आयोगका कामहरू प्रभावित
–संवैधानिक परिषद्को बनावटले नियुक्तिमा थप जटिलता

काठमाडौं

प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषद्ले समयमा नै पदपूर्ति प्रक्रिया शुरू गर्न नसक्दा निर्वाचन आयोगलगायतका महत्वपूर्ण ६ सवैधानिक आयोगहरू प्रमुखविहीन बन्न पुगेका छन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया गत शुक्रवारदेखि आफ्नो ६ वर्षे कार्यकाल पूरा गरी अवकाशमा गएपछि निर्वाचन गराउने र निर्वाचनको आवश्यक तयारी गर्ने प्रमुख भूमिकामा रहेको निर्वाचन आयोग प्रमुखविहीन हुन पुगेको हो । जसका कारण आयोगको कामकारबाही नै प्रभावित हुने देखिएको छ ।

आयोगमा एक सदस्य पद महिनौंदेखि रिक्त रहँदै आएको छ । निर्वाचन आयोगका अतिरिक्त अन्य ५ वटा संवैधानिक आयोगका अध्यक्ष पनि अवकाशमा गएपछि ती आयोगहरू पनि नेतृत्वविहीन अवस्थामा छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल, थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरी, थारू आयोगका अध्यक्ष विजयकुमार दत्त र मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी ६ वर्षे कार्यकाल पूरा गरी गत २०८१ साल चैत्र ७ गतेदेखि नै अवकाशमा जानुभएपछि ती सबै आयोगहरू प्रमुखविहीन हुँदै आएका छन् ।

यसै गरी राष्ट्रिय समावेशी आयोगको अध्यक्ष र दुई सदस्य पद पनि लामो समयदेखि रिक्त अवस्थामा नै छन् । यस्तै, महिला आयोग, प्राकृतिक स्रोत तथा वित्त आयोग र मुस्लिम आयोगमा पहिलेदेखि नै एक÷एक सदस्य पद रिक्त छन् । सरकारले आयोगका पदाधिकारीहरूमा नियुक्ति प्रक्रिया अघि बढाउनसमेत कठिन देखिएको छ ।संंविधानको धारा २८४ (३) मा संवैधानिक निकायका प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिनाअगावै संवैधानिक परिषद्ले नियुक्तिका लागि नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ ।

तर, नेतृत्वविहीन भएका संवैधानिक आयोगहरूले लामो समयसम्म नेतृत्व नपाउने करिबकरिब निश्चित छ । दलहरूको लुछाचँुडी र भागबण्डा मिल्न नसक्दा यी आयोगहरूले महिनौंसम्म नेतृत्व नपाउने सम्भावना बढेर गएको हो । यसअघि पनि विभिन्न आयोगहरू महिनौंदेखि रिक्त हुने गरेका थिए । हालको संवैधानिक परिषद्को कम्पोजिसनका कारण पनि सरकारी पक्षलाई तत्काल रिक्त संवैधानिक आयोगमा पदपूर्ति गर्न निकै सकस देखिएको छ ।

संविधानअनुसार ६ सदस्यीय संवैधानिक परिषद्मा प्रधानमन्त्री अध्यक्ष हुने व्यवस्था छ । परिषद्का सदस्यहरूमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता र उपसभामुख रहने प्रावधान छ । जसअनुसार हाल परिषद्मा सत्तारुढ प्रमुुख दल कांग्रेस निकटका व्यक्तिहरूको सहभागिता छैन । परिषद्को अध्यक्षका रूपमा रहनुभएका प्रधानमन्त्री ओलीलाई एमाले पृष्ठभूमिबाट सभामुख बन्नुभएको देवराज घिमिरेको मात्रै साथ रहने देखिन्छ । परिषद् सदस्यमा विपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा उहाँ निकट परिषद्का अर्का सदस्य राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री ओलीलाई साथ दिने अवस्था देखिँदैन ।

यस्तै, सरकारको विरोधमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभामुखमा आउनुभएकी इन्दिरा रानामगर पनि सत्तापक्षभन्दा इतर पक्षमा उभिन सक्ने भएकाले परिषद् अध्यक्ष तथा प्रधानमन्त्रीले रानाको पनि सहयोग पाउने अवस्था देखिँदैन । परिषद्का अर्का सदस्यका रूपमा रहनुभएका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आयोगमा ल्याउने जस्तासुकै नामलाई समर्थन गर्न नसक्ने भएकाले पनि परिषद् अध्यक्ष प्रधानमन्त्री अल्पमतमा पर्नुभएको छ । जसका कारण अध्यक्षले चाहेको व्यक्तिमात्रै आयोगका अध्यक्ष तथा सदस्यहरूमा सिफारिस हुन निकै कठिन हुने देखिएको छ ।