लाप्राक ।
‘नेपालीका लागि नेपाली अभियान’ अन्र्तगत गैरआवासीय नेपाली संघको अगुवाइमा निर्माण भएको गोर्खाको धार्चे गाउँपालिका –४ लाप्राकमा बनेको नमुना बस्ती प्रयोगमा नआई खण्डहरमा परिणत हुन थालेको छ ।
५७ करोड ६६ लाख रुपियाँभन्दा बढी खर्च गरेर निर्माण गरेको बस्ती खण्डहरमा परिणत हुँदै गएकोले गैरआवासीय नेपाली संघलाई नै गिज्याइरहेको भान हुन्छ । २०७२ साल वैशाख १२ को विनासकारी भूकम्पपछि खण्डहरमा परिणत भएको लाप्राकलाई जुरुक्क उठाउने भन्दै संघका पूर्व अध्यक्ष शेष घलेको पहलमा स्थानीयको चाहनालाई सम्बोधन नै नगरी लाप्राकमा नमुनाबस्ती निर्माण गरिएको त्यो बस्ती अहिले सुनसान अवस्थामा छ ।
स्थानीय दीपक गुरुङका अनुसार गैरआवासीय नेपाली संघले निर्माणको पहल गरे पनि नमुनाबस्ती निर्माण गरिएको ठाउँ उपयुक्त थियो कि थिएन भन्नेबारे कुनै बहस नै नभएका कारण अहिलेको अवस्था आईपुगेको हो ।
उहाँले पूर्व अध्यक्ष घलेको सोच ठिक भए पनि बस्ती निर्माणको जिम्मा लिएको कम्पनीको बदमासी र संघका केही पदाधिकारीको बहुलठ्ठीपनका कारण बस्ती खण्डहरमा परिणत हुँदै गएको बताउनुभयो ।
भूकम्पले गाउँ नै ध्वस्त बनाएपछि नमुना बस्तीको परिकल्पना गरिए पनि त्यहाँ त्यो बस्ती उपयुक्त हुन्छ कि हुँदैन भनेर कसैले पनि अध्ययन नगर्दाको परिणाम अहिले देखिएको अर्का स्थानीय विक्रम गुरुङ बताउनुहुन्छ । उहाँले भन्नुभयो– ‘राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जसले जहाँ सहयोग गर्छु भन्छ, त्यसमा आँखा चिम्लिएर सम्झौता गर्दा लगानी बालुवामा पानी हालेबराबर भएको छ ।’
गणेश हिमालदेखि बुद्ध हिमालको मनोरम दृष्य देखिने बस्तीमा लाप्राकबासी किन आएनन् यसको उत्तर अहिले गैरआवासीय नेपाली संघ वा राष्ट्रिय पुनःर्निमाण प्राधिकरणसँग नै छ बिनासोच लहैलहैमा लागेर काम गर्दाको परिणाम हो लाप्राक बस्ती ।
सोही बस्तीमा एउटा घरसमेत लिनु भएका दीपक गुरुङले नेपाल समाचारपत्रसँग भन्नुभयो –‘न त्यहाँ स्थानीयको भावना समेट्ने प्रयास गरियो न त्यो ठाउँको बारेमा अध्ययन नै गरियो ।
अहिले घर प्रयोगविहीन भएको देख्दा आफ्नो मन रुने गरेको छ ।’ स्थानीयको पीडा सुनाउँदै गीतामाया गुरुङले भन्नुभयो– ‘स्थानीयले शुरूमा घर नपाउँदा नमुना बस्तीमा आएर बसे । केही समयपछि आफ्नो खेतीपातीदेखि सबै काम टाडा भएकोले भूकम्पले भत्किएको घर मर्मत गरेर नमुना बस्ती छाडेर लाप्राकबासी पुरानै ठाउँमा फर्कन बाध्य हुनुपरेको हो ।’
५ सय घर धुरीमध्ये अहिले १ सयको हाराहारीमा घर प्रयोगमा आए पनि अरू घरमा भने बाहिरबाट ताला लागेको छ । बस्तीभन्दा केही परबाट हेर्दा सुन्दर देखिने बस्तीमा पुगेपछि जो कोहीको पनि मन रुने गरेको छ ।
त्यहाँ स्थायी रूपमा बस्नेहरूले होम स्टे तथा केहीले होटल व्यवसाय सञ्चालन गरेका छन् । गुरुङ बस्तीको पहिचान देखाउन केहीले कोशेली घर सञ्चालन गरेका छन् भने त्यसबाहेकका घर प्रयोगविहीन अवस्थामा छन् । घरहरूको स्याहार संहार नहुँदा भत्कन थालेका छन् । घरको जिम्मा लिएकाहरू ताला ठेकेर आफ्नै पुरानो बस्तीमा फर्केका छन् । त्यहाँ लगानी किन र केका लागि भन्ने बारेमा अहिलेसम्म एनआरएनएले बताउन सकेको छैन ।
तत्कालीन गाउँपालिकाका अध्यक्ष सन्तबहादुर गुरुङले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट बस्तीको साँचो लिए पनि त्यसको सही सदुपयोग हुन नसकेकोमा आफूलाई अहिले पनि पछुतो हुने गरेको बताउने गर्नुहुन्छ ।
प्रतिक्रिया