क्रिकेटमा पुलिस फेरि उत्कृष्ट


काठमाडौं ।
नेपालको घरेलु क्रिकेटमा पुलिस क्लब उत्कृष्ट टोली साबित भएको छ । शनिबार सम्पन्न पीएम कप राष्ट्रिय एकदिवसीय प्रतियोगितामा उपाधि जित्नु यसको ज्वलन्त उदाहरण हो । फाइनलमा पुलिसले चिर परिचित प्रतिद्वन्द्वी त्रिभुवन आर्मीलाई ६ विकेटले सजिलोसँग हरायो ।

आर्मीका लागि ब्याटिङ र बलिङ दुबैमा पुलिससँग सामना गर्ने कुनै जवाफ नै थिएन । त्यसो त आर्मीले यस प्रतियोगिताको लिगमा पुलिसलाई हराएको थियो । तर, फाइनलमा पुलिसले आर्मीको कुनै पनि रणनीति सफल हुन दिएन । पुलिसको यो चौथो उपाधि हो । यसअघि पहिलो संस्करणमा आर्मीसँग उपाधि साझेदारी गरेको पुलिसले २०१९ र २०२४ मा उपाधि जितेको थियो । २०२४ को फाइनलमा पनि पुलिसले आर्मीलाई नै पराजित गरेको थियो ।


यसपटक पनि उपाधि जितेपछि पुलिस प्रतियोगितामा सर्वाधिक उपाधि जित्ने टोलीसमेत बन्यो । पुलिसले ४ पटक उपाधि जित्दा आर्मी र एपीएफले २–२ पटक जितेका छन् । उता आर्मीको यो लगातार तेस्रो पटक फाइनलमा पराजित थियो भने समग्रमा पाँचौं पटक फाइनलमा उपविजेता बन्यो । आर्मीले दुई पटक भने उपाधि जितेको छ । तर, अहिलेसम्म भएका सातै संस्करणको फाइनल पुगेर आर्मीले एउटा कीर्तिमान भने राखेको छ ।

लक्ष्य १ सय ५५ रन
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा आर्मीले १ सय ५५ रनको लक्ष्य दिएको थियो । आर्मीका लागि बसिर अहमद एक्लैले पुलिसतर्फका चुनौती सामना गरेका थिए । बसिरले ८६ रन जोड्दा कप्तान विनोद भण्डारीसहित बाँकी सबै खेलाडीको प्रदर्शन उल्लेखनीय थिएन । पुलिसका करण केसी र सागर ढकालले सर्वाधिक ३÷३ विकेट लिएका थिए ।
पुलिसलाई विजेता बनाउन कुशल भुर्तेलले सर्वाधिक ६१ रन जोडे । पहिलो विकेटका लागि कुशलले अमित श्रेष्ठसँग ७७ रनको साझेदारी गर्नु नै उपाधि पक्का भएको थियो । अमितले ३९ रन बनाए । आर्मीका लागि साहब आलमले ३ विकेट हासिल गरेका थिए ।