महासंघ भन्छ : सहभागी नै हुँदैनौं
–आन्दोलन सशक्त बन्दै, दशैभरका शिक्षक राजधानीमा
–५ लाख विद्यार्थीको भविष्य अन्योलमा
काठमाडौं
सरकार र शिक्षक महासंघको द्वन्द्वका कारण यो वर्षको कक्षा १२ को परीक्षा हुने सम्भावना क्षीण बनेको छ । वैशाख ११ बाट शुरू हुन लागेको परीक्षा नेपाल शिक्षक महासंघको जारी आन्दोलनका कारण स्थगित हुने सम्भावना रहेको छ । तर, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले महासंघको माग चामत्कारिक रूपमा पूरा हुने बताउँदै केही दिनमा परिणाम आउने जनाएको छ ।
शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले शिक्षकको माग पूरा हुने र कक्षा १२ को परीक्षामा कुनै बाधा नहुने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो– ‘कुनै पनि हालतमा परीक्षा रोकिँदैन, परीक्षा कसरी गर्ने भन्ने विषयमा छलफल जारी राखेका छौं ।’ तर, मन्त्रालयका प्रवक्ता सापकोटाले भनेजस्तो माग पूरा हुने अवस्था देखिँदैन । मन्त्रालयले माग पूरा गराउन हरसम्भव काम गरिरहेको जनाएको छ ।
‘खाका बनाइसकेका छौं, केही दिनमा आन्दोलन स्थगित हुनेछ, कक्षा १२ को परीक्षा नियमित सञ्चालन हुने र १० कक्षाको उत्तरपुस्तिका परीक्षण शुरू हुनेछ’ –प्रवक्ता सापकोटाले भन्नुभयो । महासंघका सहअध्यक्ष एवं आन्दोलन समितिका संयोजक नानुमाया पराजुलीले सरकारले विज्ञप्ति जारी गरेर विद्यालय फर्क भन्दैमा कोही पनि नफर्कने चेतावनी दिँदै भन्नुभयो– ‘हामी यतिकैमा घर फर्कंदैनौं, ऐन लिएरमात्र जानेछौं ।’ उहाँले ऐन जारी नभएसम्म आन्दोलन फिर्ता नहुने, परीक्षामा पनि सहभागी नहुने स्पष्ट पार्नुभयो ।
‘हामीले परीक्षा लिनै दिँदैनौं भनेका छैनौं, विद्यालयमा कार्यरत केन्द्राध्यक्ष, निरीक्षक, कार्यालय सहयोगीलाई सहभागी नगराउन आग्रहमात्र गरेका हाैं’ –संयोजक पराजुलीले भन्नुभयो । महासंघले ३ दिनअघि केन्द्राध्यक्ष, निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरिसकेको जानकारी दिनुभयो ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले १२ कक्षाको परीक्षामा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘परीक्षा भएन भने अन्तर्राष्ट्रिय रूपमा मुलुकको साख गिर्नेछ, त्यसैले शिक्षकले परीक्षा रोक्नुहुँदैन । तथ्याङ्कअनुसार यो वर्ष १ हजार ५ सय ९१ परीक्षा केन्द्र छन् । केन्द्र कायम भएका अधिकांश सामुदायिक विद्यालय हुन् ।
यसैबीच महासंघको आयोजनामा हिजो भएको आन्दोलनले झन् उग्ररूप लिएको छ । देशैभरबाट राजधानी आएका शिक्षक र विद्यालय कर्मचारीले माइतीघरदेखि बिजुलीबजारसम्मको सडक पूरै बन्द गराएका थिए । मागको सुनुवाइ नभए आन्दोलनलाई थप प्रभावकारी बनाउने योजना महासंघले गरेको छ । संयोजक पराजुलीले भन्नुभयो– ‘सरकारले जति आन्दोलन दबाउन खोज्ने प्रयास गर्दै छ, त्यति नै सशक्त भएर आन्दोलन अघि बढाउनेछौं ।’











प्रतिक्रिया