काठमाडौं ।
काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई प्रतिष्ठित वल्र्ड इकोनोमिक फोरमले २०२४ को ‘युवा विश्व नेताहरू’को सूचीमा समावेश गरेको छ ।
यो सूचीमा विश्वभरबाट सामाजिक परिवर्तन, नेतृत्व र नवप्रवर्तनको क्षेत्रमा प्रभाव जमाएका प्रतिभाशाली युवाहरूलाई छनोट गर्ने गरेको छ । उपमेयर डंगोलको नाम समावेश हुनु नेपालका लागि गर्वको विषय बनेको छ ।
वल्र्ड इकोनोमिक फोरमद्वारा हरेक वर्ष सार्वजनिक गरिने यो सूचीमा राजनीतिज्ञ, वैज्ञानिक, उद्यमी, मानवअधिकारकर्मी, सामाजिक अभियन्ता तथा कला, शिक्षा र प्रविधिका क्षेत्रमा क्रियाशील युवाहरूलाई समावेश गर्ने गरिएको छ ।४० वर्षमुनिका यी युवा नेताहरूलाई आगामी पुस्ताको परिवर्तनकारी नेतृत्वकर्ताको रूपमा चिनिन्छ । यसपालिको सूचीमा ९० भन्दा बढी देशका प्रतिनिधित्व हुने गरी विश्वभरका सय जना प्रभावशाली युवाहरू परेका छन् ।
उपमेयर डंगोल भाषिक पहिचान, संस्कृतिको संरक्षण र सहरी व्यवस्थापनको क्षेत्रमा सक्रिय आवाजका रूपमा परिचित हुनुहुन्छ । नेवार समुदायको भाषा र संस्कृति जोगाउन उहाँ लामो समयदेखि सक्रिय रूपमा लाग्नुभएको छ । उपमेयरका रूपमा उहाँले काठमाडौंको ऐतिहासिक सम्पदा संरक्षण, वातावरणीय सुधार, महिला सशक्तिकरण तथा युवाहरूको सहभागिता प्रवद्र्धनमा उल्लेखनीय काम गर्नुभएको छ ।
उक्त घोषणापछि उपमेयर डंगोलले सामाजिक सञ्जालमार्फत आभार व्यक्त गर्दै लेख्नुभएको छ– ‘यो सम्मान केवल मेरो होइन, सबै नेपाली महिलाहरू, युवा पुस्ता र संस्कृतिप्रेमीहरूको हो । यो नयाँ ऊर्जा र जिम्मेवारी बोकेको मान्यता हो ।’
उपमेयर डंगोलको अन्तर्राष्ट्रिय स्तरमा बढ्दो प्रभाव र योगदानले नेपाली युवाहरूका लागि एक नयाँ प्रेरणा थपेको छ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहसहित विभिन्न राजनीतिक दलका नेताहरू, कलाकार, बौद्धिक वर्ग र सामाजिक अभियन्ताहरूले उहाँलाई बधाई दिएका छन् ।
वल्र्ड इकोनोमिक फोरमको यथार्थमा आधारित मूल्यांकन प्रणालीले युवा नेताहरूको चयन गर्दा नेतृत्व क्षमताको साथसाथै उनीहरूको दीर्घकालीन योगदान, सामाजिक प्रभाव र भविष्यको सम्भावनालाई समेत मापन गर्ने गरेको छ । यस सन्दर्भमा डंगोलको छनोटले नेपालभित्रका र अन्तर्राष्ट्रिय मञ्चमा उदीयमान नेपाली युवाहरूको पहिचान र क्षमता पुष्टि गरेको छ ।
यो सम्मानसँगै डंगोल अब वल्र्ड इकोनोमिक फोरमअन्तर्गत विभिन्न अन्तर्राष्ट्रिय फोरमहरू, छलफल, तालिम तथा ग्लोबल नेटवर्किङ कार्यक्रममा सहभागी हुन पाउनुहुनेछ । जसले उहाँको दृष्टिकोण र ज्ञानलाई अझ फराकिलो बनाउने अपेक्षा गरिएको छ । नेपालका लागि यो खबर गौरवको विषय हो, यो नेपाली युवाहरूका लागि अन्तर्राष्ट्रिय मञ्चमा उचाइ प्राप्त गर्ने सम्भावनाको ढोका खुल्ने संकेतका रूपमा पनि लिने गरिएको छ ।











प्रतिक्रिया