काठमाडौं ।
सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको छ । साथै सरकारले प्राधिकरणको नयाँ कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उर्जा जलश्रोत तथा सिँचाइं मन्त्री दीपक खड्काको प्रस्तावमा कुलमानलाई पदमुक्त गर्ने निर्णय गर्दै नयाँ कार्यकारी निर्देशकमा शाक्यलाई नियुक्त गरिएको एक मन्त्रीले जानकारी दिए । झण्डै तीन साता अघि बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई कार्यसम्पादन मूल्याङ्कनका आधारमा पदबाट किन नहटाउने भन्दै तीन दिने स्पष्टीकरण सोधेको थियो ।
घिसिङले दिएको जवाफ चित्त नबुझेपछि सरकारले घिसिङलाई प्राधिकरणको जिम्मेवारीबाट हटाएर मन्त्रालयमा तान्ने निर्णय गरेको हो । स्पष्टीकरण सोध्नुअघि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले घिसिङलाई कार्यसम्पादनमा शून्य नम्बर दिएको थियो । आफ्नो कार्यसम्पादन मूल्याङ्कन समयमै पेश नगरेको भन्दै मन्त्रालयले उनलाई शून्य नम्बर दिएको दाबी गरेको छ । ऊर्जा मन्त्रालयले घिसिङलाई गत साता मंगलबार पनि २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।
त्यसअघि सरकारलाई थाहै नदिई घिसिङले भारतबाट नेपाल आयात हुने विद्युत्मा महसुल दर बढाएको आरोप सरकारी पक्षको छ । यसअघि गत पुस २२ गते पनि ऊर्जा मन्त्रालयले घिसिङलाई सात बुँदे स्पष्टीकरणसँगै पदबाट किन नहटाउने भन्ने प्रश्न सोधेको थियो ।
घिसिङमाथि सञ्चालक समितिका बैठकहरूमा सरकारी निकायको कार्यकारी प्रमुखको हैसियत भुलेर पटक–पटक असहयोगी भूमिका खेलेको, सामान्य विषयवस्तुमा समेत विवाद गर्ने गरेको, पदीय मर्यादाविपरीत कार्य गरेको आरोप मन्त्रालयले लगाएको थियो ।
प्रतिक्रिया