नेपाल पत्रकार महासंघद्वारा विरोध सभाको आयोजना


काठमाडौं ।

पूर्वराजा समर्थकहरूको तिनकुनेमा भएको हिंसात्मक आन्दोलनको समाचार संकलन गर्ने क्रममा पत्रकार तथा सञ्चारकर्मी सुरेश रजकको आगलागीमा परेर मृत्यु भएको घटनाको विरोधमा शनिवार नेपाल पत्रकार महासंघले माइतीघर मण्डलामा विरोध सभाको आयोजना ग¥यो ।

उक्त सभामा आन्दोलनकारीले लगाएको आगोमा जलेर मृत्यु भएका पत्रकारप्रति श्रद्धाञ्जली र सञ्चार माध्यमविरुद्ध भएको हमलाको छानबिन र हत्यारालाई कडा कारबाहीको माग गरिएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ वर्तमान पदाधिकारीहरू कार्यवाहक अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, महासचिव रामजी दाहाललगायत नागरिक समाजका अगुवाहरूको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा पत्रकार महासंघका कार्यबाहक अध्यक्ष दीपक आचार्यले पत्रकारको जिउधनको सुरक्षाका लागि सम्पूर्ण पत्रकारहरू एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।आन्दोलनको क्रममा अन्नपूर्ण पोष्ट दैनिकको कार्यालयमा आगजनी भएको थियो भने कान्तिपुर टेलिभिजनमा हिंस्रक समूह प्रवेश गर्न खोजेको थियो ।

प्रहरीले रोकेपछि ढुंगामुढा गर्ने र समाचार कक्षमा रहेका पत्रकारलाई आतंकित पारेर काम गर्न नसक्ने अवस्था सिर्जना गरिएको थियो । त्यसै गरी अनलाइन खबरका पत्रकार दिनेश गौतमको समाचार संकलनकै क्रममा खुट्टा भाँचिएको छ । यी सबै घटनालाई समष्टिमा लिएर पत्रकार महासंघले विरोध सभाको आयोजना गरेको हो ।

सोही अवसरमा प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेले शुक्रवारको घटनाबाट देशभरिका संचारकर्मीहरू स्तब्ध भएको बताउनुभयो । सञ्चार उद्यमीको तर्फबाट ऋषि धमलाले लोकतन्त्रमाथिको प्रहार नेपाली सञ्चार जगतले नस्वीकार्ने बताउनुभयो
नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहालले राजावादीको आन्दोलन राजाको पुनःस्थापनाको लागि नभई लोकतन्त्र मास्नका लागि भएको पुष्टि भएको बताउनुभयो ।

उहाँले आन्दोलन स्वतन्त्र प्रेसलाई समाप्त गर्नका लागि थियो भन्ने कुरा पनि प्रष्ट भएको टिप्पणी गर्नुभयो ।विरोध सभामा सहभागी पत्रकारहरूले मृतक पत्रकारको परिवारलाई क्षतिपूर्ति दे, मिडियाहाउसमाथिको आक्रमण बन्द गर, प्रेस स्वतन्त्रता जिन्दावाद जस्ता नारा लगाएका थिए ।

नेपाल पत्रकार महासंघद्वारा छानबिन समिति गठन

नेपाल पत्रकार महासंघको शनिवार बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले पत्रकारको योजनावद्ध हत्या र सञ्चारगृह तथा पत्रकारमाथि गरिएको आक्रमण तथा आगजनीको विरोधमा थप आन्दोलनका कार्यक्रम तय गरेको छ । बैठकले शनिवार क्षति पु¥याइएका सञ्चारगृहको अनुगमन र घाइते सञ्चारकर्मी र सञ्चार सामग्रीको विवरण संकलन गर्ने, आइतबार कार्यस्थलमा कालोपट्टी बाँधेर काम गर्न सबै सञ्चारकर्मीलाई आह्वान गर्ने, सोमबार केन्द्रीय समिति, प्रदेश समिति र शाखामार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउने र मंगलवार सरोकारवाला संगठनहरूसँग छलफल गर्ने निर्णय गरेको छ ।

यस्तै, मारिएका पत्रकार सुरेश रजक सम्बद्ध सञ्चारगृह, उनको परिवारसँग छलफल गरी प्रतिवेदन तयार पार्न उपाध्यक्ष उमिदप्रसाद बागचन्दको नेतृत्वमा समिति गठन गरेको छ । त्यसै गरी पत्रकार रजकको हत्याविरुद्ध एभिन्युज टेलिभिजनले गम्भीर आपत्ति व्यक्त गर्दै सरकारसँग रजकलाई न्याय दिलाउन र सहिद घोषणा गर्न माग गरेको छ ।यस्तै, मिडिया एलायन्स नेपालद्वारा घटनाप्रति गहिरो शोक र आक्रोश व्यक्त गर्दै मृतक पत्रकार रजकको साहसिक र सत्यको खोजी गर्ने समर्पणलाई सम्मान गर्दै मृतकको परिवारप्रति समवेदना प्रकट गरेको छ ।

घटनामा सरकार र सुरक्षा निकायको लापरबाही, गैरजवाफदेहिता, प्रहरी महानिरीक्षक र प्रमुख जिल्ला अधिकारीसँगको सम्पर्क प्रयासहरू असफल भएको उल्लेख गर्दै मिडिया एलायन्सले घटनाको निष्पक्ष र गम्भीर अनुसन्धानको माग गरेको छ । मिडिया एलायन्स नेपालले अपराधीलाई कारबाही नगरेसम्म मौन नबस्ने चेतावनी पनि दिएको छ । त्यसै गरी कामना प्रतिष्ठान शाखाले पनि दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ । प्रतिष्ठान शाखाले मृतक रकजप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।