आजकाल हाम्रो समाजमा हरेक विषयलाई नकारात्मक रुपले विश्लेषण गर्ने गरिएको पाइन्छ । यस्तो सोचले मुलुकलाई पछाडि धकेल्नेसिवाय केही गर्दैन ।
त्यसैले यस्तो सोचमा कमी ल्याउने प्रयास गर्नु आजको आवश्यकता हो । यसै आवश्यकतालाई मध्यनजर गर्दै यो आलेख लेखिएको छ । स्ट्यानफोर्ड विश्वविद्यालयको अनुसन्धानका अनुसार हरेक सफलतामा ८८ प्रतिशत सकारात्मक सोच र १२ प्रतिशत शिक्षाले काम गरेकोे भन्ने ठहर भएको छ ।
त्यस कारण सकारात्मक सोच महत्वपूर्ण मानिएको हो । सकारात्मक सोचले दिमागलाई आशावादी बनाउँछ, जीवनको उज्ज्वल पक्ष देख्छ । सकारात्मक मानसिकता भएकासँग जहिले पनि अधिक आनन्द, खुशी र स्वस्थता रहेको पाइएको छ । यसले तनावको स्तर कम गर्न मद्दत गर्दछ । सकारात्मक परिणामको आशा गरे त्यसले दिने परिणाम पनि सकारात्मक नै हुन्छ भन्ने तथ्य सत्य साबित हुन थालेको छ ।
अहिले केही मानिसले समाजमा सबै बिग्रिएको, भत्किएको, बेथिति र भ्रष्टाचार बढेको, युवाको भविष्य राम्रो नभएको, युवाहरु सबै विदेश गएर देश रित्तिएको र वृद्धाश्रम हुन थालेको आदि निराशाको भाष्य सृजना गरिरहेको पाइन्छ । वास्तवमा यो भाष्य राम्रो होइन । यस्तो भाष्यबाट समाजमा झनै निराशा फैलिई थप समस्या उत्पन्न गर्दछ अर्थात् ताईको माछा मुक्त हुन खोज्दा अगेनोमा परेको जस्तो मात्र हुुन्छ ।
समाजले देशलाई बदल्ने नेतृत्व खोजिरहेको पक्कै हो । पुराना दलहरुले समाजमा सकारात्मक सन्देश दिन नसकेको र नयाँ अन्य दलहरुलाई समाजले विश्वास गरिनहालेको अहिलेको अवस्था हो । नेपाल प्राकृतिक स्रोत र साधनले सम्पन्न मुलुक भए तापनि सक्षम नेतृत्व र व्यवस्थापनको अभावले यो अवस्था आएको हो । यदि देशमा सक्षम राजनीतिक नेतृत्व, रोजगारमूलक शिक्षा, प्रत्येक पालिकाहरुमा कृषि शिक्षा, तालिम, देशव्यापीरुपमा उत्पादनमा आधारित उद्योग सञ्चालन गर्ने हो भने देश समृद्ध हुन सम्भव छ ।
यो सम्भावना हामी सबै युवाशक्तिले देख्न सक्नुपर्दछ र यो सम्भावनालाई कसैले नकार्न सक्तैन पनि । मानव जातिको विकाससँगै आजसम्म हेर्दा सबै देशका मानिस एकठाउँबाट अर्काे ठाउँ जाने–आउने, विकासका अनुभव साटासाट गर्नै, देख्ने, हेर्ने, सिक्ने गरेको कारण विश्व यो अवस्थामा आइपुगेको हो । कुनै पनि देशका युवा अन्य देशमा जानै हुँदैन, आफ्नै देशमा मात्र बस्नुपर्दछ भन्ने हो भने देशमा नयाँ प्रविधिको विकास हुन सक्तैन ।
हामी युवा विदेश जाने हो तर उतै घरजम गरेर नबसी स्वदेश फर्किएर त्यहाँ सिकेको ज्ञान, सीप, प्रविधिलाई आफ्नो देशमा प्रयोग गर्न सक्नु वर्तमान समाजको चाहना र आवश्यकता हो । विदेश जानु गलत होइन, विदेशमा मात्र युवाको भविष्य छ भन्ने सोच्नुचाहिँ गलत हो । अहिले यस्तै गलत भाष्य निर्माण भइरहेको देखिन्छ । आफ्नो थैलीको मुख बलियो बाँध्नु, अरुलाई दोष नलगाउनु भन्ने नेपाली आहान नै छ ।
हामी हाम्रो अर्थतन्त्र बलियो र स्वाधीन बनाएर परनिर्भरताबाट आत्मनिर्भर बन्ने हो । यस सिलसिलामा केही दीर्घकालीन महत्वका महत्वपूर्ण पुर्वाधार आयोजनाहरु निर्माण हुँदै छन्, केही बनिसकेका पनि छन् । सरकारको जिम्मेवारी बाँडफाँड, जवाफदेहिताको सुनिश्चितता, स्रोत व्यवस्थापन, क्षमता विकास र सुशासनका प्रयास तथा बाह्य क्षेत्र सुधार गर्न चालिएका कदम, मूल्य अभिवृद्धि करलगायत समग्र कर प्रणालीमा गरिएका सुधारका प्रयास अनि सोबाट देखिएका सकारात्मक प्रभावबारे हेर्दा केही सुधार गर्न खोजेकै देखिन्छ ।
तर वर्तमान दैनिक जीवनमा जनताले बेहोर्नुपरेका समस्याहरु, भ्रष्टाचार, घुसखोरी, ढिलासुस्ती, महँगी र यातायातको समस्यामा त्यति ध्यान दिन नसकेको देखिन्छ । जति तीव्र गतिमा विकास निर्माण कार्यान्वयन हुनुपर्ने हो त्यसअनुसार गर्न नसकेको मात्र हो । त्यस्ता विकृति, विसंगति हुनुमा छोटो अवधिको लोकतान्त्रिक, सँघीयताको अभ्यासमा रहेको र सो अनुकूलका ऐन, कानुन, नियम निर्माण र प्रादेशिक संरचना तयार गर्न समय लागेर होला भनी आँकलन गर्न सकिन्छ । अझै कति ऐन, कानुन निर्माण हुन बाँकी नै छ । सरकारी आयोजनाका हरेक कार्य गर्न ऐन, कानुनको आवश्यक पर्ने र सो ऐन, कानुन निर्माण गरी बाटो फुकाउने काममा लाग्दा केही समय विलम्ब भएकै हो । तर अहिले समाजमा केही नै नभएकोचाहिँ होइन र भविष्यमा गर्न सकिने उज्याला सम्भावनाका पक्षहरु मेटिइसकेको अवस्था पनि होइन ।
केही गरेर देखाउनकै लागि आवश्यक पर्ने देशभित्रको आन्तरिक राजनीतिक सहमति र दुई छिमेकी देशसँगको सन्तुलित सम्बन्धलाई बलियो बनाउने काम भइरहेको देखिन्छ । यस प्रक्रियामा राष्ट्रियता बेचेर, लम्पसार परेर होइन, पारस्परिक लाभ, सम्मान र सहअस्तित्वका आधारमा अगाडि बढ्ने प्रयासमा गएको देखिएकै छ । हामी हाम्रा छिमेकी परिवर्तन गर्न सक्तैनौँ । असंलग्न पञ्चशीलको सिद्धान्तअन्तर्गत छिमेकीप्रधान कूटनीतिलाई सन्तुलित ढंगले सञ्चालन गर्न सक्नु हाम्रो बुद्धिमानी र बाध्यता हो । यही सम्बन्ध रहेको कारण गाह्रोसाँगुरो परेको बेला चीनले असल छिमेकीपन देखाउँदै आएको र भर्खरै व्यापार पारवहनलगायत विभिन्न सन्धिसम्झौता भइसकेको अवस्था छ ।
केही अघि नेपाल भ्रमणको सम्बोधन भाषणको क्रममा पनि चीन र नेपालबीच कुनै समस्या छैन, बरु मित्रता मात्र छ भनी चीन पक्षबाट आत्मीयता प्रकट भएको थियो । तसर्थ यस्तो विकसित र शक्तिशाली देश चीनले प्रदर्शन गरेको आत्मीयता साँच्चिकै नेपालको लागि एउटा शक्ति र ऊर्जा हामीले प्राप्त गरेकै छौँ । अब हामीले यसै शक्ति र ऊर्जालाई प्रयोग गर्दै रेलमार्ग सम्भाव्य अध्ययन र सुरुङमार्ग निर्माणलगायत गरिएका २० वटा सम्झौताहरुको सफल कार्यान्वयन गराउन सक्नुपर्दछ । सफल कार्यान्वयन गराउने क्रममा हामीले सम्बद्ध ऐन, कानुन, नियम निर्माण गरे पनि स्थानीय नागरिक तहबाट विमिन्न झमेला, मुद्दामामिला उठाई बाधा अवरोध गर्ने परिपाटी देखिने गरेको छ, जसले गर्दा लगानीकर्ताहरु हतोत्साही भई अन्य देशतर्फ आकर्षित हुने अवस्था रहेको छ ।
यसले गर्दा विकास निर्माण सुस्त गतिमा गएको मात्र हो । यस्तो अवस्थाको अन्त्य गर्ने कुरामा स्थानीय नागरिकको महत्वपूर्ण भूमिका रहन्छ नै । यसको लागि सबै तह र तप्कामा रहेका हामी सबै देशभक्त नागरिकले मुलुकप्रतिको बफादारिता प्रकट गर्न र कर्तव्य निर्वाह गर्न चुक्नुहुँदैन । हामीले आजसम्म अधिकार मात्र खोज्यौं तर कर्तव्यतर्फ कहिल्यै ध्यान दिन सकेनौं । जबसम्म प्रत्येक नागरिकले आफ्नो मुलुकप्रतिको जिम्मेवारी महसुस गर्दैनौं वा कर्तव्य निर्वाह गर्दैनौं तबसम्म मुलुक विकास हुन सक्तैन । कुनै पनि मुलुकमा समृद्धि आउन कठोर अनुशासन पालन गर्नै पर्दाे रहेछ भन्ने तथ्य चिनियाँ विकासबाट प्रस्ट हुन्छ ।
हामी सबैमा हेक्का रहोस् कि विश्वका हरेक राज्यमा नागरिकका हक र अधिकार मात्र हुँदैनन्, उसबाट राज्य र समुदायले थुप्रै कुराको अपेक्षा पनि गरेको हुन्छ ।
राज्यले संविधानमार्फत जारी गरेका आदेश वा राज्यले कानुनीरुपमा नागरिकबाट अपेक्षा गरिएका व्यवहार र कार्य नै नागरिकका कर्तव्य हुन् । कर्तव्यको सरल अर्थ गर्नै पर्ने कार्य हुन आउँछ । नेपालको संविधानको धारा ४८ मा यससम्बन्धी व्यवस्था गरिएको पाइन्छ । जसअनुसार राष्ट्रप्रति निष्ठावान् हँुदै नेपालको राष्ट्रियता, सार्वभौमिकता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु, संविधान र कानुनको पालना गर्नु, राज्यले चाहेका बखत अनिवार्य सेवा गर्नु, सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नुपर्नेसमेतका संवैधानिक नागरिक कर्तव्य निर्दिष्ट गरिएको छ । तर दुःखद पक्ष, यी संवैधानिक नागरिक कर्तव्य हामी नागरिक तहबाट पनि पूरा भएको देखिँदैन ।
बरु अरुलाई गाली, आलोचना गर्नमा नै समय खर्चिएका हुन्छौँ । यसतर्फ हामी सबैले आत्मसमीक्षा गर्नै पर्छ । निर्वाचनका बेला योग्य, सक्षम उम्मेदवारलाई विजय गराउन सकेका छैनौं । गलत राजनीतिक जालझेलमा फसेर अनुचित मतदान गर्न पुगेका हुन्छौं । त्यसै गरी सार्वजनिक साधन र शक्तिको प्रयोग गरी जनतालाई सेवा, सुरक्षा र सुव्यवस्थाको प्रत्याभूति गर्ने राज्यको स्थायी संयन्त्र प्रशासन स्वच्छ, संयमित र विवेकशील गराउन सकेका छैनौं । जनताको लागि खर्चिएको साधन र प्रयोग भएका शक्तिले जनताको आकांक्षालाई सम्बोधन गरिनुपर्दथ्यो । त्यो राज्य पक्षबाट हुन सकिरहेको छैन ।
व्यवहार र कार्यशैलीलाई नैतिक र व्यवस्थित गराउने पक्ष नै आचरण हो । आचरण नै सार्वजनिक व्यवहारलाई सार्वजनिक इच्छाअनुरुप लैजाने माध्यम हो । राज्यको वैध शक्ति र सार्वजनिक कोषको व्यवस्थापन गर्ने महत्वपुूर्ण जिम्मेवारी पाएका कर्मचारीको व्यवहार राज्यको आकांक्षा अनुरुपको हुनुपर्दछ तर अहिले हुन सकिरहेको छैन । अब हामी देशबाट भागेर होइन, देशमा नै बसेर सुधार गर्ने कार्यमा एकमत भयौँ भने पक्कै पनि सुधार हुन सक्नेछ ।
प्रत्येक देशभक्त नागरिकले स्वार्थहीन, सदाचार, वस्तुपरकता, जवाफदेहिता, खुलापन, इमानदारी र कुशल नेतृत्व गर्न सकेमा मुलुक केही समयभित्रै कायापलट हुने तथ्य सिंगापुर, मलेसिया, दक्षिण कोरिया मात्रै नभएर नजिकैको भारत र हामीभन्दा सानो देश भुटानले समेत पुष्टि गरेका छन् । नेपालको समृद्धिका लागि अति आवश्यक कुरा भनेको सकारात्मक सोच र कठोर अनुशासन नै हो ।
हरेक नागरिकले समाजमा सकारात्मक सोच राखेर हामी गर्न सक्छौँ भन्ने दृढ विश्वासका साथ विकास निर्माणमा जुटी राष्ट्रिय सम्पत्तिको संरक्षण गर्न सकेमा समाज समृद्धिमा टेबा पुग्ने निश्चित छ । अतः हामी सबैले सकारात्मक सोच राखेर समाजलाई समृद्ध बनाऔँ ।
(लेखक प्रसाई अधिवक्ता हुनुहुन्छ ।)
प्रतिक्रिया