पूर्वराजालाई पार्टी खोलेर राजनीतिमा आउन देउवाको चुनौती


काठमाडौं ।

सार्वजनिक कार्यक्रममा कमैमात्र देखिँदै आउनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर राजनीतिमा आउन चुनौती दिनुभएको छ ।

नेपाली कांग्रेस वागमती प्रदेश प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रममा सभापति देउवाले पूर्वराजा ज्ञानेन्द्रलाई आफूले राम्रोसँग चिनेको उल्लेख गर्दै उनी संवैधानिक राजा बन्न लायक नभएको बताउनुभएको छ । पछिल्लो केही समययता राजतन्त्र स्थापना र हिन्दु राज्य कायम गर्नुपर्ने भन्दै पूर्वपञ्चहरूको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीले आन्दोलन गरेपछि सभापति देउवाले राजालाई चुनौती दिँदै ज्ञानेन्द्र संवैधानिक राजा बन्न पनि लायक नभएको टिप्पणी गर्नुभएको छ ।

उहाँले पूर्वराजा ज्ञानेन्द्रलाई आफूले नजिकबाट चिनेको र पूर्वराजाको हैसियत के हो भन्ने पनि आफूलाई राम्रोसँग थाहा भएकाले बढी चुरीफुरी नगर्न पनि चुनौती दिनुभएको छ । अहिले राजा बोकेर हिँड्ने राप्रपाले पूर्वराजा ज्ञानेन्द्रलाई पार्टीको अध्यक्ष बनाएर चुनावमा भाग लिन सभापति देउवाले सुझाव दिनुभएको छ ।

सभापति देउवाले राप्रपालाई सुझाव दिँदै भन्नुभयो– ‘ज्ञानेन्द्र संवैधानिक राजा हुन लायक मान्छे होइनन् । संवैधानिक राजा हुन पनि सक्दैनन् । राप्रपा पनि पछुताउँछ । बरू राप्रपाले पार्टीको सभापति बनाए हुन्छ ।’ नेपालमा राजतन्त्र फर्किन्छ भनेर हल्ला चलाउनेहरू बिस्तारै हराउने दाबी गर्दै सभापति देउवाले गणतन्त्रको पक्षमा एक भएर अघि बढ्न नेताकार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

५ पेजमा
फोटो
एमआरसीपी यूके पेसेस परीक्षा सम्पन्न
भगवती तिमल्सिना, काठमाडौं
तेस्रो एमआरसीपी यूके पेसेस परीक्षा चैत्र ८ गते सम्पन्न भएको छ । नेपाल मेडिसिटी अस्पताललाई परीक्षा केन्द्र बनाइएको पेसेस परीक्षा चैत्र ६ गतेबाट शुरू भएको थियो । यो परीक्षा तीन दिनसम्म चलेको थियो ।
नेपाल मेडिसिटीले दुई वर्षदेखि पेसेस परीक्षा सञ्चालन गर्दै आएको छ । बेलायतबाट आयोजना गरिने परीक्षामा यस वर्ष ४३ जना परीक्षार्थीहरू सहभागी भएका थिए । यसपटक परीक्षाका लागि नेपाल, बंगलादेश, भारत र अस्ट्रेलियाबाट परीक्षार्थीहरू आएका थिए । त्यस्तै, परीक्षा सञ्चालन गर्न बेलायतबाट पाँच जना र नेपालबाटै ११ जना परीक्षक र २ जना प्रशिक्षार्थी परीक्षकको उपस्थिति रहेको थियो ।
एमआरसीपी यूके चिकित्सकहरूको लागि विश्वव्यापी रूपमा मान्यता प्राप्त योग्यता हो । यो योग्यता प्राप्त गर्नाले प्रशिक्षार्थी चिकित्सकले आफ्ना बिरामीहरूलाई उत्कृष्ट योग्य चिकित्सकको रूपमा सेवा गर्न उपयुक्त ज्ञान, सिप र मनोवृत्ति हासिल गरेको प्रमाणित गर्छ । यो परीक्षामा उत्तीर्ण भएका चिकित्सकहरूले एमआरसीपी यूकेबाट अनुमति पाएका जुनैसुकै अस्पतालमा काम गर्न सक्दछन् ।
धेरै चिकित्सकहरूले यो परीक्षा लिन र एमआरसीपी युके योग्यता पूरा गर्नको लागि बेलायतको यात्रा गर्नुपर्ने अवस्था थियो । नेपालमा यस परीक्षाको लागि केन्द्र खोलिँदा नेपालका सबै चिकित्सकहरूलाई आफ्नै देशमा परीक्षा दिने वातावरण बनेको छ । दक्षिण एसियाको परीक्षा केन्द्रमध्ये नेपाल पनि पर्दछ तर नेपालका लागि भने नेपाल मेडिसिटी अस्पताल पहिलो र एकमात्र केन्द्र हो ।
परीक्षाका लागि डा. रोड्रिक हार्वे– एक्युट मेडिसिन, डा. ब्यान अल सफर र डा. अदम स्टोन– ग्यास्ट्रोइन्टेरोलोजी, डा. भेदामुर्थी आधियामन र डा. लतना मुनाङ– जेरियाट्रिक मेडिसिन बेलायतबाट परीक्षा निरीक्षणका लागि आएका हुन् । उनीहरू रोयल कलेज अफ फिजिसियनस अफ एडिनबर्ग र रोयल कलेज अफ फिजिसियन लन्डनबाट आएका हुन् ।
त्यस्तै, नेपालबाट डा. निरज जोशी, डा. धिरज मानन्धर, डा. अर्पना न्यौपाने, डा. सञ्जितकृष्ण श्रेष्ठ, डा. सुदिप श्रेष्ठ, डा. रक्षा पाण्डे, डा. यादव के.डी भट्ट, डा. बुद्धि पौडेल, डा. सितल अधिकारी, डा. महेशराज सिग्देल, डा. रविन्द्र श्रेष्ठ परीक्षकका रूपमा सहभागी भएका थिए ।
नेपालका लागि प्रमुख परीक्षाका निरीक्षक हुन् डा. निरज जोशी । नेपाल मेडिसिटीमा ग्यास्ट्रोइन्टेरोलोजिस्ट कन्सल्टेन्ट रहेका डा. जोशीले डाक्टरको क्लिनिकल विशेषज्ञताको मूल्यांकन गर्न तथा बिरामीलाई चिकित्सकले कसरी उपचार गर्ने र कस्तो व्यवहार गर्छन् भन्ने विश्लेषण गर्न यो परीक्षा लिइने बताउनुभयो ।
‘यो फिजिसियन चिकित्सकहरूको प्रयोगात्मक परीक्षा हो । यसमा भाग लिन पहिले दुईवटा लिखित परीक्षामा उत्तीर्ण हुनुपर्छ’ –डा. जोसीले भन्नुभयो । परीक्षामा पाँचवटा स्टेसनहरू राखिएका थिए जसको माध्यमबाट परीक्षार्थीहरूलाई उनीहरूको ज्ञान, क्लिनिकल सीप, बिरामीको स्वायत्तता र सञ्चारको सम्मान गर्ने क्षमताको लागि मूल्यांकन गरिएको थियो मेडिसिटीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

फोटो
दलहरूकै अलोकप्रियताका कारण राजावादीको प्रदर्शन
पुष्करराज बुढाथोकी, भक्तपुर
मुलुकको वर्तमान राजनीतिक सन्दर्भ, नेपाली कांग्रेस र हाम्रो भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा पार्टी विधानअनुसार चल्नुपर्नेमा जोड दिइएको छ ।
सूर्यविनायकमा आयोजित पूर्व तरुण पुनर्मिलन तथा अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले मुलुकको हरेक संकट र युगको नेतृत्व कांगे्रसले गर्दै आएको भन्दै त्यसका लागि कांग्रेसमा शुद्धीकरण आवश्यक रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा तरुण दलका पूर्वअध्यक्ष विनोदप्रकाश कायस्थले गौरवपूर्ण विगत रहेको पार्टीको भविष्यलाई भरोसायोग्य बनाउन पार्टीका लागि त्याग गरेका नेता कार्यकर्ताहरूको भूमिकाको खोजी गर्न कार्यक्रमको आयोजना गरिएकोे बताउनुभयो ।
कार्यक्रममा पार्टीका उपसभापति तथा प्रदेश सांसद कल्पना तिवारी, तरुण दलका पूर्व केन्द्रीय उपाध्यक्षद्वय नागेश्वर यादव र मुक्तिलाल श्रेष्ठ, पूर्वमहासचिव पुष्पराज पराजुली, पूर्वउपमहासचिब अनिलकृष्ण प्रसाईं, नेता डा.लक्ष्मीकान्त पौडेललगायतले मुलुकको राजनीतिबारे विभिन्न कोणबाट विश्लेषण भइरहेको सन्दर्भमा कांग्रेस अग्रजले देखाएको बाटोमा विधानबमोजिम एकढिक्का भएर अगि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा देशभरबाट तरुण दलको केन्द्रीय समितिका पूर्व पदाधिकारी, सदस्य तथा वर्तमान तथा पूर्व जिल्ला अध्यक्षलगायत करिब सय जनाको सहभागिता रहेको थियो । पार्टीमा खास योगदान दिएका नेताहरू पाखा लाग्दै गएको तथा नीति र विधिभन्दा नेता, पैसा र मुडेबल हाबी भइरहेको सन्दर्भमा आयोजित भेलामा सहभागी सबैले विचार राखिसकेपछि भेलाले भाबी दिनमा कांग्रेस कसरी अघि बढ्नुपर्छ भन्ने सन्दर्भमा भएको कार्यक्रम फलदायी हुने पूर्वअध्यक्ष कायस्थले बताउनुभयो ।
कहिले नेपाली कांग्रेस कहिले माओवादी भएको र कहिले एमाले भएको भन्दै उनीहरूले कांग्रेस साच्चिकै कांग्रेस भने बन्न नसकेको ठहर गरेका छन् । पार्टी विधानअनुरूप चल्न नसकेको र त्यसले देशको लोकतान्त्रिक शक्तिका रूपमा रहेको नेपाली कांग्रेस आफै अलोकतान्त्रिक देखिएकोप्रति वक्ताहरूले दुःख व्यक्त गरेका थिए । महाधिवेशनको मुखमा विभाग गठन र जिम्मेवारी बाँड्फाँटप्रति उनीहरूले असन्तुष्टि जनाएका छन् ।
हाम्रा मात्र राम्रा भन्ने गुटवादी चिन्तनले राम्रा, विद्रोही चेत र इतिहास बोकेका इमान्दार नेता कार्यकर्तालाई पाखा लगाइएको र यसले पार्टीको आन्तरिक लोकतन्त्र कमजोर भएको उनीहरूको भनाइ छ । वक्ताहरूले तरुण दललाई पार्टीका नेताहरूले आफ्नो राजनीतिको भ¥याङमात्र बनाएका बताएका छन् । पार्टीमा गणेश प्रवृत्ति रहेको र कांग्रेसजस्तो देखिनेहरूको भीडमा कांग्रेस हराएको उनीहरूको टिप्पणी छ । पार्टी सरकारमा रहेर पनि सही ढंगले जनताको पक्षमा काम हुन नसकेको भन्दै नेताहरूले वर्तमान अवस्थामा जनतालाई सास्ती र बिचौलियालाई मस्ती भइरहेको निष्कर्ष निकालेका छन् ।
उनीहरूले नेपाली कांग्रेसको नेतृत्वलाई जनताप्रति जवाफदेही बनाउँदै नीति र विधानभित्र राख्न सके पार्टीको साख बढ्ने विश्वास व्यक्त गरेका छन् । पूर्व तरुण पुनर्मिलन कार्यक्रमका अध्यक्ष रहेका तरुण दलका पूर्व अध्यक्ष विनोद कायस्थले नेपाली कांग्रेसलाई मजबुद बनाउन कार्यक्रम उपयोगी भएको बताउनुभयो । वर्तमान संविधान र राजनीतिक परिवर्तनविरुद्ध सडकमा राजावादीको प्रदर्शन दलहरूकै अलोकप्रियताको परिणाम भएको प्रष्ट पार्दै पूर्व अध्यक्ष कायस्थले डढेलो लागेपछि निभाउनुभन्दा डढेलो लाग्न दिन नहुनेमा सहभागीहरूले जोड दिएको उल्लेख गर्नुभयो ।
भेलाले लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र भएको भन्दै तरुण दलका पूर्व नेताहरूले उठाएका सबै विषयहरूलाई संकलन गरिएको र त्यसलाई दस्तावेजीकरण गर्दै पार्टी केन्द्रीय कार्यालयमा पदाधिकारीहरूलाई बुझाउने उहाँको भनाइ छ । यसले पार्टीको आगामी कार्यदिशा र कार्यक्रम निर्माण गर्न सहयोग पुग्ने भेलाले निष्कर्ष निकालेको छ ।