तिलोत्तमा गोल्डकपमा चर्च ब्वाइज विजेता

0
Shares

बुटवल ।

ललितपुरको चर्च ब्वाइज युनाइटेडले बुटवलमा भएको २३ औं संस्करणको तिलोत्तमा गोल्डकपको उपाधि जितेको छ ।

देविनगरस्थित एन्फा टेक्निकल मैदानमा शनिबार सम्पन्न फाइनलमा चर्च ब्वाइजले विभागीय टोली एपीएफलाई २–० गोलले हराएको हो । योसँगैं चर्च ब्वाइजले १२ लाख १२ हजार २२२ रुपैयां प्राप्त ग¥यो । उपविजेतामा सीमित भएको एपीएफले ६ लाख ६६ हजार ६६६ रुपैया हासिल गरेको थियो ।

चर्च ब्वाइजलाई उपाधि दिलाउन रिचर्ड विल्सन र राज भुषालले गोल गरेका थिए । खेलको १९औं मिनेटमा विल्सनले सेट पीसको सदुपयोग गरे । राजको कर्नरमा आएको बललाई उनले हेडिङमार्फत जाली चुमाएका हुन् । ६५औं मिनेटमा राज आफैंले गोल गरे । अमन लामाले पेनाल्टी बक्सनजिकबाट प्रहार गरेको फ्रिकिकलाई एपीएफका गोलकिपर विशाल गुरुङले बचाए । तर, रिबाउन्डमा राजले गोल गरेका थिए ।

प्रतियोगितामा चर्च ब्वाइजका विवश चौधरी गोलकीपर, विल्सन फरवार्ड र आशिक थापा मगर कोचमा उत्कृष्ट घोषित भए । यस्तै, एपीएफका स्यामुयल सुनार मिडफिल्ड र मानबहादुर राना डिफेन्समा उत्कृष्ट घोषित भए । प्रतियोगिताको उत्कृष्ट खेलाडी हुँदैं चर्च ब्वाइजका अमन लामाले स्कुटर प्राप्त गरे ।