स्वतन्त्र संस्था नाडा र नाईमा सवारी साधन क्षेत्रको समग्र विकासप्रति प्रतिबद्ध


नेपालमा अटोमोबाइल व्यवसायको विकास र सशक्तिकरणका लागि कार्यरत दुई संस्थाहरू ‘नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल’ (नाडा) र हालै गठन भएको नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन  ‘नाईमा’ दुवैले समग्र उद्योग प्रवद्र्धनमा प्रतिबद्धता जनाएका छन्।

नाडा विगत लामो समयदेखि अटोमोबाइल व्यवसायीहरूको साझा छाता संगठनको रूपमा नीति निर्माणदेखि व्यवसाय प्रवाहसम्म महत्त्वपूर्ण भूमिका खेल्दै आएको संस्था हो। नेपालको अटोमोबाइल क्षेत्रलाई व्यवस्थित र व्यवसायमैत्री बनाउन यसले निरन्तर पहल गर्दै आएको छ।

उता, ‘नाईमा’ भनेको मोबिलिटी सशक्तीकरणको वकालत गर्न गठित नयाँ संस्था हो, जसमा अटोमोबाइल आयातकर्ता तथा निर्माता कम्पनीहरू सदस्य छन्। यस संस्थाको उद्देश्य रणनीतिक नीतिगत वकालतमार्फत दिगो, सुरक्षित र वातावरणमैत्री मोबिलिटी प्रवद्र्धन गर्नु हो।

नाईमाले २०८२ साल वैशाख ४ गते (१६ अप्रिल २०२५) मा आफ्नो औपचारिक शुभारम्भ गर्न लागेको छ। सो अवसरमा नामिले आफ्नो स्पष्ट दृष्टिकोण, प्राथमिक कार्यक्षेत्र, दीर्घकालीन योजना र सरकारसँगको सहकार्यमा आधारित हस्तक्षेप कार्यक्रमहरू सार्वजनिक गर्नेछ।

नाडा र नाईमा दुवै संस्था स्वतन्त्र रुपमा क्रियाशील रहने स्पष्ट पारिएको छ। केही सदस्य कम्पनीहरू दुबै संघमा आबद्ध हुने भए पनि दुवैको सहअस्तित्वले अटोमोबाइल उद्योगलाई अझ समुन्नत बनाउन सघाउने विश्वास गरिएको छ।

उद्योगमैत्री नीति निर्माण, उपभोक्ता हित, सडक सुरक्षादेखि पूर्वाधार विकाससम्मका विषयमा काम गर्दै जाने प्रतिबद्धता दुवै संस्थाले जनाएका छन्। यसले नेपालको अटोमोबाइल क्षेत्र नवप्रवर्तन, दिगोपन र सन्तुलित व्यवस्थापनतर्फ अग्रसर हुने अपेक्षा गरिएको छ।