पञ्चकन्या समूहको झण्डा सगरमाथामा पु-याइने


काठमाडौं ।

पञ्चकन्या समूहको झण्डा सगरमाथामा फहराउने भएको छ ।

फिटनेस आइकन, तथा कलाकार कविता नेपालीले गर्ने सगरमाथा र लोत्से हिमालको आरोहण क्रममा पञ्चकन्या समूहको झण्डा ती हिमालमा फहराउने भएको हो ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पञ्चकन्या समूहले कबिता नेपालीको आरोहणलाई सहयोग गरेको समूहका प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठले बताउनुभयो ।

पञ्चकन्या समूहले यसअघि सन् २०१३ मा माउन्ट किलिमान्जारोमा आरोहण गर्ने सेभेन समिट्स महिला समूहमार्फत् कम्पनी सुरुवात भएको ४०औँ वार्षिकोत्सवको अवसरमा सार्वजनिक ब्यानर हिमालको चुचुरोमा पु¥याएको थियो ।

आरोहणको प्रायोजनले आर्थिक सहयोगभन्दा पनि अर्थपूर्ण, दीर्घकालीन प्रभाव सिर्जना गर्नेमा पञ्चकन्या समूहको विश्वासलाई मूर्त रूप दिने कम्पनीको विश्वास रहेको छ ।

मुक्तिनाथको पकेट मनि बचत खाता सञ्चालनमा
काठमाडौं, (नेस)
मुक्तिनाथ विकास बैंकले १५ देखि १८ वर्षका युवा पुस्तालाई लक्षित गरी ‘मुक्तिनाथ पकेट मनि बचत खाता’ सञ्चालनमा ल्याएको छ । यो बचत खाताले एसइई परीक्षा दिएर बसेका विद्यार्थीलाई फाइदा पुग्ने बैंकको विश्वास छ ।
मुक्तिनाथ पकेट मनि बचत खातामा न्यूनतम ५० रुपियाँ मौज्दात राखेर खाता खोल्ने प्रत्येक ग्राहकलाई बैंकले अर्धमासिक तथा मासिक रूपमा एकपटक निःशुल्क वित्तीय साक्षरता तथा विद्युतीय कारोबारको जोखिमसम्बन्धी ज्ञान प्रदान गर्नेछ । यो खाता खोल्ने ग्राहकले १८ वर्ष नपुगुन्जेलसम्मका लागि निः शुल्क मोबाइल बैंकिङ सुविधा प्राप्त गर्नेछन् । साथै, यो खाता खोल्दा निःशुल्क डिम्याट खाता तथा मेरो सेयर दर्तालगायत विभिन्न बैंकिङ सेवाहरूमा समेत छुट प्राप्त गर्न सक्नेछन् ।

‘टेम्पल बेल बुटिक’ होटल सञ्चालनमा
कास्की, (नेस)
पोखरामा चारतारे बुटिक श्रेणीको मान्यता लिने प्रक्रियामा रहेको नयाँ होटल ‘टेम्पल बेल बुटिक’ सोमबारदेखि सञ्चालनमा आएको छ ।रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेबान) का अध्यक्ष विश्वराज पौडेल र उहाँका भाइ भीष्मराज पौडेलको संयुक्त लगानीमा निर्माण भएको होटल पूर्ण रूपमा बुटिक अवधारणामा तयार पारिएको हो।
साढे दुई रोपनी क्षेत्रफलमा फैलिएको होटलमा ५५ कोठा छन्, जसमा प्रेसिडेन्टल र जुनियर गरी दुईवटा सुइट, पाँच सुपर डिलक्स र ४७ डिलक्स कोठा रहेका छन्।
होटलमा पुरुष र महिलाका लागि छुट्टाछुट्टै स्पा, स्विमिङ पुलसँगै हट जकुजी, नेपाली हिमालयन हेरिटेज झल्काउने ‘भोजनाकक्ष’ रेस्टुरेन्ट, १५० जनाको क्षमता भएको सभा हल ‘बुद्ध सदन’, ३० जनाको ‘मधुशाला’ बार तथा ६० जनाको ‘आटी’ फाइन डाइनिङ रेस्टुरेन्ट सुविधा उपलब्ध छन् । पौडेल दाजुभाइले यसअघि ‘चिल्ली बार’ र ‘हिमालयन ग्लोरी’ होटल समेत सञ्चालनमा ल्याएका थिए ।

नेप्सेका सबै समूहका परिसूचकमा गिरावट
काठमाडांै, (नेस)
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार उच्च अंकले घट्दै २६७०.०६ विन्दुमा झरेर बन्द भएको छ। कारोबारको सुरुआतमै गिरावट आएको नेप्से अन्तिम समयमा ३३.३३ अंकले घटेको हो।
कुल ३२२ कम्पनीका १ करोड १४ हजार ८ सय बढी कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ५ अर्ब ६५ करोड ८९ लाख रुपियाँ नाघेको छ । सोमबार कारोबारमा आएका सबै समूहका परिसूचकमा गिरावट देखिएको छ। २ सय २१ कम्पनीको सेयरमूल्य घट्दा मात्र २३ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ।

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको सेयरमूल्य सर्वाधिक ७.४६ प्रतिशतले बढेको छ भने बुटवल पावर कम्पनीको सेयरमा पनि ६ प्रतिशतभन्दा बढीको उछाल आएको छ। उता, अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको सेयरमूल्य सर्वाधिक ९.०९ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स अग्रस्थानमा रह्यो। सो कम्पनीको सेयरमूल्यमा ५० करोड ३६ लाख रुपैयाँबराबरको कारोबार भएको हो। त्यसैगरी, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ४३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

पर्यटकीय गन्तव्यको रूपमा उदाउँदै पानीटार
गणेश घिमिरे, इलाम
‘पहाडकी रानी’ भनेर चिनिने इलाम प्राकृतिक, धार्मिक र सांस्कृतिक गन्तव्यका लागि प्रख्यात मानिन्छ। यस्तै गन्तव्यहरूमध्ये पछिल्लो समय चर्चामा आउन थालेको नयाँ नाम हो—पानीटार ।
चिया बगानको सौन्दर्य हेर्न वर्षेनी हजारौं पर्यटक कन्याम पुग्ने गर्छन्। तर, कन्याम जस्तै सौन्दर्य बोकेको र प्रख्यात बन्दै गएको अर्को गन्तव्य हो पानीटार, जुन इलामको पश्चिमी क्षेत्र, देउमाई नगरपालिकामा पर्छ।
हालसम्म कन्यामलाई मात्र इलामको एक मात्र प्रसिद्ध चिया बगान मानिँदै आएको भए पनि अब पानीटार पनि कन्यामकै प्रतिस्पर्धी गन्तव्यको रूपमा स्थापित हुँदै गएको छ।
कतै अग्लो, कतै होचो तर सुसम्बद्ध चियाबारी यहाँको मुख्य आकर्षण हो। पछिल्लो समय पानीटारको लोकप्रियता बढेसँगै यहाँ फिल्म र म्युजिक भिडियो छायांकनको माग पनि वृद्धि भएको छ। यस क्षेत्रको ’भर्जिन ल्याण्ड’ प्रकृतिप्रेमी, घुम्न चाहने र कला–संस्कृतिमा रुचि राख्नेका लागि आकर्षणको केन्द्र बन्दै गएको हो।
विशेष गरी हिउँदमा वनभोज र घुमघाम गर्न आउने पर्यटकको चाप बढ्ने गर्छ। यहाँको सामुदायिक वन क्षेत्रको करिब २५ प्रतिशत भूभागलाई वनभोज स्थलका रूपमा विकसित गरिएको छ।
पहिला स्थानीय तहबाट खासै चासो नदेखिएको पानीटार क्षेत्रप्रति अहिले भने ध्यान जान थालेको छ। देउमाई नगरपालिका–३ का वडाध्यक्ष पदमबहादुर कटुवालका अनुसार प्रदेश र संघीय सरकारसँगको समन्वयमा भौतिक पूर्वाधार विकासको काम भइरहेको छ। पार्क निर्माण, सिंढी निर्माण तथा वनभोज स्थलको व्यवस्थापन जस्ता कार्य तीव्र रूपमा अगाडि बढाइएको छ।
श्रीअन्तु, कन्याम, माइपोखरी जस्ता इलामका चर्चित पर्यटकीय स्थलहरूसँग तुलना गर्दा पनि पानीटार अब ती गन्तव्यहरूसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा पुग्न लागेको देखिन्छ। यहाँ होमस्टे, होटल सञ्चालनमा आउने क्रम त बढेको छ, तर व्यवस्थित खानपान, बासको व्यवस्था र प्रचारप्रसारको अभावले पर्यटक आगमन अपेक्षाअनुसार वृद्धि हुन सकेको छैन।
स्थानीय युवाहरूले पर्यटन प्रवद्र्धन र स्थानीय उत्पादनको प्रचार गर्ने उद्देश्यसहित “प्रथम देउमाई कृषि तथा पर्यटन महोत्सव“ आयोजना गर्न लागेका छन्। आउँदो चैत २८ देखि वैशाख ३ गतेसम्म हुने उक्त महोत्सवमा करिब सात हजार पर्यटक भित्र्याउने लक्ष्य रहेको महोत्सव आयोजक समितिका महासचिव सन्तोष तामाङले जानकारी दिनुभयो।
भारत, भुटान लगायत नेपालका विभिन्न जिल्ला बाट पर्यटक आउने पानीटारमा हाल वार्षिक करिब १० हजार पर्यटकको आगमन हुने गरेको छ। यदि समयमै पर्यटकीय पूर्वाधारको विकास गर्न सकिएमा पानीटार इलाम मात्र होइन, नेपालकै प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना प्रबल रहेको स्थानीयको विश्वास छ।

ट्रम्पको कलमपछि पर्यटक ह्वात्तै घटे
काठमाडौं, (एजेन्सीहरू)
अमेरिकामा विदेशी पर्यटकहरूको संख्या घट्दै गएको छ । एजेन्सीहरूका अनुसार, यसको मुख्य कारणहरू राजनीतिक वातावरण, बढ्दो शुल्क र ट्राभल नीतिमा आएका परिवर्तनहरूको बताइएको छ ।
सन् २०२३ मा अमेरिकाले ६६ दशमलव ५ मिलियन पर्यटकलाई स्वागत गरेको थियो । २०२४ मा त्योभन्दा बढी पर्यटक आउने अपेक्षा गरिएको थियो, तर ‘टुरिज्म इकोनोमिक्स’को प्रतिवेदनअनुसार यो वर्ष पर्यटकको संख्या ५ दशमलव ५ प्रतिशतले घट्न सक्नेछ । यसले सन् २०२५ सम्ममा १८ अर्ब अमेरिकी डलरको आर्थिक घाटा निम्त्याउने अनुमान गरिएको छ ।
हालै अमेरिकाले क्यानाडाली सामानहरूमा २५ प्रतिशत कर लगाएको छ, जसले गर्दा क्यानाडाली पर्यटकहरूको संख्या ४५ प्रतिशतले घटेको छ । ‘एयर क्यानडा’ले पनि मागको अभावमा अमेरिकाका केही उडानहरू रद्द गरेको छ । एक सर्वेक्षण अनुसार ३६ प्रतिशत क्यानाडाली पर्यटकहरूले अमेरिकाको यात्रा रद्द गरेका छन् । कतिपय विदेशी पर्यटकहरूले अमेरिकाको राजनीतिक वातावरणलाई यात्रा रद्द गर्नुको प्रमुख कारण बताएका छन् । ट्रम्प प्रशासनका नीतिहरू र बयानहरूले युरोपमा अमेरिकाको छविमा नकारात्मक प्रभाव पारेको देखिन्छ । बेलायत, जर्मनी, स्वीडेन र डेनमार्कजस्ता देशहरूमा ५० प्रतिशतभन्दा बढी मानिसहरूले अमेरिकालाई नकारात्मक रूपमा हेर्न थालेका छन् ।
अमेरिकामा आउने पर्यटकहरूको संख्या घट्दै गर्दा बर्मुडा, युरोपलगायतका देशहरूले यसको फाइदा उठाइरहेका छन् । क्यानाडाली पर्यटकहरू अहिले बर्मुडा र युरोपतिर आकर्षित भएका छन्, जसले त्यहाँको पर्यटन राजस्व बढाएको छ ।
ब्राजिल, टर्की र कोलम्बियाजस्ता देशका पर्यटकहरूले अमेरिकी भिसाका लागि ७ सय दिनसम्म कुर्नुपर्ने बाध्यता छ । यसले सन् २०२६ मा अमेरिकामा आयोजना हुने फिफा विश्वकप र २०२८ को ओलम्पिक खेलहरूमा समेत असर पार्न सक्ने सम्भावना छ । यद्यपि, अमेरिकी अधिकारीहरूले पर्यटन प्रवद्र्धनका लागि विभिन्न कदम चालेको बताएका छन् ।