काठमाडौं ।
डलरको भाउ वृद्धि हुँदा चालू आर्थिक वर्षमा नेपालको सार्वजनिक ऋणको दायित्व ७० अर्ब रुपियाँभन्दा बढी थप भएको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चैत मसान्तसम्म विनियमय दरमा भएको परिवर्तनले बाह्य ऋणमा ७० अर्ब ९ करोड ८८ लाख रुपियाँ दायित्व वृद्धि भएको हो ।
हालसम्म नेपालको कुल सार्वजनिक ऋणको दायित्व २६ खर्ब ६७ अर्ब २६ करोड ७९ लाख रुपियाँ पुगेको छ । नेपालको सार्वजनिक ऋण देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ४६.७५ प्रतिशत पुगेको छ । जसमध्ये आन्तरिक ऋण १३ खर्ब १ अर्ब ९४ करोड ४५ लाख अर्थात् जीडीपीको २२.८२ र बाह्य ऋण १३ खर्ब ६५ अर्ब ३२ करोड ३४ लाख रुपियाँ अर्थात् जीडीपीको २३.९३ प्रतिशत रहेको छ ।
हाल कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५१.१९ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४८.८१ प्रतिशत रहेको छ । चालू आर्थिक वर्षको ९ महिनामा २ खर्ब ३३ अर्ब १७ करोड रुपियाँ ऋण वृद्धि भएको छ । आर्थिक वर्षको सुरूवातमा कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड ९८ लाख रुपियाँ मात्रै रहेको थियो ।
कार्यालयको तथ्यांकअनुसार सार्वजनिक ऋणको आकार उच्च रहे पनि फागुन महिनाको तुलनामा चैत महिनामा ऋण केही घटेको देखिन्छ । फागुन महिना मात्रै सार्वजनिक ऋण ६४ अर्ब रुपियाँभन्दा बढीले वृद्धि हुँदै २६ खर्ब ७६ अर्ब ३ करोड रुपियाँ नाघेको थियो । तर, चैतमा सरकारले ऋणको साँवा ब्याज तिर्दा झण्डै १० अर्ब रुपियाँले दायित्व घटेको छ । फागुनको तुलनामा चैतमा आन्तरिक ऋण करिब १४ अर्ब रुपियाँ घटेको छ भने बाह्य ऋण करिब ४ अर्ब रुपियाँले बढेको तथ्यांक छ ।
सरकारले चालू आर्थिक वर्षमा ५ खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको चैत मसान्तसम्म ३ खर्ब ६६ अर्ब ९ करोड रुपियाँ ऋण प्राप्त भएको छ ।
यो लक्ष्यको तुलनामा ६६.९३ प्रतिशत हो । यसमध्ये २ खर्ब ९१ अर्ब १४ करोड आन्तरिक ऋण अर्थात् ८८.२२ प्रतिशत तथा ७४ अर्ब ९५ करोड अर्थात् ३४.५८ प्रतिशत बाह्य ऋण प्राप्त भएको छ । कुल ऋण प्राप्तितर्फ आन्तरिक र बाह्य ऋणको हिस्सा क्रमशः ७९.५३ प्रतिशत र २०.४७ प्रतिशत रहेको छ ।
चालू आर्थिक वर्षमा ऋण खर्चमा ४ खर्ब २ अर्ब ८५ करोड बजेट विनियोजन भएकोमा चैत मसान्तसम्म २ खर्ब ५२ अर्ब ४८ करोड ४८ लाख रुपियाँ भुक्तानी भएको छ । यो वार्षिक बजेट विनियोजनको आधारमा ६२.६७ प्रतिशत हो । कुल गार्हस्थ उत्पादनको आधारमा कुल ऋण खर्च ४.४३ प्रतिशत हो ।
कार्यालयको तथ्यांकमा फागुन मसान्तसम्म २ खर्ब १ अर्ब ८२ करोड भुक्तानी भएकोमा चैतमा ५० अर्ब रुपियाँभन्दा बढी ऋण भुक्तानी गरेको छ । ९ महिनामा सरकारले २ खर्ब १२ अर्ब ९३ करोड आन्तरिक ऋण तथा ३९ अर्ब ५४ करोड बाह्य ऋणको दायित्व घटाएको छ । चैत मसान्तसम्म साँवा भुक्तानीमा २ खर्ब ३० अर्ब २ करोड र ब्याज भुक्तानीमा ४९ अर्ब ४५ करोड रुपियाँ खर्च भएको छ ।











प्रतिक्रिया