राजाहरु र ‘सहकारी बा’हरुका काव्यकथा वाचन

846
Shares

देश र समाजका हरेक तप्काबाट खबरदारी गर्दा शासनले बाटो बिराएको भए सच्चिन्छ भन्ने गरिन्छ । जागिर खानुभन्दा पहिले राजनीति पढियो । जागिरे भएपछि राजनीति भोगियो ।

फेरि आन्दोलन–प्रतिरोध सलबलाउन थालेकाले देशमा राजनीतिक एकता, स्थिरता खलबलाउन शुरुवात भएको हो कि भन्ने आभास भएको छ । राजनीतिक एकता भाँडिएपछि देशको अखण्डतामा पनि आँच आउने हुन्छ ।

‘सहे भनी सम्झिएका ईख फेर्न उठ्छन्, सुते भनी सम्झिएका सुरुसुरु हिँड्छन्, मरे भनी फ्याँकिएका जुरुजुरु हिँड्छन्, हाहाकार मच्छ यहाँ पाप खुल्न थाल्छ, एक जुगमा एक दिन एकचोटि आउँछ’ (–गोपालप्रसाद रिमाल, आमाको सपना, साझा प्रकाशन, छैटौँ संस्करण, वि.सं.२०५६, पृष्ठ ४९ ।) यदि विदशी शक्तिको भरमा देशमा आन्दोलन गरेमा पछि त्यही शक्ति राष्ट्र र राष्ट्रियतामाथि हाबी हुन्छ भन्ने बीपीको एउटै दूरदर्शी अडान थियो ।

मदन भण्डारीले राष्ट्रवादी तथा प्रजातन्त्रवादी र मोहनविक्रम सिंहले देशभक्त एवं जनतान्त्रिक शक्तिहरु भन्ने गर्नुभएको थियो । स्व. श्री ५ महेन्द्रले बीपी र पुष्पलालबाट राजनीति सिकेकाले नबिराउनु, नडराउनु भन्नुहुन्थ्यो भनेर पुराना पिँढीका अग्रजहरु भन्ने गर्नुहुन्छ अहिले पनि । अवकाश कर्मचारीको कलमलाई अनुशासनको सीमामा बद्ध गरिएर केही गन्थन गर्न खोज्दा सरोकारवाला मानिसहरुलाई मन नपर्न सक्छ भन्ने मनमा लाग्छ– ‘मानिसहरु कहिलेकाहीँ सत्य कुरा सुन्न चाहँदैनन्, किनकि उनीहरु आफ्नो भ्रम निर्मूल होस् भन्ने नै चाहँदैनन्’ (फ्रेडरिक नित्से, जर्मन दार्शनिक) ।

जे भए पनि माथिका सबै कुरा सम्झिएर तटस्थ हुन नसकी न्याय र सत्यको पक्षधरता कायम गर्दै दुईवटा खबरदारी काव्यकथाका गन्थन प्रस्तुत गरेको छु:

(१) ‘ओखर त मानिसले आफैँ फुटाउनुपर्छ, छोडाउनुपर्छ । ईश्वरले ओखर दिनुहुन्छ तर फुटाएर हैन’ (फ्रेन्ज काफ्का, जर्मनी) भन्ने भनाइ कति सार्थक छ । सहकारीको कथा पनि त्यस्तै ओखरजस्तो हो, फुटाउँदा वा छोडाउँदा भित्रको गुदी धूलोपीठो नहोस् भनेर ख्याल गर्नुपर्छ ।

भारतीय सामाजिक सञ्जालका मित्रहरुले एउटा कथा सामाजिक सञ्जालको भित्तामा साझा गर्नुभएको थियो । कथामा छोराले स्नातक गरेपछि बाबुले ५० वर्षभन्दा पहिले किनेको पुरानो भक्सवेगन बिटल कार उपहारमा दिन लाग्दा एकपटक डिलरकहाँ लगेर कतिमा किन्ने रहेछन् बुझेर आउन छोरालाई अराउने काम गरेछन् । पुरानो प्रयोग गरिसकेको कारलाई नेरु ३२०० दिन सकिन्छ भनेर डिलरले भनेको कुरा छोराले सुनाएपछि पिताले फेरि बन्धक राख्नेकहाँ गएर सोध्न आज्ञा गरेछन् ।

धेरै पुरानो भएकाले नेरु १६००० दिन सकिन्छ भनेर बन्धक राख्नेले भनेपछि पिताले फेरि एकपटक क्लासिक कार कल्वमा लगेर देखाउन छोरालाई खटाएछन् । छोरो गएर फर्केपछि पुरानो कार धेरै दुर्लभ भएकाले कल्वका सदस्यहरुमा धेरै माग छ, कतिले त १६ देखि ३२ लाख नेरुसम्म पर्छ भने भन्दै बाबुलाई सुनाएपछि ‘सही स्थानमा नै तिम्रो कदर हुन्छ भन्ने कुरा बुझ्नु, यदि कसैले तिम्रो कदर गरेन भने निरास नभई आफू गलत ठाउँमा आएछु भन्ने ठान्नु, तिम्रो सही मूल्य तिमीलाई महत्व दिनेले नै बुझेका हुन्छन्, कहिल्यै पनि त्यहाँ नरहनु जहाँ तिम्रो कदर हुन्न’ भनेर पिताले मुस्कुराउँदै भनेका कुरा सम्झँदा आज उल्टै यो छोराले पो सम्झाउँछ सहकारी बालाई गलतमा हैन सही स्थानमा जानुपर्ने कुरा ।

(१ क) ‘नेपाली सहकारी बा ! सन्चै ?’
बा ! हामीले हजुरको दिवस मनायौँ
बाको नाममा भोज पनि खायौँ, खुवायौँ पनि
अहा ! कस्ता राम्रा कुरा सुनेका, भन्दै थिए
सहकारी बाको भरणपोषण हामीले जति राम्रो कसैले गर्दैन
खनखाँचो, अड्कोपड्को, गाह्रोसाँगुरो पर्दा
तल्लो वर्ग माथि उठ्छ कि भनेर
हिजो जन्मिनुभएको थियो
अचेल त गजब हुनुभएछ
अति सजिलै ऋण दिनुभयो सहकारी बा
नवउदारवादको खम्बा सहजै बन्नुभयो
रामरेड, दामरेड, कामरेड, हामरेडको फोनमा, त्यो पनि नजिकैको टोले
कत्रो पावर त्यस्ताको पनि
तल्लो वर्गलाई पनि बन्धक राख्न तयार
तल्लो वर्ग पनि धितो हुन तयार
एक करोडको जग्गा मूल्यांकन दश
तलदेखि माथिसम्मका घाँटीमा हुन लाग्यो खसखस
कुरा सहजै मिले पनि टोलबस्तीमा हुन थाल्यो खासखुस
ऋण पाउन भन्दा खर्च गर्न झन् गाह्रो
अलिकति सेकुवा खुवाएँ
मुख हेर्न थाले बियर चखाएँ ।
केही परे हामी छौँ, कुरा बुझेँ, मुन्द्रे, झ्याप्लेको पनि जिब्रो चलमलाएँ
छरछिमेकीलाई पूजा, पुराणमा नचाएँ, खास्टो पण्डितबाट ओढाएँ
जग्गा दलालीमा लगानी गरेँ, नेताको छोराको बर्थ डेमा ल्यापटप दिएँ
साथीहरु पत्रिका, मेडिया के–के खोलौँ भन्थे, मैले श्रीमतीकै जिम्मा दिएँ
घरमा श्रीमती पनि मख्ख
जोगबनी, सिलगढी, गौरीफण्टा, रुपैडिया, सीतामाढी, सोनवर्षा खै कता–कता
सिल्क सारी, पाकिस्तानी शैलीका कुर्ता
टिकटक चाहियो रे, बन्द गर्नु हुन्न रे
छोरालाई ¥यालीको लागि चाहिँ मोटरसाइकल, गर्लफ्रेन्डलाई चाहियो कार
श्रीमतीको टिकटक त भैहाल्यो व्यापक प्रसार
यसो साइनबोर्ड झुन्ड्याएर देखाएँ सहकारीको व्यापार
फोन माथिबाट भयो, सूचना र चिठी चलान नगर है यार
हाम्रै पार्टीको छ नि सरकार मस्त गरौँ है यार
हे सहकारी बा आई लाइक यु
ऋण माफ गर्नु है आन्दोलन नत्र भाँच्छौँ रेलिङ बार
वास्तविक सहकारी पीडीतको मर्म कशले सुन्ला, देखावटी सुनुवाइको हुन्छ र भर ?
भारतीय मित्र लेख्नुहुन्छ राख्दै सरोकार– ‘छत आवश्यक हुन्छ, तर यस्तो नहोस् कि सम्पूर्ण आकाश नै कतै लुप्त हुन जाओस्’ (ध्रुव गुप्त, पूर्वआईपीएस, साहित्य लेखक, भारत । सामाजिक सञ्जालको भित्ताबाट । २८ मार्च इ.सं.२०२५) ।)
यो कुरा बुझ्न सके सहकारीका समस्याबाट लाग्न सकिन्छ पार ।
(२) अनेरास्ववियु एकताको पाँचौँका संस्थापक तथा पञ्चम अध्यक्ष एवं नेकपा एमालेका नेता, सचेत नेपाली नागरिक र चीनको लागि नेपालका पूर्वराजदूत टंक कार्कीले ‘राजावादी आन्दोलनको अन्तर्य र ध्येयका बारेमा बीबीसी नेपाली न्युजले सोधेको जिज्ञासामा पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठकले बताएका छन् ः ‘यही व्यवस्था र प्रणालीभित्रबाटै पूर्वराजाको अभिव्यक्तिको उद्देश्य सम्भव हुने । सबै मिलेर देश बनाउन मलाई पनि साथ देऊ भनेको त हो । त्यसको निम्ति म अझै त्याग गर्न तयार छु पनि भनेकै छ, वक्तव्यमा आन्दोलन गरौँ, देश बिगारौँ, गणतन्त्र फालौँ त भनेको छैन नि । सरकारले (पूर्वराजालाई) ल हामीलाई सहयोग गर्नुस्, सर्वदलीय सर्वपक्षीय संयन्त्र कसरी बनाउने, तपाईँको अनुभव हामीसँग सेयर गरिदिनुस् भने पो देश बनाउन सबै एकठाउँमा आउने अवस्था बन्छ । यही व्यवस्था र प्रणालीभित्रबाटै राष्ट्रको सामूहिक हितमा उपयोग गर्न त किन न हुने र ? पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्रीहरुको क्लब बनाउन पनि सकिँदो हो । अन्यत्र पनि त्यस किसिमको कुनै न कुनै रुपको अभ्यास भएका छन् । चिनियाँ क्रान्तिपछि चीनले पूर्वसम्राट फुयीलाई उपयोगमा ल्याएको सन्दर्भ पनि स्मरणीय छ । हाम्रो व्यवस्था अनुदार त कहाँ हो र ?’ भन्ने विचार २१ चैत वि.सं. २०८१ मा आफ्नो सामाजिक सञ्जालको भित्तामा साझा गर्नुभएको थियो ।
‘लोकतन्त्रको गिरावट (मन्दी) उग्र–दक्षिणपन्थी पार्टी सत्तामा आउँदा होइन, कुनै मध्यपन्थी पार्टीले जब जनताको लोकतन्त्रप्रतिको विश्वास (आशा, अपेक्षा) तोड्छ, तब शुरु हुन्छ । नवउदारवाद लोकतान्त्रिक विश्वास (अपेक्षा)लाई पूर्णरूपमा नष्ट गर्न सक्षम (अति प्रभावकारी) छ । र, जब विश्वास (आशा, अपेक्षा) मर्छ दक्षिणपन्थी चरमपन्थ राजनीतिमा बन्न पुग्यो, त्यो रिक्त स्थानमा छिर्छ । नवउदारवादले अर्को शब्दमा भन्नुपर्दा यसरी फासीवाद र दासत्वतर्फको बाटो निर्माण गर्छ’ (जर्ज मन्बियोट, स्तम्भकार, २०२५ । हाउ ह्याज फासिज्म इन ब्रिटेन गट दिस फार ? निवोलिबरलिज्म ह्याज ओपेन्ड द डोर फर इट– बेलायतमा नवउदारवादले निम्त्याइरहेको फासीवाद । द गार्डियन २८ मार्च ई.सं. २०२५– नेपालीमा अनुवाद नयाँ पत्रिका दैनिक ३० मार्च–१७, चैत वि.सं.२०८१ ।)
(२ क) ‘एउटै देश थुप्रै राजा अनगिन्ती दरबारहरु’
परिभाषा खोज्दै छु लोक, गण, राजा–प्रजा, गणतन्त्र–जनताको र नेताको
तन्त्र कुनै छैन थाहा मलाई जनताले पनि त्यस्तै भन्छन्
यी शब्दहरु नेपालको राजनीतिको शब्दकोषमा बहिष्कार छैनन्
कुनै बहिष्कृत थिए कि ?
भए पनि गन्थन कोर्नेले निजी विचार राख्दा उच्चारण गर्छन् नै
उनको व्यक्तिगत निजी विचार हो राख्न पाउनु शब्दहरु
लोकतन्त्रको मूल्य मान्यता होला नि त
खबरदारी विरोध गर्न लोकतन्त्रमा दिनुपर्ला नि त
अरु पक्ष पनि त शक्तिको रुपमा होलान् नि त
झर्छ र खान्छु भन्ने आशावादी पनि त होलान् नि त ?
जस–जसले विरोध गर्छ उसले जिम्मा लिन्छ
उनीहरुको विचारलाई बन्देज लाग्न सक्छ ।
के थाहा बन्देज लगाएकाहरु जाग्न सक्छन, भाग्न पनि सक्छन्
भैरहेकाहरु अनुमतिहरुसँग मिल्न पनि सक्छन्
शासन सर्वोच्च हुन्छ, नियन्त्रण राख्न खोज्छ
राजधानी काठमाडौँ मात्रै हैन, भैँसेपाटी– सातै प्रदेशका मुख्यालय पनि हुन्
राजाहरु धपाइएका भन्दथे, मारिए मरे पनि भन्दै थिए
ठिक्कै छ राजतन्त्र पो छैन राजाहरु छन् नि
‘देखिने ‘राजावादी’ भन्दा नदेखिने ‘राजावादी’ खतरनाक हुन्छन्
गणतन्त्रको बर्को ओढी हिँड्ने ‘राजावादी’ अझ धेरै खतरनाक हुन्छन्
दिनमा गणतन्त्रवादी, रातमा ‘राजावादी’ हुनेहरू झन् खतरनाक हुन्छन्
गणतन्त्रको तालाचाबी बोकिहिँड्ने ‘राजावादीहरू’ सर्वाधिक खतरनाक हुन्छन् ।’ (खेम थपलिया, वामपन्थी नेता, प्रगतिवादी, बुद्धिजीवी, लेखक–समालोचक । सामाजिक सञ्जालको भित्ताबाट । १६ चैत वि.सं. २०८१) ।
नवराजाहरुको आपसमा टस्सल, पुराना र नयाँ राजाको हुँदै छ रस्साकस्सी
उहाँहरु जनताको लागि आदेश जारी गर्नुहुन्छ
कहिले कुन दरबारबाट, कहिले कुन राजधानीबाट
राजा नभए पनि दरबार थुप्रै खडा छन्
चप्पल थिएन हिजो अहिले पार्टी अफिसको बैठकमा कार राख्ने स्थान हुन्न
राजधानी र दरबारका राजाहरु पनि बेलाबखत फेरिन्छन्
बिक्छन नभन्नुहोस्, राजाहरु गठबन्धनले समन्वय गर्छन्
नभए देश, जनसेवाको लागि विचारका विलय भन्नुस् न
अँध्यारो मुख लाएर बार्दलीमा नभए मध्यरातमा सहमति, मौन सहमति
हैन भन्ने राजाहरुको अधिकार छ, निजी विचार हो उहाँहरुको
भाषा फरक होलान्, बोल्न दिनुपर्छ देश जनलाई स्वीकार नभए पनि
नयाँ राजाका युवराजहरु पनि देखिएका छन्
नवराजाका युवराजहरु आ–आफ्ना दरबारलाई खुशी पार्न चर्को बोल्न थालेका छन्
लोकतन्त्रका राजा पो हुन् त, देशको होस् वा नागरिकताको बेच्न अस्मिता सक्छन्
या व्यक्तिगत नाफा नोक्सानको हिसाबमा स्वाभिमान बन्धक राख्न छुट छ
जनतालाई यसो नगर है भनेर खबरदारी गर्न छुट हुनुपर्छ
राजाको चासो जसले राख्छ उसलाई सम्झाइदिनु कि
हाम्रा मतले राजतन्त्र नभए पनि राजाहरु सिर्जना गर्न सक्छन् कति शक्तिशाली मतदाता
परेवा, काग, भँगेरा मिलेर नै चरेका देखिन्छ बारीमा खेतमा
राजतन्त्रका राजा र गणतन्त्रका जनताको मतले उत्पन्न राजा मिलेर
शासनमा चर्न खोजेका हुन् त ?
‘प्रश्नहरु जति वृद्धि भैरहेका छन्, जवाफ त्यति नै घटिरहेका छन्
होसमा पनि एउटा पूरा देश बेहोस भएको छ’ (सर्वेश्वरदयाल सक्सेना, भारत) ।
देखेको नलेखे, नबोले मरेसरह नै हुन्छु भन्ने सोचेर
आफ्नो निजी विचार राख्न सक्छन् तटस्थ नभएर
न्यायको पक्षमा, विकृति विसंगतिको विरुद्धको राजनीतिक संघर्षको पक्षमा
यस्ता गन्थन पोख्नेहरुले ।