काठमाडौंका १६ जना वडाध्यक्षले लेखे मेयर बालेनलाई पत्र


–कार्यपालिका बैठक बोलाइयोस्
–प्रमुख प्रशासकीय अधिकृतमाथिको कारबाही प्रक्रिया जानकारी दिइयोस्

काठमाडौं ।

काठमाडौं महानगरपालिकाका वडाध्यक्षहरूले मेयर बालेन्द्र साह (बालेनलाई) संयुक्त पत्र लेख्दै कार्यपालिका बैठकको माग गर्नुका साथै प्रमुख प्रशासकीय अधिकृतमाथिको छानबिन प्रक्रियाका बारेमा जानकारी मागेका छन् ।

काठमाडौं महानगर प्रवक्तासमेत रहेका १७ नम्बरका अध्यक्ष नवीन मानन्धरलगायत १८ वडाध्यक्षले मेयर साहलाई ज्ञापनपत्र बुझाउँदै विभिन्न मागहरू राखेका हुन् । ज्ञापनपत्रमा उनीहरूले प्रमुख प्रशासकीय अधिकृतको रिक्तताले उत्पन्न समस्याका विषयमा छलफल गर्न कार्यपालिकाको बैठक बोलाउन माग गरेका हुन् । ज्ञापनपत्रमा ५ जना कार्यपालिका सदस्यले समेत हस्ताक्षर गरेका छन् ।

मेयर साहलाई ज्ञापनपत्र बुझाउनुअघि शुक्रवार १२ नम्बरका वडाध्यक्ष बालकृष्ण महर्जनको अध्यक्षतामा १६ जना वडाध्यक्षबीच बैठक बसेको थियो । बैठकले दुई निर्णय गर्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुराराईंलाई गरिएको भनिएको कारबाही प्रक्रियाका बारेमा लिखित रूपमा मेयर साहसँग जानकारी माग गर्ने र महानगरको कार्यपालिकाको बैठक तत्काल बोलाउन लिखित माग गर्ने सहमति भएको थियो ।

सोही सहमतिअनुसार आइतबार मेयर साहलाई भेटेर ज्ञापनपत्र बुझाइएको हो, तर मेयरलाई बुझाइएको ज्ञापनपत्रमा भने कार्यपालिका बैठक बोलाउने विषयमात्रै उल्लेख गरिएको छ । ज्ञापनपत्र बुझाउन नेतृत्व लिएका प्रवक्ता नवीन मानन्धरले कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृतको विषयमा छलफल गर्न बैठक बोलाउन माग गर्दै ज्ञापनपत्र बुझाएको जानकारी दिनुभयो ।